एक सय ८४ विद्यार्थीलाई एउटा कम्प्युटर
काठमाडौं : नेपालको सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये एक सय ८४ जना विद्यार्थीले एउटा कम्प्युटर चलाउने पर्ने वाध्यता रहेको उल्लेख भएको छ । सूचना प्रविधिको दिगो विकास लक्ष्यअन्तर्गत शिक्षा, स्वास्थ्य र सुशासनको लक्ष्य कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा इआईसीटी नेपाल प्रालिले सोमबार आयोजना गरेको छलफलमा उक्त तथ्यांक प्रस्तुत भएको हो ।
कार्यक्रममा इन्जिनियर श्रीभद्र वाग्लेको समूहले सूचना प्रविधिको दिगो विकास लक्ष्यअन्तर्गत शिक्षा, स्वास्थ्य र सुशासनमा नेपालको हालको अवस्था र लक्ष्य प्राप्तिका लागि आवश्यक विषयबस्तुबारे सोध गरी प्रस्तुत गरेका थिए । उक्त अवसरमा वाग्लेले नेपालको सरकारी विद्यालयमा अध्ययनरत एक सय ८४ विद्यार्थीको भागमा अहिले एक वटा कम्प्युटर पर्ने गरेको बताए । उनका अनुसार अहिले नेपालका ३० हजार हाराहारीमा सरकारी विद्यालय छन् । त्यसको जम्मा ११ प्रतिशत स्कुलमा इन्टरनेट पहुँच छ । कन्टेन्टका आधारमा हेर्ने हो भने आईसीटी टुल, एपलगायत सामग्री प्रयोग गरी अध्ययन अध्यापन गराउने विद्यालयको संख्या ०.१७ प्रतिशत मात्र भएको तथ्यांक छ । कार्यक्रममा बोल्दै शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले पनि देशभर रहेका ३५ हजार सामुदायिक विद्यालयमध्ये हालसम्म आठ हजार एक सय ७४ विद्यालयमा मात्र सूचना प्रविधिका लागि कम्प्युटर शिक्षाको पहुँच पुगेको उल्लेख गरे । यो अहिलेको परिवेशमा अपुग भएको भन्दै उनले शिक्षाको क्षेत्रमा सूचना प्रविधिको विस्तार र प्रयोगका लागि मन्त्रालयले प्राथमिकता दिएको बताए ।
उनका अनुसार कम्प्युटर पुगेका विद्यालयमध्ये पनि करिब ३५ प्रतिशतमा मात्र इन्टरनेट सेवा पुगेको छ । पूर्वाधारको कमीले गर्दा कम्प्युटर पुगेका विद्यालयमा पनि इन्टरनेट सेवा पुग्न नसकेको भन्दै उनले अबका दिनमा सबै विद्यालयमा कम्प्युटर शिक्षाका साथमा इन्टरनेट सेवा पु¥याउने नीति मन्त्रालयले लिएको उनले बताए । अर्कोतर्फ सरकारी स्वास्थ्य क्षेत्र भने केही हदसम्म राम्रो देखिएको छ । सोधको तथ्यांकका आधारमा हेर्ने हो भने सम्पूर्ण सरकारी ठूला अस्पतालमा इन्टरनेटको पहुँच पुगेको देखिएको छ । तर, सरकारी हेल्थ सर्भिसमा भने इन्टरनेटको पहुँच जम्मा ७.२३ प्रतिशत रहेको तथ्यांकले जनाएको छ । उक्त अवसरमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा. दीपेन्द्ररमण सिंहले हरेक स्वास्थ्य क्षेत्रलाई सूचना प्रविधिमैत्री बनाउन आवश्यक काम भइरहेको बताए । उनले स्वास्थ्य मन्त्रालयले बिरामीका हरेक सूचना संकलन गरेर राख्न मिल्ने गरी सरकारी संयन्त्र निर्माण गर्ने तयारी भइरहेको बताए ।
उक्त कार्यक्रममा सरकारी सुशासनबारे बोल्दै सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले हामीलाई पूर्वाधारमा पछि रहेको भन्दै पहिलो चरणमा सूचना प्रविधिको पहुँच र त्यसको प्रयोगका लागि आवश्यक पर्ने सयन्त्र तयार गर्न आवश्यक रहेको बताए । नेपाल दूरसञ्चार प्राधिकरणका बरिष्ठ कार्यकारी निर्देशक आनन्दराज खनालले यो क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार विकासमा प्राधिरकणले काम गरिरहेको बताए । उनले त्यसको ब्याकबोनका लागि हरेक जिल्ला केन्द्रसम्म इन्टरनेट पु¥याउने काम भइरहेको बताए । उक्त कार्यक्रममा संयुक्त राष्ट्रसंघअन्तर्गतको सूचना समाजका लागि विश्व सम्मेलन (डब्लूएसआईएस) ले राखेका उद्देश्यअनुरूप शिक्षा, स्वास्थ्य तथा विद्युतीय सुशासनको क्षेत्रमा आगामी दिनका कस्ता योजना बनाएर लागू गर्नु पर्छ भन्नेबारे भएको अध्ययनमाथि विभिन्न सुझाव समेत दिइएको थियो ।