करिब १२ घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक
चितवन : मंगलबार बिहान पहिलो खसेर अवरुद्ध भएको मुग्लिन नारायणगढ सडकखण्ड करिब १२ घण्टापछि खुलेको छ। इच्छाकामना गाउँपालिका ५ स्थित तोपेखोलामा चट्टानसहितको पहिरो खस्दा मंगलबार बिहान पाँच बजेदेखि सडक अवरुद्ध भएको थियो।
बिहान बहान ६ बजेदेखि नै तीन वटा एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहे पनि दिउँसोसम्म सडक खुलेको छैन। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो ४ बजेमात्र सडक दुईतर्फी खुलेको हो।
ठूलो पहाडै खसेकाले पहिरो पन्छाउन समय लागेको उनको भनाइ छ। पहिरो पन्छाउँदै गर्दा फेरि पहिरो खसेपछि पहिरो हटाउनमा समय लागेको हो।
कालीखोलादेखि जलविरेसम्मको क्षेत्रमा साना ठूला गरी दर्जनभन्दा बढी ठाउँमा पहिरो खसेको थियो। तर, सबैभन्दा ठूलो पहिरो भने तोपे खोलामा झरेको हो।
सडक अवरूद्ध हुँदा हजारौ यात्रु बीचबाटोमा नै अलपत्र परेका थिए। बाटो खुलेपनि अझै केही घण्टा जाम हुने अनुमान गरिएको छ।