पहिलो हाफमा इङ्ल्यान्ड ५, पानामा शून्य : स्टोन र केनले गरे दुई-दुई गोल
मस्को : विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समूह जी को आफ्नो दोस्रो खेलमा इङ्ल्यान्डले पनामाविरुद्ध शानदार प्रदर्शन गरेको छ। पहिलो हाफमा इङ्ल्यान्डले पानामालाई ५-० लेपछि पारेको छ। इङ्ल्यान्डका लागि जोन स्टोन र ह्यारी केनले दुईदुई गोल गरे।
सुरुवाती अग्रता दिलाउने क्रममा खेलको आठौँ मिनेटमा जोन स्टोनले हेडमार्फत् गोल गरे। किएरन ट्रिपिएरले दिएको हाई बललाई स्टोनले हेडमार्फत सीधै जालीको दिशा देखाएका थिए।
२२ औं मिनेटमा भने हेरी क्यानले पेनाल्टी गोल गरे भने ३६ औँ मिनेटमा जेजे लिङ्गाडले उत्कृष्ट गोल गरे। ४० औं मिनेटमा जोन स्टोनले उत्कृष्ट गोल गरे। पहिलो हाफको थपिएको समयको एक मिनेटमै ह्यारी केनले अर्को गोल गरे। केनको व्यक्तिगत दोस्रो गोलसँगै पहिलो हाफमा इङ्ल्यान्डले ५–०को अग्रता लिएको हो।
इङ्ल्यान्डले पछिल्लो आठ खेलमा आफूलाई निरन्तर अपराजित राखेको छ। पानामाले भने आफ्नो पछिल्लो आठमध्ये मात्र एक खेलमा मात्र जित हात पारेको छ।
तुलनात्मक रूपमा कमजोर मानिएको पानामाविरुद्धको यही खेलबाट इङ्ल्यान्डले आफूलाई अझ सशक्त रूपमा प्रस्तुत गर्ने अपेक्षासमेत गरिएको छ। निसियाविरुद्धको खेलमा १७ राम्रा गोल अवसर सिर्जना गरेर पनि इङ्ल्यान्डलाई जितका लागि खेलको ‘इन्जुरी’ समयसम्म कुर्नु परेको थियो।