सूर्य इन्टरनेसनल अवार्डको मनोनयन सार्वजनिक
काठमाडौं : जापानको टोकियोमा पहिलो पटक हुन लागेको सूर्य इन्टरनेसनल अवार्ड–२०१८ को मनोनयन सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रम आयोजना गरी उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो ।
सेप्टेम्बरको १६ तारिखमा अवार्ड हुने आयोजकले जनाएको छ । मनोनयनपछि उत्कृष्ट पाँचलाई विश्वभरबाट अनलाइन भोटिङ गर्न सकिने आयोजकले बताएको छ । अनलाइन भोटिङका लागि कुनै शुल्क लाग्ने छैन ।
उक्त अवार्डमा फिल्म र संगीततर्फबाट ६÷६ गरी १२ विधामा मनोनयन सार्वजनिक गरिएको हो । उत्कृष्ट फिल्म, नायक, नायिका, सपोर्टिङ कलाकार महिला र पुरुष गरी ६ विधा र संगीततर्फ लोक, पप र आधुनिक गायकगायिका गरी ६ विधा छन् ।
नेपाली अवार्डको गरिमा र विवाद तथा चर्चा अन्त्य गर्न भोटिङ प्रक्रियाबाट सञ्चालन गर्न लागिएको अवार्डका अध्यक्ष वासुदेव लामिछानेले बताए । सूर्य इन्टरनेसनल अवार्ड एक बृहत् सांस्कृतिक कार्यक्रमसहित आयोजना हुने आयोजकले जनाएको छ । अवार्ड समारोहमा चार दर्जन कलाकर्मी जापानको मञ्चमा देखिने उनले बताए । नेपालमा कलाकर्मी व्यवस्थापन गर्न नरेश भट्टराई र समीर बलामीलाई जिम्मेवारी दिइएको छ ।
छक्का पञ्जा २, ए मेरो हजुर २, शत्रु गते, म यस्तो गीत गाँउछु, कृ उत्कृष्ट फिल्ममा परेका छन् । यस्तै उत्कृष्ट निर्देशकमा दीपा श्री निरौला, अरुणा थापा,
प्रदीप भट्टराई, सुदर्शन थापा र मिलन चाम्स छन् । उत्कृष्ट अभिनेतामा अनमोल केसी प्रदीप खड्का, पल शाह, पुष्पल खड्का र दयाहाङ राई छन् भने उत्कृष्ट अभिनेत्रीमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पूजा शर्मा, श्वेता खड्का, शिल्पा पोखरेल र नीता ढुंगाना छन् ।