माथिल्लो तामाकोसीको सेयर खुल्यो
चरिकोट : अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले मंगलबार सार्वजनिक सूचना जारी गरी आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर आवेदन आह्वान गरेको छ । दोलखालीका लागि एक अर्ब पाँच करोड ९० लाख मूल्य बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता सेयर निष्कासन भएको छ । दोलखालीले असार २४ गते आइतबारदेखि साउन ९ गते बुधबारसम्म १८ दिनभित्र आवेदन दिन सक्ने माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।
दोलखास्थित आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम ३० देखि तीन सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । पहिलो चरणमा दोलखास्थित आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि मात्रै सेयर खुलाइएको हो । तर ४४ प्रतिशत दोलखा जिल्लाबासीले आफ्नो बचतको ठूलो हिस्सा निजी आवास पुनर्निर्माणमा लगानी गरेका कारण शतप्रतिशत सेयर बिक्री हुनेमा शंका सुरु भएको छ । स्थानीय र सर्वसाधारणबाट संकलन गरिएको सेयरबापतको रकमलाई आयोजना निर्माण गरिरहेको विभिन्न लटका ठेकेदारलाई भुक्तानी कार्यमा खर्च गरिनेछ ।
सेयर आवेदनका लागि दोलखा जिल्लास्थित १० वटा बैंक तथा आयोजनाका केन्द्रीय कार्यालय लामाबगरको गोंगरखोलामा पनि बुझाउन सकिनेछ । वैदेशिक रोजगारीमा रहेकाले कम्पनीको वेभसाइटबाट डाउनलोड गरी फारम भरेर आवेदन बुझाउन सक्नेछन् ।
४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना दोलखाको बिगु गाउँपालिका–१, लामावगरमा निर्माणाधीन स्वदेशी लगानीको सबैभन्दा ठूलो आयोजना हो । २०७५ पुससम्ममा उत्पादन लक्ष्य लिएको आयोजनाको निर्माण कार्य हालसम्म ९६ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले दोलखा जिल्लावासीका लागि जारी पुँजीको १० प्रतिशतले हुन आउने सेयर आवेदनका लागि आह्वान गरेको छ ।