छात्रा किन कमजोर ?
एसईई २०७४ को नतिजा शनिबार साँझ आएको छ। ग्रेड प्रणालीमा गएपछि यो तेस्रो नतिजा हो। माध्यमिक तहको शिक्षामा सुधार गर्ने, नतिजा बढाउने र सिंगो शिक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड बनाउने आदि–आदि उद्देश्यका साथ एसएलसीबाट एसईईमा लगिएको थियो। यो परिवर्तनसँगै एसएलसीलाई दिइएको फलामे गेटको उपमा पनि हराउने उद्देश्य थियो। अर्थात् एसईई अन्य ढोकाजस्तै सहज हुनेछ, जसलाई हरेक विद्यार्थीले पार गर्न सक्छन्। यद्यपि एसईई परीक्षालाई पनि माध्यमिक तहको गल्छेडोका रूपमा हेरिएको छ। त्यसैले यसको नतिजालाई आधारभूत शिक्षाको प्रतिफलका रूपमा लिइनु अन्यथा होइन। विडम्बना, एसईई–२०७४ को नतिजा हेर्दा छात्राहरूको शैक्षिक उन्नतिमा सुधार आउन नसकेको प्रस्ट देखिन्छ। छात्रको तुलनामा छात्राको नतिजा कमजोर रहेको विश्लेषण शिक्षाविद्ले गरिसकेका छन्।
एसईई २०७४ मा नियमिततर्फ परीक्षा दिने ४ लाख ५१ हजार ५ सय ३२ मध्ये २ लाख २७ हजार ९ सय ३१ जना छात्रा र २ लाख २३ हजार ६ सय एकजना छात्र छन्। अर्थात् छात्रभन्दा छात्रा ४ हजार ३ सय ३० जनाले बढी छन्। यो आँकडा हेर्दा नतिजा पनि राम्रै हुुने आशा गर्न सकिन्छ। तर यथार्थ भने ठ्याक्कै उल्टो छ। एसर्ईईको उच्च जीपीए अंक प्राप्त गर्नेमध्ये छात्रको संख्या कम छ। तर न्यून जीपीए अंक ल्याउने छात्राको संख्या भने बढी छ। जीपीए ३.६५ देखि ४ सम्म ल्याउनेमध्ये छात्रतिर कुल छात्रको ३.६ प्रतिशत छन् जबकि छात्रातिर कुल छात्राको जम्मा २.७ प्रतिशत छन्। जीपीए ३.२५ देखि ३.६ प्रतिशतसम्म ल्याउने छात्र ११.६ छन् जबकि छात्रा जम्मा ९ प्रतिशत छन्। जीपीए २.८५ देखि ३.२ सम्म ल्याउने छात्र १२.३ प्रतिशत छन् भने छात्रा ९ प्रतिशत। जीपीए २.४५ देखि २.८ सम्म ल्याउने छात्र १७ प्रतिशत छन् भने छात्रा १५ प्रतिशत छन्।
योभन्दा तलको जीपीए श्रेणीमा पुगेपछि भने यो अनुपातको ढाँचा ठ्याक्कै उल्टो हुन जान्छ। जीपीए २.०५ देखि २.४ सम्म ल्याउने छात्र १३ प्रतिशत छन् भने छात्रा १४ प्रतिशत छन्। जीपीए १.६५ देखि २ ल्याउने छात्र २० प्रतिशत छन् भने छात्रा २५ प्रतिशत। जीपीए १.२५ देखि १.६ प्रतिशत ल्याउने छात्र २० प्रतिशत छन् भने छात्रा १.६ प्रतिशत। जीपीए ०.८५ देखि १.२५ ल्याउने छात्र १२ प्रतिशत छन् भने छात्रा १.२। सारमा भन्दा जीपीए अंक २.४५ सम्म ल्याउने छात्रको प्रतिशत ४४.५ छ भने छात्राको जम्मा ३५.७।
एसईई नतिजाको यो तथ्यांकले करिब ६४ प्रतिशत छात्राले २.४ जीपीए पनि प्राप्त नगरेको देखाउँछ। यो साह्रै कमजोर नतिजा हो। आखिर किन छात्रा यति कमजोर छन् ? छात्राको शिक्षा स्तर सुधार्नका लागि अनेकौं कार्यक्रम ल्याइएका छन्। सरकारी निकाय तथा गैरसरकारी संस्थाले छात्रालाई केन्द्रमा राखेर अनेकौं कार्यक्रम ल्याउँदा पनि छात्रा नतिजा कमजोर आउनु स्वाभाविक होइन। छात्राको नतिजा छात्रको तुलनामा निकै कमजोर हुनुले धेरै अर्थ दिन्छ। यसले एकातिर सामाजिक स्वरूपमा छात्राको स्थानमा परिवर्तन नआएको देखाउँछ भने एसईई तहमा पुगेका छात्रामा पर्ने सामाजिक र मनोवैज्ञानिक दबाब पनि सतहमा ल्याइदिन्छ।
यसभन्दा पहिले पनि भएका धेरै अध्ययनले छात्राको शिक्षास्तर आठ कक्षामाथि गएपछि घट्दै गएको देखाएका छन्। यसको मुख्य कारण हो, छात्रालाई पर्ने सामाजिक–सांस्कृतिक र पारिवारिक दबाब। अहिले पनि नेपाली समाजमा छात्रा दोस्रो प्राथमिकतामा पर्ने गरेका छन् र उनीहरूले बिहाबारीदेखि अन्य सामाजिक दबाब भोग्नु परिरहेको छ। यसलाई न्यूनीकरण गर्दै छात्रा शिक्षालाई उच्च विन्दुमा पुर्याउन समाजका सबै तप्का गम्भीर हुन जरुरी छ।