पनामाविरुद्ध आठौँ मिनेटमा इङ्ल्यान्डको अग्रता
काठमाडाँ: विश्वकप फुटबल प्रतियोगिता अन्रतगत समूह जी को आफ्नो दोस्रो खेलमा इङ्ल्यान्डले पनामाविरुद्ध सुरुवात अग्रता लिएको छ । इङ्ल्यान्डलाई अग्रता दिलाउने क्रममा खेलको आठौँ मिनेटमा जोन स्टोनले हेडमार्फत् गोल गरेका हुन् ।
किएरन ट्रिपिएरले दिएको हाई भली बललाई स्टोनले हेडमार्फत सीधै जालीको दिशा देखाएका थिए ।
यसअघि इङ्ल्यान्डले रुस विश्वकपको आफ्नो पहिलो खेलमा ट्युनिसियालाई २-१ गोलले पराजित गर्दै सुखद सुरुआत गरेको थियो। सन् १९६६ मा उपाधि जितेयता विश्वकप फुटबलमा बारम्बार कमजोर प्रदर्शन गरेको इङ्ल्यान्डले रुस विश्वकपमा भने पहिलो खेलबाटै सशक्त प्रदर्शन गर्ने संकेत गरेको थियो । दोस्रो खेलमा पनि इङ्ल्यान्डले सुरुबाटै राम्रो प्रदर्शन गरेको हो ।
इङ्ल्यान्डले पछिल्लो आठ खेलमा आफूलाई निरन्तर अपराजित राखेको छ । पानामाले भने आफ्नो पछिल्लो आठमध्ये मात्र एक खेलमा मात्र जित हात पारेको छ । तुलनात्मक रूपमा कमजोर मानिएको पानामाविरुद्धको यही खेलबाट इङ्ल्यान्डले आफूलाई अझ सशक्त रूपमा प्रस्तुत गर्ने अपेक्षासमेत गरिएको छ । ट्युनिसियाविरुद्धको खेलमा १७ राम्रा गोल अवसर सिर्जना गरेर पनि इङ्ल्यान्डलाई जितका लागि खेलको ‘इन्जुरी’ समयसम्म कुर्नु परेको थियो ।