भरतपुर महानगरको बजेट ३ अर्ब ३४ करोड रुपैयाँ
भरतपुरः भरतपुर महानगरपालिकाले आइतबार दोस्रो नगरसभाबाट महत्वकांक्षी योजनासहितको बजेट सार्वजनिक गरेको छ । महानगरले भरतपुरलाई सुन्दर र समृद्ध बनाउने लक्ष्यसहितको योजना अघि सारिएको छ ।
महानगर प्रमुख रेणु दाहालले महानगरको नीति तथा कार्यक्रममार्फत आर्थिक वर्ष २०७५/७६ को लागि तीन अर्ब ३४ करोड पाँच लाख ८६ हजार रूपैयाँको बजेट सार्वजनिक गरिन् । महानगरले शिक्षा, स्वास्थ्य, कृषि पर्यटन आदिलाई प्राथमिकतामा राखेको छ । महानगरभित्रको २९ वटा वडाको लागि ३१ करोड रूपैयाँ बजेट छुट्याइएको छ ।
के–के छन् योजनमा ?
सामाजिक विकासतर्फ
असार महिनाभित्रै रिङरोड तथा लिंकरोडको शिलान्यास गरेर निर्माण कार्य अघि बढाइने, मेघौली विमानस्थललाई नियमित सञ्चालन गरेर देशका अन्य शहरहरूलाई जोड्नको लागि पहल गरिने र आधुनिक ट्राफिक लाइट जडान गरी यातायात सेवालाई व्यवस्थित बनाउने कामलाई मुख्य प्राथमिकतामा राखिएको छ ।
देवघाटधाममा आधुनिक शवगृह निर्माण गर्ने, महानगर क्षेत्रभित्र रहेका साना तथा मझौला उद्योगहरूलाई पनि व्यवस्थित बनाउने, साइकल लेनसहितको सकड निर्माण गरिने, पार्किङ व्यवस्थापन, अत्याधुनिक व्यापारिक केन्द्र, नारायणी र राप्ती नदी तटबन्धनलगायतको कामलाई विशेष प्राथमिकतामा राखिएको छ ।
चितवन मेडिकल सिटीको रूपमा विकसित हुँदै गर्दा यसको फोहोर व्यवस्थापन गरिने महानगर प्रमुद दाहालले बताइन् । भरतपुरलाई सुविधासम्पन्न नमूना शहर बनाउन एकीकृत शहरी विकास गुरूयोजना तर्जुमा गरिने उनको भनाइ छ ।
शिक्षातर्फ
शिक्षा क्षेत्रलाई बलियो बनाउनको लागि छिमेकी मुलुक चीनको सेन्ट्रल साउथ विश्वविद्यालयसँग यही वर्षदेखि ५ वर्षको लागि ७० जना विद्यार्थीहरूलाई छात्रवृत्तिको लागि सम्झौता गरी प्रस्ताव अगाडि बढाइएको छ ।
यो कार्यक्रम भने आगामी वर्षदेखि सुरू हुने महानगर प्रमुख दाहालले बताइन् । विद्यालय भर्नादर वृद्धि गरी कक्षा छाड्ने र दोहो¥याउने दरलाई न्यून गर्न शैक्षिक सत्रको सुरूमा विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउने लक्ष्य लिइएको छ । प्राविधिक शिक्षामा जोड दिँदै महानगर र त्रिभुवन विश्वविद्यालयको साझेदारीमा इञ्जिनियरिङ कलेजको स्थापना र सञ्चालनको लागि सम्भाव्यता अध्ययन गरिने छ ।
स्वास्थ्यतर्फ
६ सय शैयाको भरतपुर अस्पताललाई सुविधा सम्पन्न बनाई केन्द्रीय अस्पतालको रूपमा विकास गर्न र विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गर्न पहल गरिनेछ । वृद्धवृद्धा तथा असहायलाई सहुलियत दरमा उपचार गराउने वातावरण मिलाइने महानगरको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
आर्थिक विकासतर्फ
महानगरलाई कृषि तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने महानगरले लक्ष्य लिइएको छ । उद्योग तथा पर्यटनतर्फ घरेलु उद्योगलाई प्राथमिकता दिँदै उद्योगमैत्री सामाज र समाजमैत्री उद्योगको नीति तय गरिएको छ । ऐतिहासिक धार्मिक, तथा साँस्कृति महत्वका सम्पदाका संरक्षणमा जोड दिइएको छ ।
वातावरण तथा विपद् व्यवस्थापनतर्फ क्लिन भरतपुर, ग्रीन भरतपुर, एक वडा एक उद्यान, मेरो फोहोर मेरो जिम्मेवारीलगायतका नारा तय गरिएको छ । व्यवस्थित सहरको लागि मूख्य सडकमा तीनपाङग्रे सवारी सञ्चालनमा रोक लगाइने छ । महानगरको सबैभन्दा ठूलो समस्या बन्दै गरेको ल्याण्डफिल्ड साईटलाई अत्याधुनिक तरिकाले निर्माण गरिनेछ । महाहनगरभित्र सबै खालका व्यवसायीलाई करको दायराभित्र ल्याउनको लागि पहल भइरहेको महानगर प्रमुख दाहालले बताइन् ।