मेलम्चीको पानी असोजमा मात्रै

मेलम्चीको पानी असोजमा मात्रै

काठमाडौं : डेढ अर्बभन्दा बढी रकम र पाँच सय ७० दिन थपको रडाको झिकेर काम अवरुद्ध गरेको इटालियन कम्पनी सीएमसीसँगै सरकारले मेलम्चीको खानेपानी असोज दोस्रो साता सुन्दरीजलमा ल्याउने गरी पुनः सहमति गरेको छ। सरकारले यसअघि ०७३ वैशाखदेखि नै पटक–पटक राजधानीमा मेलम्चीको पानी ल्याइसक्ने आश्वासन दिइसकेको छ।

यसअघि खानेपानी मन्त्रालयले एसियाली विकास बैंक, मेलम्ची खानेपानी विकास समिति, सीएमसीसँगै बसेर जेठ ३१ गतेभित्र मेलम्चीको पानी सुन्दरीजल ल्याइपुर्‍याउने कार्ययोजना बनाएर सार्वजनिक गरिसकेको थियो। कार्ययोजनाअनुरुप काम नभएपछि मन्त्रालयले सीएमसीको केन्द्रीय कार्यालय इटालीमा जेठ २१ गते १५ दिनको म्याद राखी सरकारको राष्ट्रिय गौरवको आयोजनामाथि सीएमसीले गरेको कामप्रति गम्भीर हुन पत्राचार गरेको थियो।

पत्र पाएपछि आएको टोलीसँग मन्त्रालय, समिति, एसियाली विकास बैंक, परामर्शदाता कम्पनी इप्टिसा र निर्माण कम्पनी सीएमसीबीच उच्चस्तरीय छलफल गरी असोज दोस्रो साता सुन्दरीजलमा पानी ल्याउने सहमति भएको खानेपानीमन्त्री बिना मगरले जानकारी दिइन्। उनले भनिन्, ‘दसैंअगाडि नै राजधानीमा मेलम्चीको पानी उपलब्ध गराउन नयाँ सहमति गरेका हौं। सीएमसीले नगद प्रवाहमा देखिएको समस्या हल गर्ने, अब उप्रान्त सीएमसीमार्फत काम गरिरहेका नेपाली निर्माण व्यवसायीलाई सहज रूपमा रकम उपलब्ध गराउन एलसी र विकास समितिबाट सोझै भुक्तानी गर्नेसमेत सहमति भएको छ।’

भूकम्प र नाकाबन्दी आदिको कारण देखाउँदै सीएमसीले एक अर्ब ६५ करोड रुपैयाँ र पाँच सय ७० दिन थप गर्नुपर्ने विषयलाई खानेपानी मन्त्रालयले अस्वीकार गरेपछि उक्त विषय डिस्प्युट बोर्डमा पुगेको थियो। बोर्डले सोबारे आंशिक निर्णय गरेको थियो। हालै मेलम्ची विकास समिति र इन्जिनियरले पेस गरेको आधारमा असार ९ गतेदेखि थप दुई सय १२ दिन निर्माण कम्पनीलाई बोर्डले म्याद थप गरेको छ। ‘बोर्डले असार ९ गतेदेखि दुई सय १२ दिन म्याद थप गरे पनि सरकारले बोर्डमै पेस गरेको पत्रको अपव्याख्या भएकाले बोर्डलाई असन्तुष्टि पत्र पठाएका छौं’, मन्त्री मगरले भनिन्, ‘मन्त्रालयले पेस गरेको पत्रमा सीएमसीलाई थप गरिएको समयावधि जेठ ३१ हो, असार ९ होइन। त्यसैले बोर्डको अन्तिम निर्णय नआउँदासम्मका लागि मात्र सरकारले निर्माण कम्पनी सीएमसीको म्याद थप गरेका हौं।’ बोर्डले अन्तिम निर्णय सुनाउन बढीमा ९० दिनको म्याद हुने कानुनी प्रावधान छ।

डिस्प्युट बोर्डले गरेको म्याद थपको यो आंशिक निर्णय सच्चिएर नआए मन्त्रालय आर्बिटेसन (मध्यस्थता) का लागि सिंगापुर जाने नीतिगत निर्णयमा पुगिसकेको छ। मन्त्रालयले सुरुङमा भेन्टिलेसन साफ्ट निर्माणका लागि असार २६ गतेभित्र इन्जिनियर र सीएमसीले मोडालिटी तयार गरी विकास समितिलाई पेस गर्नेसमेत सहमति गरेको छ। मेलम्ची खानेपानी कतिपयका लागि आशा र कतिपयका लागि तमासा बनेको भन्दै मगरले भनिन्, ‘विगतमा जे भयो भयो, अब राजधानीवासीलाई हामी हात्ती आयो हात्ती आयो फुस्सा हुन दिँदैनौं।’

मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले पछिल्लो सहमतिमा दुई साता थप्नै परे पनि असोज अन्तिम दिनभित्र सुन्दरीजलमा पानी ल्याउने र कात्तिक १ गते घरघरमा पुर्‍याउने अर्जुनदृष्टिका साथ काम अघि बढेको दाबी गरे। समितिका कार्यकारीनिर्देशक सूर्यराज कँडेलले सुरुङको हालसम्म ६.३ किलोमिटर मात्र इन्भेन्ट लाइनिङ र फाइनल सपोर्टको काम भएको जानकारी दिए। हेडबक्समा ५ प्रतिशत मात्र काम भएको स्विकार्दै उनले भने, ‘पानी ल्याउन हेडबक्सले खासै फरक पर्दैन तर सुरुङमै झन्डै २० किलोमिटर इन्भेन्ट लाइनिङ र फाइनल सर्पोट बाँकी छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.