उरुग्वेको सान
मस्को : समूहको अन्तिम खेल अगाडीनै अघिल्लो चरणको यात्रा तय गरेको उरुग्वे समूह विजेता बनेको छ । समूह ‘ए’ अन्तर्गत सोमबार भएको खेलमा उरुग्वेले आयोजक टोली रुसलाई ३–० गोलले हरायो । उरुग्वे रुस विश्वपमा तीनवटै खेलमा शतप्रतिशत जित हात पार्ने पहिलो टोली समेत बनेको छ । आयोजक रुसले पनि यसअघिनै दुई खेल जित्दै अघिल्लो चरणको यात्रा सुनिश्चित गरेको थियो ।
उरुग्वेको तुलनामा कमजोर देखिएको रुस समूह उपविजेता बन्यो । उरुग्वेले नौ अंक बनायो भने रुसले ६ अंक जोड्न सफल भयो । यसअघिनै बाहिरिएको एसियाली टोली साउदी अरबियाले तीन अंक बनायो । इजिप्टले भने खाता खोल्न सकेन । उरुग्वेले पहिलो खेलमा इजिप्टलाई १–० र दोस्रो खेलमा साउदी अरबियालाई समान १–० गोललेनै हराएको थियो । यस्तै आफ्नो पहिलो खेलमा साउदीलाई ५—० गोेलले हराएर घरेलु मैदानमा आफ्नो प्रभाव देखाएको रुसले दोस्रो खेलमा इजिप्टलाई ३—१ गोलले जिल्याएको थियो । प्रिक्वार्टरफाइनलमा समूह ‘ए’ को विजेता उरुग्वेले समूह ‘बी’ को उपविजेता र समूह ‘ए’ को उपविजेता रुसले समूह ‘बी’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
अघिल्ला खेलमा सनसनी मच्चाएको रुस उरुग्वेविरुद्ध फिका देखिएको थियो । खेलको १०औं मिनेटमै खाता खोलेको उरुग्वेका लागि लुइस स्वारेजले पहिलो गोल गरे । स्वारेजले डिबक्स बाहिर पाएको फ्रिकिकमा सोझै जाली चुमाएका थिए । घरेलु टोलीमाथि दबाब श्रृजना गरेको उरुग्वेले २३औं मिनेटमै आत्मघाती गोल सहयोगमा अग्रतालाई दोब्बर बनाएको थियो । बल बचाउने क्रममा रुसका डेनिस चेरीसेभको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो । ३६औं मिनेटमा १० खेलाडीमा समेटिएको रुस त्यसपछि झनै दबाबमा देखियो । रुसका इगोर स्मोलनिकोभ दोहोरो पहेंलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । पहिलो हाफमा २–० को अग्रता बनाएको उरुग्वेले दोस्रो हाफमा पनि सनसनीपूर्ण खेल खेल्यो । लगातार पोस्ट् प्रहारको अवसर बनाएको उरुग्वेले खेलको अन्तिममा तेस्रो गोल थपेको थियो । ९०औं मिनेटमा उरुग्वेका एडिन्सन काभानीले डिबक्स भित्र पाएको बलमा अनमार्क गोल गरेका थिए ।
यसैगरी समूह ‘ए’ अन्तर्गतकै अर्को अर्थहिन खेलमा साउदी अरबियाले बाजी मा¥यो । प्रतिस्ठाका लागि खेलिएको उक्त खेलमा साउदीले इजिप्टलाई २–१ गोलले हरायो । निकै प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता इजिप्टले लिएको थियो । इजिप्टका लागि मोहमद सलाहले २२औं मिनेटमा खाता खोले । उनले अब्दुल्लाह इल सइदको लामो पासमा गोल गरेका थिए । इजिप्टको गोलपछि लयमा देखिएको खेलमा साउदीले ४५औं मिनेटमा पेनाल्टी मार्फत बराबरी गोल फर्काएको थियो ।
साउदीका सलमान अल फराजले पेनाल्टीको सदुपयोग गरे । इजिप्टका अलि गबरले फल खेलेपछि साउदीले दोस्रो पेनाल्टीको मौका पाएको थियो । यसअघि साउदीले ४१औं मिनेटमा पाएको पेनाल्टीको अवसर गुमाएको थियो । उक्त पेनाल्टीमा साउदीका फहाद अल–मुवाल्ड चुकेका थिए । साउदीले दोस्रो हाफको इन्जुरी समयमा निर्णायक गोल गर्दै रुस यात्रामा पूर्णविराम लगायो । साउदीका लागि सलेम अल डावसरीले निर्णायक गोल गरे । उनले अब्दुल्लाह ओटेफको पासमा उत्कृष्ट गोल गरेका थिए ।
समूह ‘ए’ अंक तालिका
समूह ‘ए’ अंक तालिकाटोली खेल जित बराबर हार गोल अन्तर अंक
उरुग्वे ३ ३ ० ० ५ ९
रुस ३ २ ० १ ४ ६
साउदी अरबिया ३ १ ० २ –५ ३
इजिप्ट ३ ० ० ३ —१ –४ ०