२२ औं मिनेटमा इङ्ल्यान्डको दोस्रो पेनाल्टी गोल
मस्को : विश्वकप फुटबल प्रतियोगिता अन्रतगत समूह जी को आफ्नो दोस्रो खेलमा इङ्ल्यान्डले पनामाविरुद्ध सुरुवात अग्रता लिएको छ । इङ्ल्यान्डलाई अग्रता दिलाउने क्रममा खेलको आठौँ मिनेटमा जोन स्टोनले हेडमार्फत् गोल गरे । किएरन ट्रिपिएरले दिएको हाई भली बललाई स्टोनले हेडमार्फत सीधै जालीको दिशा देखाएका थिए ।
२२ औं मिनेटमा भने हेरी क्यानले पेनाल्टी गोल गरेका छन् । हेरीको पेनाल्टी गोलसँगै इङ्ल्याण्डले पानमामाथि २–० को अग्रता लिएको छ ।
यसअघि इङ्ल्यान्डले रुस विश्वकपको आफ्नो पहिलो खेलमा ट्युनिसियालाई २–१ गोलले पराजित गर्दै सुखद सुरुआत गरेको थियो।
सन् १९६६ मा उपाधि जितेयता विश्वकप फुटबलमा बारम्बार कमजोर प्रदर्शन गरेको इङ्ल्यान्डले रुस विश्वकपमा भने पहिलो खेलबाटै सशक्त प्रदर्शन गरेको छ । दोस्रो खेलमा पनि इङ्ल्यान्डले सुरुबाटै राम्रो प्रदर्शन गरेको हो ।
इङ्ल्यान्डले पछिल्लो आठ खेलमा आफूलाई निरन्तर अपराजित राखेको छ । पानामाले भने आफ्नो पछिल्लो आठमध्ये मात्र एक खेलमा मात्र जित हात पारेको छ ।
तुलनात्मक रूपमा कमजोर मानिएको पानामाविरुद्धको यही खेलबाट इङ्ल्यान्डले आफूलाई अझ सशक्त रूपमा प्रस्तुत गर्ने अपेक्षासमेत गरिएको छ । ट्युनिसियाविरुद्धको खेलमा १७ राम्रा गोल अवसर सिर्जना गरेर पनि इङ्ल्यान्डलाई जितका लागि खेलको ‘इन्जुरी’ समयसम्म कुर्नु परेको थियो ।
पढ्नुहाेस्
- विश्वकपमा इङ्ल्यान्डलाई रंगभेदको चिन्ता
- विश्वकपमा इङ्ल्यान्डको अनौठो कीर्तिमान
- इङ्ल्यान्डका प्रशिक्षक नै घाइते
- दोस्रो जितको योजनामा इङ्ल्यान्ड