विश्वकप खेल चलिरहँदा पत्रकारलाई चुम्मा खान खोजेपछि
मस्को : विश्व फुटबलको महाकुम्भ केवल खेलाडीबीच मैदानमा हुने घम्साघम्सी र जित÷हारमा मात्र सीमित छैन । विश्वकपका क्रममा खेल मैदानबाहिर हुने विभिन्न घटनालाई पनि समर्थकले उत्तिकै चासोका साथ हेरिरहेका हुन्छन् । खेलाडी र खेल पदाधिकारीदेखिबाहेक बेलाबखत आआफ्नै धुनमा मस्त रहने समर्थक र सञ्चारकर्मी आफैं पनि समाचारको विषय बन्ने गरेका छन् ।
हाल रुसमा जारी २१औं विश्वकपमा पनि एकजना सञ्चारकर्मी आफैं समाचारको विषय बनेकी छन् । गत आइतबार जापान र सेनेगलबीच भएको समूहगत चरणको खेलको प्रसारण गरिरहँदा ब्राजिलकी खेल पत्रकार जुलिया ग्विमारेजलाई एकजना समर्थकले गालामा चुम्मा खाने प्रयास गरेपछि यतिबेला त्यो समाचारले विश्वभरि निकै चर्चा पाएको छ ।
आफ्नो टेलिभिजनलाई रुसको एकातेरिनाबर्गमा भएको उक्त खेलको समाचारबारे जानकारी गराइरहँदा एकजना समर्थक उनी नजिक आएर गालामा चुम्मा खान खोजेका थिए । यद्यपि, हातमा टेलिभिजनको बुम माइक बोकेर बोलिरहेकी जुलियाले ती समर्थकलाई गालामा चुम्मा खानबाट रोकेकी थिइन् । ती व्यक्तिको व्यवहारबाट जुलिया निकै आक्रोशित बनेकी थिइन् ।
जुलियाले ती व्यक्तिलाई भविष्यमा कुनै पनि महिलासँग त्यस्तो व्यवहार नगर्न सचेत पनि बनाएकी थिइन् । ‘कुनै पनि महिलासँग भविष्यमा यस्तो व्यवहार नगर्नु’, जुलियाले चिच्याउँदै ती प्यक्तिलाई चेतावनी दिइन् । जुलिया रिसाएपछि ती व्यक्तिले पनि उनीसँग माफी मागेका थिए । यी सबै गतिविधि समाचार रेकर्ड गरिरहेको भिडियोमा पनि कैद भएका थिए ।
‘कुनै पनि महिलालाई यस्तो हर्कत नगर्नु । यो सभ्यता होइन र राम्रो कुरा पनि होइन’, जुलियाले ती व्यक्तिलाई भनेको कुरा भिडियोमा रेकर्ड भएको छ । टीभी ग्लोबो र स्पोर्ट्स टीभीकी खेल पत्रकार जुलियाले आफ्नो देश ब्राजिलमा यस्ता घटना कहिले पनि नहुने पनि बताइन् । ‘मेरा लागि यो अप्रत्याशित घटना हो, हाम्रो देशमा यस्तो घटनाको विषयमा सोच्न पनि सकिँदैन’, सो घटनाको विषयमा जुलियाले पछि अन्य सञ्चारकर्मीसँग भनेकी छन् ।
रुसमा जारी विश्वकपका क्रममा आफूमाथि दोस्रो पटक यस्तो घटना भएको पनि उनले बताएकी छन् । ‘केही व्यक्ति महिलामाथि जस्तोसुकै व्यवहार पनि गर्न सकिन्छ भन्ने सोच किन पाल्छन् भनेर मैले अझै बुझ्न सकेकी छैन’, जुलिया भन्छिन् । उनले विश्वकपको उद्घाटन समारोहलगत्तै भएको आयोजक रुस र इजिप्टबीचको खेलका क्रममा पनि आफूमाथि दुव्र्यवहार भएको दाबी गरिन्।