संसदमै नाराबाजी गर्न पुगे जानकी मेडिकल कलेजका विद्यार्थी
जनकपुरः बन्द भएको जानकी मेडिकल कलेज सञ्चालन गर्न माग गर्दै विद्यार्थीहरुले प्रदेश २ को संसद परिसरमा पुगेर बुधबार नाराबाजी गरेका छन् । पढाई नभएर कलेज बन्द हुँदा आफूहरुको भविष्य अन्योलमा परेको बताउँदै उनीहरुले व्यवस्थापनविरुद्ध प्रदेश २ को सदन अगाडि नाराबाजी गरेका हुन् ।
जानकी मेडिकल कलेजमा पढाई नहुँदा पानीसमेत खान नपाएको बताउँदै मनोज रजक र अमित सिंहको नेतृत्वको विद्यार्थीको समूहले तत्काल पढाई थाल्न माग गर्दै संसद परिसरमा नाराबाजी गरेको हो ।
प्रदेश सरकारका मुख्यमन्त्री र केन्द्रीय सरकारलाई समेत गुहार माग्दा सुनुवाइ नभएपछि आफूहरु संसदमै नाराबाजी गर्न आएको विद्यार्थीहरुले बताएका छन् । करिब एक सयको हाराहारीमा पुगेका विद्यार्थीहरुले चर्का नाराबाजी गर्दै तत्काल कलेज सुचारु हुनुपर्ने माग गरेका छन् ।