बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु
दमौली : आँबुखैरेनी गाउँपालिका १ बरादीमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
आँबु ४ निवासी २६ वर्षका डिलबहादुर थापाको उपचारका क्रममा दमौली अस्पतालमा ज्यान गएको हो भने कुश्मा ९ निवासी तीन वर्षकी ममता लामिछानेको चरक अस्पताल पोखरामा र नाम ठेगाना नुखलेका २८ वर्षका एक पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रमुख कृष्णबहादुर क्षेत्रीले जानकारी दिए।
दुर्घटनामा पाँच घाइते भएका छन् । घाइतेमध्ये दुई अचेत छन् । पृथ्वी राजमार्गमा भएको दुर्घटनामा आँबुखैरेनीबाट डुम्रे आउँदै गरेको ग १ ख ३०७३ नम्बरको बसले डुम्रेबाट आँबुखैरेनी जाँदै गरेका बा १७ च १८१४ नम्बरको भ्यान र ग ५ प १९४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका निरीक्षक सन्तोष रोकाले जानकारी दिए ।
दुर्घटनामा परी घाइते हुने सबै भ्यान र मोटरसाइकलका यात्रु छन् । घाइते हुनेमा ममताकी आमा २० वर्षीया पार्वती लामिछाने, चितवन भरतपुर ६ निवासी २० वर्षीय सरु पाठक, पर्वत कुश्मा १३ निवासी २४ वर्षका गुरुदत्त तिवारी तथा पर्वत कुश्मा ९ का २५ वर्षका कमल लामिछाने छन् । यसैगरी पर्वत खुर्कोटकी ३९ वर्षीया सीतादेवी चालिसे र नवलपरासी सुस्ताका ३५ वर्षका आनन्त तिवारी घाइते छन् ।