समूह विजेता बन्ने होड

समूह विजेता बन्ने होड

मस्को : रुस विश्वकपमा समूह ‘जी’बाट प्रिक्वार्टरफाइनल चरणमा पुग्ने र बाहिरिने टोलीको टुंगो यसअघि नै लागिसकेको छ । त्यसैले बिहीबार राति हुने खेलमा इङ्ल्यान्ड र बेल्जियमले समूह विजेता बन्नका लागि प्रतिस्पर्धा गर्दा सोही समय ट्युनिसिया र पानामा पहिलो अंकका लागि एकअर्काविरुद्ध ओर्लने छन् । 

अघिल्लो दुईमध्ये दुवै खेलमा जित हात पारेको इङ्ल्यान्ड र बेल्जियमको समान ६ अंक छ । यी दुई टोलीले समूहगत चरणको अघिल्लो दुई खेलमा विपक्षीविरुद्ध गरेको र बेहोरेको गोल संख्या पनि समान छन् ।

त्यसैले बिहीबार हुने खेलले मात्र इङ्ल्यान्ड र बेल्जियममध्ये समूह विजेता र उपविजेता टोलीको टुंगो लगाउनेछ । इङ्ल्यान्डले आफ्नो पहिलो खेलमा ट्युनिसियालाई २-१ र दोस्रो खेलमा पानामालाई ६-१ गोलले पराजित गरेको थियो । बेल्जियमले भने पहिलो खेलमा पानामालाई ३-० र ट्युनिसियालाई ५-२ गोलले पाखा लगाएको थियो ।

 समूहमा पहिलो पटक विश्वकप खेलिरहेको पानामा र ट्युनिसिया तुलनात्मक रुपमा कमजोर देखिएकाले इङ्ल्यान्ड र बेल्जियमबीचको खेल दुबै टोलीका लागि आफ्नो क्षमता जाँच्ने महत्वपूर्ण अवसर पनि हुनेछ ।

विश्वकपमा यसअघि यी दुई टोलीबीच भएको प्रतिस्पर्धाको नतिजाले भने इङ्ल्यान्डलाई नै बलियो देखाएको छ । विश्वकपमा हालसम्म दुई पटक प्रतिस्पर्धा गर्दा इङ्ल्यान्ड अपराजित छ । एक खेलमा इङ्ल्यान्ड विजयी भएको छ भने अर्काे खेल बराबरीमा टुंगिएको छ।

यसैगरी अघिल्लो दुईमध्ये दुबै खेलमा पराजय बेहोरेका ट्युनिसिया र पानामाका लागि पनि बिहीबारको खेल जितसहित विश्वकप यात्रा सुखद् रुपमा टुंग्याउने गतिलो अवसर हो ।

जित वा बराबरीको नतिजा पानामाका लागि अझ विशेष हुने पक्का छ । पहिलो पटक विश्वकपका लागि छनोट भएको पानामाले आफ्नो अघिल्लो दुईमध्ये इङ्ल्यान्डविरुद्ध दुई गोल गरे पनि जित सम्भव भएको थिएन । त्यसका लागि यो खेल पानामालाई अन्तिम अवसर हुनेछ ।

प्रभाव पार्न सक्ने खेलाडी 

जेसी लिनगार्ड (इङ्ल्यान्ड)

युवा खेलाडी जेसी लिनगार्ड रुस विश्वकपमा इङ्लिस टोलीका महŒवपूर्ण खेलाडी हुन् । घरेलु क्लब म्यानचेस्टर युनाइटेडको एकेडेमीमा हुर्किएका लिनगार्ड क्षमतावान् खेलाडी हुन् । उनी अन्य स्ट्राइकरलाई अवसर सिर्जना गर्न र आफैं गोल गर्न पनि सक्षम छन् । इङ्ल्यान्डले जारी विश्वकपमा पानामाविरुद्धको खेलमा ६–१ गोलको जित निकाल्दा लिनगार्डले पनि एक गोल गरेका थिए ।

