भारतीयद्वारा सोनवर्षा नाका चार घण्टा ठप्प
मलंगवा : नेपाल प्रहरीले दुःख दिएको भन्दै सर्लाहीको मूख्य मलंगवा सोनवर्षा नाकालाई भारतीय युवाहरूले मंगलवार विहान करिब ४ घण्टा सम्म ठप्प पारेका छन्।
सोमवारराती आफ्नो दिदीको घर मलंगवा आउँदै गरेका भारतका रमनगरा निवारी कपलेश रायलाई मोटरसाइकलको सक्कली कागजात नभएको भन्दै प्रहरीले फर्काएका पछि युवाहरू आक्रोशित बनेका छन्। आक्रोशित युवाहरूले आफ्ना देशका नागरिकलाई जान नदिएपछि आफुहरू पनि नेपालीहरूलाई प्रबेश गर्न नदिने भन्दै नेपाल भारत सीमामा टायर बालेर प्रर्दशन समेत गरेका थिए। युवाहरूले विहान ६ बजेदेखि १० सम्म कुनै पनि सवारी साधनलाई आवत जावत गर्न दिएका थिएनन्।
आफ्नो गाडीको अहिले सक्कली कागज नभएको र फोटोकपी देखाउँदा नेपाल पुलिसले आफुलाई जान नदिएको रमनगराका कपलेश रायको गुनासो रहेको छ। आफुले मोटरसाइकल त्यही छोडी सक्कली कागज ल्याउँछु भन्दा पनि पुलिसले अब सक्कली कागज ल्याएपनि १ हजार लिएर मात्र जान दिने भन्दै आफुसंग भएको फोटोकपी कागज लिएको रायको आरोप रहेको छ। ‘सक्कली कागज ल्याउँदा पनि पैसा माग्नु भारती नागरिकलाई दुःख दिनु हो’, रायले भने, ‘आफुहरूलाई नेपाल छिर्न नदिएपछि आफुहरू पनि नेपालीलाई भारतमा प्रबेश गर्नमा रोक लगाएका छौं।’
नाकामा आवत जावत ठप्प भएपछि दुबै देशका प्रहरीले छलफल गरेर समस्याको सामाधान गर्ने भने पछि युवाहरू नाकाबाट हटेका थिए।
युवाहरू नाकाबाट हट्ने बित्तिकै दुबैदेशका प्रहरी र भारतीय युवाहरूको संयुक्त बैठक बसेको थियो। बैठकमा नेपाल प्रहरीका प्रहरी निरीक्षक कुन्दन देवले अपराधिक गतिबिधीलाई रोक्नका लागि प्रहरीले नाकामा चेकजाँच गर्ने गरेको बताएका छन्। सबारीका सक्कली कागज, चालक अनुमति पत्र, हेलमेट र नम्बर लेखेका गाडीलाई आफुहरू कुनै रोकटोक नगरेको बताए छन्। तर, सक्कली कागजात नबोक्ने, चालक अनुमती नभएका, हेलमेट प्रयोग नगरेका दुई जना भन्दा बढी व्यक्ति सबार भएका र नम्बर प्लेट नभएका मोटरसाइकल र गाडीलाई प्रबेश गर्न नदिने बताएछन्। ‘प्रहरीले कडाई गर्दा दुःख दियो भनेर नाका जाम गर्नु हुदैंन्’, कुन्देवले भने, ‘कागजात हुदाँ हुदै पनि कुनै प्रहरीले दुःख दिएको छ भने त्यस्तालाई कारबाही गर्छौ।’ सबै प्रमाण बोकेर हिड्नुस्। तैपनि कुनै प्रहरीले दुःख दियो भने जिल्लामा आएर भन्न भारतीय युवाहरूलाई सुझाव दिएका थिए।
भारती पक्षबाट बैठकमा सामेल भएका सशस्त्र सीमा बलका डिएसपि निमित एहलावतले नेपाली प्रहरीले बिना कारण दुःख दिन्छ भने हामीलाई भन्नुस हामी समस्या सामाधानका लागि पहल गर्छौ। तर, सीमामा प्रदर्शन गरेर सर्वसधारणलाई दुःख दिने काम गर्नु हुदैंन्। एहलावतले पनि सक्कली कागजात बोकेर नेपाल प्रबेश गर्नका लागि आफ्ना देशका युवाहरूलाई सुझाव दिएका थिए।
बैठकमा नेपाली पक्षबाट सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश कुमार माझी, नेपाल प्रहरीका प्रहरी निरीक्षक कुन्दन देव, भारतीय सशस्त्र सीमा बलका डि.एस.पी निमित एहलावत र विहार पुलिसका प्रमोद कुमार सहभागि थिए।