समृद्धिको आधार कृषि

समृद्धिको आधार कृषि

हरेक साल कृषिजन्य उत्पादनमा हाम्रो परनिर्भरता बढ्दै गएको छ। दैनिक उपभोगका लागि अत्यावश्यक कृषि उत्पादनमा हामी दिनानुदिन भारतसँग परनिर्भर हुँदै गएका छौं। सरकारले वर्षेनी कृषिमा आत्मनिर्भरताको नारा अघि सार्छ तर त्यो नारामा मात्र सीमित छ। कृषिमा वास्तविक योजना बनाई त्यसलाई लागू गर्ने प्रयास भएको देखिँदैन। त्यसैले नै हरेक वर्ष आयातको क्रम बढिरहँदा खर्बौं रुपैयाँ बाहिइरहेको छ। कृषिउपजका लागि उपयुक्त जमिन हुँदाहुँदै हामीले यसमा कुनै प्रगति गर्न सकेका छैनौं। देशको उत्पादनशील जनशक्ति विदेशमा श्रम बेचिरहेको छ। तिनै युवाले पठाएको रेमिट्यान्स हाम्रो अर्थतन्त्रको आधार बनेको छ, तर कृषिजन्य पदार्थ आयातमा ठूलो खर्च बेहोर्नुपर्दा अर्थतन्त्रमा त्यसको नकारात्मक प्रभाव परिरहेको छ। चामललगायत खाद्यान्न, मासु, तेल, दूध, तरकारी, फलफूलजस्ता उपभोग्य वस्तु पनि हामी आयात गरिरहेका छौं। प्रशोधित खाद्यान्नमा पनि ठूलो रकम खर्च भइरहेको छ।

सरकारको नीतिगत अदूरदर्शिता, अनुसन्धान र विज्ञताको कमी, बजारमा बिचौलियाको चलखेलजस्ता कारणले हाम्रो देशमा कृषि क्षेत्रले अधोगतिको सामना गरिरहेको छ। झन्डै दुईदशक राजनीतिक अस्थिरतामा डुबेको देश अहिले आएको समृद्धिको मिठो सपनामा हराएको छ। तर हाम्रो हकमा समृद्धिको अनिवार्य सर्तजस्तो रहेको कृषिको विकासतर्फ भने नेतृत्व तहको पर्याप्त ध्यान पुग्न सकेको छैन। हामी वार्षिक दशौं लाख पर्यटक भित्र्याउने योजना बनाइरहेका छौं, तर तिनलाई देशभित्रै उत्पादित खाद्यसामग्री खुवाउन सकिन्छ र आयको सीमा बढाउन सकिन्छ भन्नेतर्फ सोचेका छैनौं। सरकारले चीन र भारत दुवै तर्फबाट रेल ल्याउन तीव्र गृहकार्य गरिरहेको छ, तर रेल आइपुग्दा त्यसमा भरेर फिर्ता पठाउने सामग्री उत्पादन गर्नका लागि कुनै वास्तविक योजना बनाएको छैन। के कृषि क्षेत्रको विकास नभई हाम्रो समृद्धिको सपना पूरा हुन सम्भव छ ? यदि छैन भने कृषि विकासका लागि सरकारले किन ठोस कार्यक्रम तय गर्दैन ?

कृषिको विकासका लागि मिठो गफले मात्र काम चल्दैन। कृषिको आधुनिकीकरणका लागि नीतिगत, प्राविधिक विषयमा जटिल गृहकार्य गर्नुपर्ने हुन्छ। जमिन र बजारको व्यवस्थापन, बीउबिजनमा अनुसन्धान, उत्पादनलाई बजारसम्म जोड्ने पूर्वाधार, तिनको उचित मूल्य निर्धारणसम्मका कुरामा ध्यान पुर्‍याउनुपर्ने हुन्छ। कृषि क्षेत्र आर्थिक विकास र समृद्धिको मेरुदण्ड हो। यसले आर्थिक वृद्धिलाई गति दिनुका साथै गरिबी घटाउन, धनी र गरिब, महिला र पुरुषबीच रहेको आयको असमानता कम गर्न, जनसंख्यालाई खाद्य सुरक्षा प्रदान गर्न, र वातावरणीय विनाशलाई रोक्नसमेत ठूलो योगदान दिन्छ। खासगरी एसिया र अफ्रिकाका विकासशील देशमा पछिल्लो दशकमा देखिएको प्रगतिले पनि यो तथ्यलाई पुष्टि गरेको छ।

सरकार र दाताहरूले दशकौंसम्म विकासमा कृषिको भूमिकालाई बेवास्ता गरेका थिए। पछिल्लो समय विकासको गति लिँदै गएका देशमा कृषिलाई त्यसको मुख्य इञ्जिन मान्न थालिएको छ। कृषि क्षेत्रबाट कुल गार्हस्थ उत्पादनमा जति बढी योगदान रह्यो, त्यसले देशको सबैभन्दा गरिब जनसंख्यालाई फाइदा पुग्ने अध्ययनहरूले देखाएका छन्। त्यसैगरी गाउँ–सहरबीचको खाडल पुर्न पनि कृषि क्रान्ति जरुरी छ।

समृद्धिको नारा सुन्दा कर्णप्रिय छ। तर समृद्धि यत्तिकै आउने होइन। केवल कनेक्टिभिटी र व्यापारले समृद्धि आउँदैन। समृद्धिका लागि उत्पादन पहिलो सर्त हो। नेपालको उत्पादनको मुख्य आधार कृषि नै हो। त्यसैले कृषिजन्य उत्पादनमा जोड नदिई समृद्धि हासिल गर्न सकिँदैन। कृषिजन्य उत्पादनमा आधारित उद्योग मात्र हाम्रो समृद्धिका आधार बन्न सक्छन्। त्यसैले समृद्धिका लागि राज्यले कृषिमा लगानी गर्न जरुरी छ। कृषि क्षेत्रमा देखिएको श्रमदेखि बीउबिजन र सिँचाइलगायतका समस्यामा ध्यान पुर्‍याउन आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.