पत्रकारलाई चुम्मा खान खोजेपछि..
मस्को : विश्व फुटबलको महाकुम्भ केवल खेलाडीबीच मैदानमा हुने घम्साघम्सी र जित-हारमा मात्र सीमित छैन।
विश्वकपका क्रममा खेल मैदानबाहिर हुने विभिन्न घटनालाई पनि समर्थकले उत्तिकै चासोका साथ हेरिरहेका हुन्छन्। खेलाडी र खेल पदाधिकारीदेखिबाहेक बेलाबखत आआफ्नै धुनमा मस्त रहने समर्थक र सञ्चारकर्मी आफैं पनि समाचारको विषय बन्ने गरेका छन्।
हाल रुसमा जारी २१ औं विश्वकपमा पनि एकजना सञ्चारकर्मी आफैं समाचारको विषय बनेकी छन्। गत आइतबार जापान र सेनेगलबीच भएको समूहगत चरणको खेलको प्रसारण गरिरहँदा ब्राजिलकी खेल पत्रकार जुलिया ग्विमारेजलाई एकजना समर्थकले गालामा चुम्मा खाने प्रयास गरेपछि यतिबेला त्यो समाचारले विश्वभरि निकै चर्चा पाएको छ।
आफ्नो टेलिभिजनलाई रुसको एकातेरिनाबर्गमा भएको उक्त खेलको समाचारबारे जानकारी गराइरहँदा एकजना समर्थक उनी नजिक आएर गालामा चुम्मा खान खोजेका थिए। यद्यपि, हातमा टेलिभिजनको बुम माइक बोकेर बोलिरहेकी जुलियाले ती समर्थकलाई गालामा चुम्मा खानबाट रोकेकी थिइन्। ती व्यक्तिको व्यवहारबाट जुलिया निकै आक्रोशित बनेकी थिइन्।
जुलियाले ती व्यक्तिलाई भविष्यमा कुनै पनि महिलासँग त्यस्तो व्यवहार नगर्न सचेत पनि बनाएकी थिइन्। ‘कुनै पनि महिलासँग भविष्यमा यस्तो व्यवहार नगर्नु’, जुलियाले चिच्याउँदै ती प्यक्तिलाई चेतावनी दिइन्। जुलिया रिसाएपछि ती व्यक्तिले पनि उनीसँग माफी मागेका थिए। यी सबै गतिविधि समाचार रेकर्ड गरिरहेको भिडियोमा पनि कैद भएका थिए।
‘कुनै पनि महिलालाई यस्तो हर्कत नगर्नु। यो सभ्यता होइन र राम्रो कुरा पनि होइन’, जुलियाले ती व्यक्तिलाई भनेको कुरा भिडियोमा रेकर्ड भएको छ। टीभी ग्लोबो र स्पोर्ट्स टीभीकी खेल पत्रकार जुलियाले आफ्नो देश ब्राजिलमा यस्ता घटना कहिले पनि नहुने पनि बताइन्। ‘मेरा लागि यो अप्रत्याशित घटना हो, हाम्रो देशमा यस्तो घटनाको विषयमा सोच्न पनि सकिँदैन’, सो घटनाको विषयमा जुलियाले पछि अन्य सञ्चारकर्मीसँग भनेकी छन्।
रुसमा जारी विश्वकपका क्रममा आफूमाथि दोस्रो पटक यस्तो घटना भएको पनि उनले बताएकी छन्। ‘केही व्यक्ति महिलामाथि जस्तोसुकै व्यवहार पनि गर्न सकिन्छ भन्ने सोच किन पाल्छन् भनेर मैले अझै बुझ्न सकेकी छैन’, जुलिया भन्छिन्। उनले विश्वकपको उद्घाटन समारोहलगत्तै भएको आयोजक रुस र इजिप्टबीचको खेलका क्रममा पनि आफूमाथि दुव्र्यवहार भएको दाबी गरिन्।