रामशरण भन्छन्ः प्रधानमन्त्रीको चीन भ्रमणले उलटपुलट भएन

रामशरण भन्छन्ः प्रधानमन्त्रीको चीन भ्रमणले उलटपुलट भएन

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सकारात्मक भएको बताएका छन् । तर उनले भ्रमणबाट कुनै ब्रेकथ्रु नभएको पनि बताएका छन् । 

आईतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा नेता महतले भ्रमणको क्रममा चीनसँग भएका सम्झौताहरुलाई आफूहरुले सकारात्मक लिएको तर बाहिर प्रचार गरिएकोजस्तो कुनै उलटपुलट नभएको बताएका हुन् । 

‘चीनसँग आर्थिक सम्बन्ध विकसित गर्नु राम्रो कुरा हो’, उनले भने, ‘भ्रमणले धेरै राम्रो संकेत गरेको छ ।’ प्रधानमन्त्रीमा बहाली भएपछि चीन वा भारत जाने कुरा परम्परा नै भएको उनको भनाइ थियो । 

साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा भएका सम्झौताको संयुक्त विज्ञप्ती हेर्दा धेरै विषयहरु समेटिएको जनाए । ‘नाकाहरु खोल्ने तथा पूर्वाधार विकास गर्ने भन्ने कुरा नौला कुरा होइनन्’, उनले भने, ‘यी कुरा त राजा महेन्द्रको पालामा र हाम्रो पालामा पनि भएका थिए, कोदारी र रसुवागढी नाका त हाम्रै पालामा खुलेको हो ।’

चीनको ओबीआर अवधारणमामा तत्कालिन प्रधानमन्त्री सुशील कोइराला सन् २०१४ को अगष्टमा चीन जाँदा नै मौखिक सहमति जनाएको उल्लेख गर्दै नेता महतले भने, ‘ओबीआरमात्रै होइन, एशियाली पूर्वाधार विकास बैंकको नेपाल त संस्थापक सदस्य हो, मेरै प्रस्तावमा यो अघि बढेको हो, म चीन गएको बेला यसमा हस्ताक्षर गरेको थिएँ ।’

अहिले प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा यी लगायतका विषयमा गरेको सम्झौताले थप आयाम थपेको उनको विश्वास छ । उनले भ्रमणको दौरान चिनियाँ पक्षसँग भएका कतिपय सम्झौता (एमओयू) भएकोमा पनि खुशी व्यक्त गरे । तर ती सम्झौता द्रुत गतिमा कार्यान्वयनमा जानुपर्नेमा उनको जोड छ । 

‘चीन भ्रमणका क्रममा विभिन्न १४ वटा सम्झौताहरु भएका छन्, यी सम्झौताहरु हुँदैमा कार्यान्वयन हुन्छ भन्ने कुनै निश्चित् छैन’, नेता महतले अघि भने, ‘जस्तो चीनको थ्री–गर्जेज कम्पनीले बनाएको भनिएको पश्चिम सेती जलविद्युत परियोजनाबाट अहिले उसले हात झिकेको कुरा आएको छ, त्यसैले एमओयू हुँदैमा कुनै तमाशा हुँदैन, सम्झौता कार्यान्वयनका लागि फलो–अप–एक्शनमा जानुपर्छ ।’

त्यस्तै उनले एक हजार मेगावाटको मस्र्याङ्दी जलविद्युत परियोजना निर्माण गर्नेबारे पनि यस पटकको भ्रमणमा भएको सम्झौताप्रति टिप्पणी गर्दै भने, ‘तर सम्झौता ईपिसिएफ मोडेलमा गरिएको छ, मैले बुझे अनुसार यो मोडेल भनेको सरकार–सरकारबीच गरिने मोडल हो, तर यहाँ त निजी क्षेत्रसँग सम्झौता गरिएको छ, यसमा बुट मोडलमा हुनुपर्ने हो, उक्त मोडेलका सम्झौतामा निजी क्षेत्रलाई किन संलग्न गराई ? हामीले बुझ्न सकेका छैनौं ।’ 

महतले प्रधानमन्त्री ओलीको भ्रमणसँगै अहिले रेलको पनि चर्चा व्यापक भइरहेको बताउँदै रेल कहिले आउने हो भन्नेमा सरकारका मन्त्रीहरुको भनाई नै विरोधाषापूर्ण रहेको आरोप लगाए । उनले भने,‘वर्तमानका सरकारका मन्त्रीले कहिले २ वर्षमा नै चीनबाट रेल आउँछ भन्नुहुन्छ, कहिले ५ वर्ष भन्नुहुन्थ्यो, अहिले फेरि ७ वर्षको चर्चा छ, रेल आउने कुरा रोमाञ्चक कुरा हो, आए त राम्रो हुन्छ ।’

यद्यपि नेता महतले रेल ल्याउने कुरामा आर्थिक पक्षमा विशेष ध्यान दिनुपर्ने सुझाए । उनले भने,‘लगानी कसको हुने हो ? कति लगानी लाग्छ? कोदारी राजमार्गजस्तै चीनले बनाइदियो भने त राम्रो हुन्छ, हामीले आर्थिक पक्षमा विशेष ध्यान दिनुपर्छ।’ 
चिनियाँ रेल काठमाडौंसम्म ल्याउनको लागि कम्तिमा पनि ५ देखि ६ अर्ब अमेरिकी डलरको लागत पर्ने पनि उनले जनाए । उनले भने,‘यो रकम त अहिले हामीले लिएको कुल ऋणको पनि दोब्बर हुन आउँछ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.