वन्यजन्तु संरक्षण र होमस्टे सँगसँगै
नवलपुर : बाघखोर अमलटारीका स्थानीयले वन्यजन्तु संरक्षणसँगै होमस्टे सञ्चालन गरी गाउँ विकासमा जुटेका छन्। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँगै जोडिएको अमलटारीमा होमस्टे सञ्चालन अघिसम्म वन्यजन्तुको आक्रमणमा परी १२ जना स्थानीयको मृत्यु र ३५ जना घाइते भएका थिए। वन्यजन्तु पनि संरक्षण अभावमा जोखिममा थिए। २०७० जेठ ५ गतेदेखि होमस्टे सञ्चालनका साथै वन, वन्यजन्तु संरक्षण, पर्यटनको विकास र जनताको दीगो जिविकोपार्जन कार्यक्रम सुरु भएपछि गाउँलेको जीवन फेरिएको स्थानीय सुनाउँछन्।
‘होमस्टे सञ्चालनअघि घर÷घरमा शौचालयसमेत नहुँदा स्थानीय जंगल जाने गरेका थिए। जंगल जाँदा वन्यजन्तुले आक्रमण गरी केही हुने हो कि भन्ने चिन्ताले सताउथ्यो’, स्थानीय जानकी महतोले सुनाइन्। अहिले त सबैको घर घरमा शौचालय मात्र होइन पर्यटकका लागि प्रत्येक कोठामा एट्याच बाथरुम समेत छ। गाउँको सरसफाइ मात्र होइन पक्की सडक समेत बनेकोले विकास निर्माण पनि तीव्र गतिमा भएको उनले बताइन्। स्वास्थ्य, शिक्षामा पनि स्थानीयले सुविधा पाएका छन्।
गाउँका सबै बालबालिका पढ्न विद्यालय जाने गरेको उनले बताइन्। मुसहर, थारु समुदायले उत्पादन गरेका हस्तकलाका सामग्री, कृषि उत्पादनले बजार पाएका छन्। होमस्टे सञ्चालनबाट प्रत्येक घरपरिवारले महिनामा ४५ देखि ५० हजार आम्दानी गर्ने गरेको महतोले बताइन्। होमस्टे सञ्चालन महिलाले गरेका हुन्। होमस्टेबाट राम्रो आम्दानी हुन थालेपछि विदेशिएका युवाले पनि गाउँमै आएर काम गर्न थालेको अमलटारी होमस्टे व्यवस्थापन समितिका व्यवस्थापक धनीराम गुरौंले बताए। होमस्टे सञ्चालनपछि वन्यजन्तुको संरक्षणको साथै स्थानीयको जीवनस्तरमा परिवर्तन आएको उनले सुनाए। यहाँका स्थानीय थारु, मुसहर, बोटेलगायत संस्कृति पनि संरक्षण भएको छ। यहाँ आउने पाहुनाले थारु समुदायको लाठी नाच, झुमरा, जोगेडासँगै बोटे समुदायको गोलेनी नाच हेर्न पाउँछन्।
वन्यजन्तुको आक्रमणबाट घाइते भएका र मृत्यु भएका परिवार पनि वन्यजन्तु संरक्षणका साथै होमस्टे सञ्चालन गरेका छन्। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँगै जोडिएको नवलपरासीको अमलटारी गाउँमा वन्यजन्तु नपसुन भनेर सुरक्षा विधि अपनाइएपछि वन्यजन्तुले दुख दिन छाडेको उनले सुनाए।
बाघखोर अमलटारीका ५५ वर्षीय शोभाराम महतोले गंैडाको आक्रमणमा परी २०४५ सालमा एउटा खुट्टा नै गुमाए। त्यो पीडा बिर्सेर उनी अहिले वन्यजन्तु संरक्षणका साथै होमस्टे सञ्चालन गरेका छन्।
अमलटारीमा दुई सय १२ घरधुरी छन्। त्यसमध्ये २१ थारु परिवार र तीन बोटे परिवारले होमस्टे सञ्चालन गरेका छन्। होमस्टेसँगै अमलटारीसँगैको सामुदायिक वनमा गंैडा, हात्ती, बाघलगायत वन्यजन्तुको अवलोकन गर्न सकिने हुँदा यसको अन्य होमस्टेभन्दा छुट्टै विशेषता छ। हात्ती सफारीको मजा लिएर नारायणी नदीमा डुंगा चढ्नु, गोरुगाडामा गाउँ घुम्दै थारु संग्रहालय अवलोकन गर्ने सुविधा पनि छ। होमस्टे व्यवस्थापन समितिको कार्यालयमा तीन जनाले रोजगारी पनि पाएका छन्। होमस्टेमा स्थानीय थारु समुदायले उत्पादन गरेका तरकारी, अन्न, कुखुरा, हासका परिकारले पाहुनालाई स्वागत गर्छन्।
प्रदेश नम्बर ४ मा अवस्थित अमलटारी होमस्टेमा आउने पर्यटकमध्ये ९० प्रतिशत स्वदेशी हुन्। विदेशी पर्यटकको आगमन १० प्रतिशत मात्र रहेको अमलटारी होमस्टे व्यवस्थापन समितिका व्यवस्थापक गुरौंलीले बताए। होमस्टे सञ्चालन भएको पाँच वर्षमा करिब ६० हजार पर्यटक होमस्टेमा बसेको उनले बताए। २०७० मा नौ हजार सात सय पर्यटक होमस्टेमा आएका थिए। होमस्टे सञ्चालन भएको दोस्रो वर्ष २०७१ मा पर्यटक आगमनको संख्या बढेर १० हजार आठ सय ७५ जना पुगेका थिए।
अमलटारीमा दुई सय १२ घरधुरी छन्। त्यसमध्ये २१ थारु परिवार र तीन बोटे परिवारले होमस्टे सञ्चालन गरेका छन्।
२०७२ मा १४ हजार एक सय ३१ पर्यटक आएको तथ्यांक छ। भूकम्पपछिको वर्ष २०७३ मा पर्यटक आगमन घटेर पाँच हजार ४२ जना पर्यटक मात्र अमलटारीमा आएको उनले बताए। २०७४ मा भने पर्यटकको संख्या बढेर १० हजार पुगेको हो। २०७५ मा पर्यटकको आगमन बढ्ने होमस्टे सञ्चालकको विश्वास छ। तीन वर्षमा होमस्टे सञ्चालनबाट तीन करोड १५ लाख सात हजार सात सय ५१ रुपैयाँभन्दा बढी आम्दानी भएको छ। पछिल्लो समयमा अमलटारी होमस्टे आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्दै गएको नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाले बताए।