जर्मनीको इतिहासकै खराब प्रदर्शन: ८० वर्षपछि पहिलो चरणबाटै बाहिरियो
मस्को : विश्व विजेता जर्मनी रुस विश्वकपको पहिलो चरणबाटै बाहिरिएको छ। बुधबार भएको समूह चरणको अन्तिम खेलमा साविक विजेता जर्मनी दक्षिण कोरियाँसग २–० ले पराजित भएको हो। यो जर्मनीको इतिहासकै खराब प्रदर्शन हो। यसअघि जर्मनी सन् १९३८ मा विश्वकपको पहिलो चरणबाटै बाहिरिएको थियो।
विश्व विजेता टोली पहिलो चरणबाटै बाहिरिएको इतिहास भने लगातार तेस्रो पटक दोहोरिएको छ। यसअघि सन् २०१० मा इटाली, सन् २०१४ मा स्पेन पहिलो चरणबाटै बाहिरिएका थिए। जर्मनी २०१४ को विश्व विजेता हो। रुस विश्वकपमा खराब सुरुवात गरेको जर्मनी पहिलो चरणबाटै बाहिरिएपछि विश्व विजेता पहिलो चरणबाटै बाहिरिने क्रम लगातार तेस्रो पटक दोहोरिएको हो ।
विश्व फुटबल इतिहासमा यसअघि जर्मनीले सन् १९३८ को विश्वकपमा पहिलो चरण पार गर्न सकेको थिएन्। जर्मनी दक्षिण कोरियासँग खराब नतिजामा सीमित हुँदा रुस विश्वकपको समूह ‘एफ’बाट स्वीडेन विजेता र मेक्सिको उपविजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेका छन्। दक्षिण कोरियाका लागि जर्मनीविरुद्ध इन्जुरी समयमा किम यङ वन र सन हिउन मिनले एकएक गोल गरेर सनसनीपूर्ण ढंगले नतिजा आफ्नो पक्षमा पारे।
उता सोही समयमा भएको अर्को खेलमा स्वीडेनले मेक्सिकोलाई ३–० ले पराजित गरेको हो। स्वीडेनका लागि लुडविग अगस्टिनसन र आन्देस गा्रभिष्टले एकएक गोल गरे भने मेक्सिकोले एक गोल उपहार दियो। आजको खेलसँगै विश्वकपको चार पटककको विजेता जर्मनी रुस विश्वकपबाट घर फर्किएको छ।