दबाबमा ब्राजिल
मस्को : चार वर्षअघि आफ्नै घरमा भएको विश्वकपमा व्यहोरेको लज्जास्पद हार भुल्न नसकेको ब्राजिलले जारी विश्वकपमा भने उपाधिकै योजना बनाएको छ । यद्यपि समूहगत चरणको आफ्नो पहिलो खेलमै स्विट्जरल्यान्डसँग १-१ गोलको बराबरीमा रोकिँदा ब्राजिलको प्रिक्वार्टरफाइनल चरणको यात्रा नै कठिन बन्न पुग्यो । आफ्नो दोस्रो खेलमा कोस्टारिकाविरुद्ध इन्जुरी समयमा दुई गोल गर्दै जित हात पारेपछि ब्राजिलको अघिल्लो चरण प्रवेशको सम्भावना अझै जीवित छ ।
ब्राजिल त्यही सम्भावनासहित बुधबार महत्वपूर्ण खेलमा सर्बियासँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको अन्तिम १६ को यात्रा तय गर्न ब्राजिललाई सर्बियासँगको खेलमा केवल बारबरीको नतिजा पर्याप्त छ । यद्यपि ब्राजिलको योजना त्योभन्दा माथिको हुने पक्का छ । ब्राजिल समूह ‘ई’ को विजेताका रूपमा प्रतियोगिताको अन्तिम १६ मा पुग्ने योजनामा छ ।
समूह विजेता बन्न ब्राजिललाई सर्बियाविरुद्ध स्पष्ट जितको आवश्यकता हुनेछ । सँगसँगै ब्राजिलको चाहनाले मूर्तरूप लिन अर्को खेलमा स्विट्जरल्यान्ड र कोस्टारिकाले बराबरी खेल्नु पर्नेछ वा स्विट्जरल्यान्डले कम गोलअन्तरले मात्र जित हात पार्नु पर्नेछ । लगातार दुई पराजयसँगै कोस्टारिका भने यसअघि नै घर फर्कने निश्चित भइसकेको छ ।
समूह ‘ई’बाट पाँच पटकको विश्वकप विजेता ब्राजिल, स्विट्जरल्यान्ड र सर्बियाको मात्र प्रिक्वार्टरफाइनलमा प्रवेश गर्ने सम्भावना बाँकी छ । अन्तिम चरणको खेल बाँकी रहँदा समान चार÷चार अंकका साथ ब्राजिल पहिलो र स्विट्जरल्यान्ड दोस्रो तथा तीन अंकसहित सर्बिया तेस्रो स्थानमा छन् । आआफ्नो खेलमा जित वा बराबरीको नतिजाले ब्राजिल र स्विट्जरल्यान्ड क्रमश: समूह विजेता र उपविजेताको हैसियतमा नकआउट चरणमा पु¥याउनेछ । यो नतिजामा सर्बिया प्रिक्वार्टरफाइनल चरणको होडबाट बाहिरिनेछ ।
यद्यपि ब्राजिललाई पराजित गर्न सकेको अवस्थामा भने सर्बिया प्रतियोगिताको अन्तिम १६ मा पुग्नेछ । ब्राजिलसँग स्विट्जरल्यान्डले पनि पराजय व्यहोरेको अवस्थामा सर्बिया समूहको विजेताकै हैसियतमा प्रतियोगिताको अन्तिम १६ मा पुग्ने सम्भावना पनि उत्तिकै छ । नेमार, फिलिप कोउटिन्हो, मार्सेलो, फर्मिनोलगायतका प्रतिभाशाली युवा खेलाडीले भरिएको बलियो ब्राजिललाई पराजित गर्नु सर्बियाका लागि भने सहज पक्कै हुने छैन ।
ब्राजिललाई विंगर डगलस कोस्टाको साथ भने रहने छैन । कोस्टारिकाविरुद्धको खेलका क्रममा घाइते भएका उनी बुधबार मैदानबाहिरै रहनेछन् । यी दुई टोलीबीच यसअघि एकअर्काविरुद्ध भएको प्रतिस्पर्धामा भने ब्राजिल निकै बलियो देखिएको छ । विश्वकप फुटबलमा हालसम्म भएको तीनमध्ये कुनै पनि भेटमा सर्बियाले ब्राजिललाई पराजित गर्न सकेको छैन । ब्राजिलले तीन भेटमा एक जित र दुई बराबरीको नतिजा निकालेको छ ।
विगतमा यी दुई
कुल खेल : ३
ब्राजिल विजयी : १
बराबरी : २
प्रभाव पार्न सक्ने खेलाडी
गाब्रियल जिसस (ब्राजिल)
गाब्रियल जिसस ब्राजिलियन फुटबलमा देखिएका पछिल्लो प्रतिभा हुन्, जसले सानै उमेरदेखि अन्तर्राष्ट्रिय फुटबलमा सशक्त प्रदर्शन गर्न थालेका छन् । सन् २०१५ मा न्युजिल्यान्डमा भएको यू–२० विश्वकपमा टोलीका लागि प्रभावशाली प्रदर्शन गरेका जिसस सन् २०१६ मा आफ्नै देशमा भएको ओलम्पिक खेलकुदमा ब्राजिलले स्वर्ण पदक जित्दाका महŒवपूर्ण खेलाडी पनि हुन् ।
त्यही प्रतिभाले १९ वर्षकै उमेरमा सन् २०१७ मा इङ्लिस क्लब म्यानचेस्टर सिटीसँग उनको अनुबन्ध सम्भव बनायो । सन् २०१६ बाटै ब्राजिलियन राष्ट्रिय टोलीबाट खेल्न थालेका जिसस पछिल्लो समय टोलीका महŒवपूर्ण सदस्य रहँदै आएका छन् । ब्राजिललाई रुस विश्वकपमा छनोट गराउनसमेत महŒवपूर्ण योगदान पु¥याएका जिसस अहिले पनि टोलीको मुख्य स्ट्राइकरकै भूमिकामा छन् ।
नेमार, फिलिप कोउटिन्हो, रोबर्टाे फर्मिनोजस्ता खेलाडी रहेको ब्राजिलियन टोलीबाट उनले रुस विश्वकपको सुरुआती दुई खेलमा पहिलो रोजाइको मुख्य स्ट्राइकरको रूपमा मैदानमा उत्रने अवसर पाए । यी दुवै खेलमा उनले गोल गर्न त सकेनन् तर, उनी त्यसका लागि सक्षम खेलाडी भने पक्कै हुन् । ब्राजिललाई आयोजक रुसपछि पहिलो टोलीको रूपमा विश्वकपमा छनोट गराउने क्रममा उनै जिससले १० खेलमा सात गोल गरेका थिए ।
यसैगरी उनले छनोट प्रतियोगितामा थप पाँच गोलका लागि अवसरसमेत सिर्जना गरेका थिए । उनको यो गोल स्कोरिङ क्षमता जारी विश्वकपमा ब्राजिललाई अगाडि बढाउन पनि प्रयोग भएको हेर्न पाइने विश्वास गरिएको छ । खासगरी ब्राजिलले बुधबार हुने समूहगत चरणको आफ्नो अन्तिम खेलमा जितसहित विजेताको हैसियतमा प्रिक्वार्टरफाइनल चरणको यात्रा तय गर्ने योजना बनाउँदा त्यसमा जिससले गोलमार्फत योगदान पु¥याउन सक्छन् । राष्ट्रिय टोलीबाट हालसम्म १९ खेल खेलेका जिससले १० गोल गरिसकेका छन् ।