गिटी बालुवा सहज गर्न माग गर्दै कांग्रेसको प्रदर्शन
दोलखा : गिटी बालुवा अभावको विरोधमा चरणबद्ध आन्दोलन गरिरहेको नेपाली कांग्रेस दोलखाले बुधबार जिल्ला समन्वय समिति चरिकोटको कार्यालयमा धर्ना दिएको छ । कांग्रेस दोलखाले चरणबद्ध आन्दोलन स्वरुप बुधबार पनि बालुवा गिटीको सहज आपूर्तिको लागि जिल्ला समन्वय समिति चरिकोटको कार्यालयमा धर्ना दिएको हो ।
बालुवा गिटीसहितका निर्माण सामग्री अभावका कारण दोलखा जिल्लाका भुकम्पपीडितलाई पर्न गएको असुविधामा पनि समितिले समन्वयमा चासो नदिएको कारण धर्ना नै गर्नु परेको कांग्रेस दोलखाका सचिव सन्तोष रिमालले जानकारी दिए ।
कांग्रेसले बुधबार बिहान १२ बजेदेखि २ बजेसम्म जिल्ला समन्वय समितिको गेटमा २ घण्टा धर्ना बसेको छ । सचिव रिमालले तत्काल भूकम्पपीडितलाई महशुस गर्ने गरी बालुवा गिटीको आपूर्तिको व्यवस्था नमिलाए जस्तो सुकै आन्दोलन पनि गर्ने बताए ।
दोस्रो किस्ता लिएका ७२ प्रतिशत मध्ये गिटी बालुवा अभावमा ५५ प्रतिशतले निर्माण कार्य रोकेका छन्। राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण दोलखाको कार्यालय प्रमुख निर्मलदर्शन आचार्यको अनुसार जेठ मशान्तसम्म दोलखाको निजी आवास पुर्ननिर्माणको काम ४४ प्रतिशत मात्र सम्पन्न भएको छ ।