मिडफिल्डमा विपक्षी रक्षकलाई झुक्याएर बल अगाडि बढाउन माहिर लिनगार्डसँग युरोपकै ठूलामध्ये इङ्लिस प्रिमियर लिगबाट उच्चस्तरको प्रतियोगिता खेलेको अनुभव छ । २५ वर्षीय लिनगार्ड जोसे मोउरिन्होले प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि म्यानचेस्टर युनाइटेडको नियमित र महŒवपूर्ण खेलाडी रहँदै आइरहेका छन् । क्लब फुटबलमा गरेको सशक्त प्रदर्शनसँगै उनले राष्ट्रिय टोलीमा पनि गतिलो स्थान बनाएका छन् ।

त्यसो त उनले इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटलाई उमेरसमूहको प्रतिस्पर्धाबाटै प्रभावित पारिसकेका थिए । इङ्लिस टोलीको मुख्य प्रशिक्षक नियुक्त हुनु अघि गाउथगेट इङ्ल्यान्डको यू–२१ टोलीका प्रशिक्षक थिए । सोही समयदेखि नै लिनगार्ड साउथगेटको महŒवपूर्ण खेलाडी थिए । सन् २०१६ को अक्टोबरमा माल्टासँगको खेलमा इङ्लिस टोलीबाट डेब्यु गरेका उनी त्यसयता नियमित सदस्य रहँदै आएका छन् ।

हालसम्म राष्ट्रिय टोलीबाट १४ खेल खेलेका लिनगार्डले दुई गोल पनि गरिसकेका छन् । समूहगत चरणमा सशक्त प्रदर्शन गर्दै इङ्ल्यान्डले यस पटक उपाधिकै दाबेदारी प्रस्तुत गरिरहँदा टोलीको यो अभियानमा लिन्गार्डको भूमिका अझ महŒवपूर्ण रहने विश्वास गरिएको छ ।

मारिउन फेलानी (बेल्जियम)

म्यानचेस्टर युनाइटेडकै खेलाडी मारिउन फेलानी पनि आफ्नो टोली बेल्जियमका महत्वपूर्ण खेलाडी हुन् । शरीरको उचाइ, खेल्ने शैली र कुनै पनि पोजिसनबाट खेल्न सक्ने क्षमताका कारण फेलानी क्लब र राष्ट्रिय टोलीमा सधैं चर्चामा रहँदै आएका छन् । विशेषगरी मिडफिल्डबाट खेल्ने फेलानी अन्य पोजिसनबाट खेल्न पनि उत्तिकै सक्षम छन् । उनी ती पोजिसनबाट गोलको अवसर सिर्जना गर्न र आफैंले पनि गोल गर्न सक्छन् ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा आफ्नो टोलीका लागि आवश्यक परेको समयमा गोल गर्दै अघि बढाएका फेलानीले रुस विश्वकपमा भने त्यो प्रदर्शनलाई दोहोर्‍याउन बाँकी नै छ । लामो समय इङ्ल्यान्डको एभर्टन र म्यानचेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेलेका उनी टोलीका अनुभवी खेलाडी पनि हुन् । उनको त्यही क्षमता, अनुभव र मेहनत रुस विश्वकपमा बेल्जियलाई उपाधिसम्म डोहोर्‍याउन महत्वपूर्ण सावित हुने विश्वास गरिएको छ ।

बेल्जियम सदाबहार राम्रो टोली भए पनि विश्वकप फुटबलमा भने सधंै उपाधिसम्म पुग्नुअघि नै बाहिरिने गरेको छ । यस पटक पनि बेल्जियमले समूहगत चरणको खेलसम्म सशक्त प्रदर्शन गरेको छ । यो टोलीलाई पहिलो पटक विश्वकपको उपाधि दिलाउने अभियान सफल बनाउन फेलानीले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने अनुमान गरिएको छ । बेल्जियमको राष्ट्रिय टोलीबाट ८३ खेल खेलिसकेका ३० वर्षीय फेलानीले हालसम्म १७ गोल गरेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.