प्रदेश लोकसेवा गठनको आधार तय
काठमाडौं : केन्द्र सरकारले प्रदेश लोकसेवा आयोग गठनको आधार र मापदण्ड निर्धारण गरेको छ । मापदण्ड अनुसार अब प्रत्येक प्रदेशमा अध्यक्षको नेतृत्वमा ३ सदस्यीय प्रदेश लोकसेवा आयोग गठन हुनेछ । प्रदेश मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश सभा सभामुख र प्रदेश सभाका विपक्षी दलका नेता रहेको समितिको सिफारिसमा प्रदेश प्रमुखबाट आयोग अध्यक्ष र सदस्यको नियुक्ति हुने प्रावधान राखिएको छ । अब प्रदेश लोकसेवा आयोगले नै प्रदेश निजामती सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश संगठित संस्था र प्रदेशका अन्य सरकारी सेवामा कार्यरत रहने सबै कर्मचारीको छनौट गरी नियुक्तिका लागि सिफारिस गर्नेछ ।प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सदस्यको नियुक्तिको आधार केन्द्रिय लोकसेवा आयोगको अध्यक्ष र सदस्य सरह हुने र उनीहरूको पदावधि नियुक्ति भएको मितिले ६ वर्ष हुने व्यवस्था गरिएको छ ।
केन्द्रमा जस्तै उनीहरूलाई हटाउन पर्दा प्रदेश सभाको दुई तिहाइ बहुमत मात्रै हटाउन सकिने व्यवस्था गरिएकाले संवैधानिक हैसियत दिन खोजिएको पाइएको छ । नेपालको संविधानको धारा २४४ को उपधारा १ र २ मा सातै प्रदेशमा प्रदेश लोकसेवा आयोग गठन हुने व्यवस्था गरिएको छ । सोही धाराको उपधारा ३ मा केन्द्रवाट आधार र मापदण्ड वनाउने उल्लेख छ । केन्द्र सरकारले केन्द्रिय लोकसेवा आयोगको समन्वयमा प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण ) ऐन २०७५ को मस्यौदा वनाउदै आधार र मापदण्ड तय गरेको हो । सोही अनुसार अव सातै प्रदेशले प्रदेश लोकसेवा आयोग गठन गर्नेछन् । लोकसेवा आयोगका प्रवक्ता सहसचिव लक्ष्मीविलास कोइरालाले केन्द्रले बनाएको मापदण्ड र आधारलाई मार्गदर्शकका रुपमा लिइ प्रदेशले प्रदेश लोकसेवा आयोग गठन गर्ने जानकारी दिए । प्रदेश आफैले कानुन वनाई लोकसेवा आयोग गठन गर्न सक्ने भएपनि लोकसेवा सञ्चालनको आधार र मापदण्ड भने केन्द्रय सरकारले बनाएको नियम अनुसार हुनुपर्ने लोकसेवा सदस्य प्रवक्ता कोइरालाले जानकारी दिए ।
प्रदेश लोकसेवा गठन सबन्धी मापदण्ड निर्धारण ऐनको मस्यौदा मन्त्रिपरिषद्वाट स्वीकृत गरी संघीय संसद्मा पेश गरिने प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद बहादुर कँुवरले जानकारी दिए । केन्द्रिय सरकारले वनाएको मापदण्ड अनुसार प्रदेश लोकसेवा आयोगले आवश्यक कानुन वनाउदा समेत केन्द्रिय लोकसेवा आयोग सम्वन्धि प्रचलित कानुनी व्यवस्था अनुसार वनाउनु पर्नेछ भने सवै सेवाका कर्मचारी छनौटको लागि सञ्चालन गरिने परिक्षाको किसिम, पाठ्यक्रम तर्जुमा, परिक्षण विधि निर्धारण, विज्ञहरुको छनौट ,प्रश्नपत्र निर्माण, तथा परिमार्जन, उत्तरपुस्तिका परिक्षण, नतीजा प्रकाशन र सिफारिस गर्दा केन्द्रिय लोकसेवा आयोगले अपनाएको अभ्यास, विधि तथा मापदण्ड अनुसार गर्नुपर्ने छ ।