जीप दुर्घटनाका पाँच घाइतेलाई नेपालगञ्ज पठाइयो
बाजुरा : बाजुराको त्रिवेणी नगरपालिका-४ पिपलसैनमा बुधबार राति ७:४५ मा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका पाँचजनालाई बयालपाटा लगिएकोमा त्यहाँको अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ।
दुर्घटनामा परी घटनास्थलमा नै सोही नगरपालिकाका वडाध्यक्षसहित दुईजनाको मृत्यु भइसकेको छ ।बूढीगंगा नगरपालिकाको बाम्का बजारबाट छतारा जाँदै गरेको से १ ज ९९९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ।जीप सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।
दुर्घटनामा परी गम्भीर घाइते भएका त्रिवेणी नगरपालिका-३ बस्ने वीरबहादुर शाही र टेकेन्द्र शाही, १ नं वडाका घनश्याम बूढा र रिनारी नेपाली र जीप चालक चन्द्रमणी मोहनीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको अस्पतालले बताएको छ।
उनीहरुको टाउको, ढाड र छातीमा गहिरो चोट लागेकाले बयालपाटा अस्पतालमा उपचार सम्भव नभएपछि रिफर गरिएको बताइएको छ।दुर्घटनामा घाइते भएका पाँचजनालाई सामान्य उपचारपछि घर फर्काइएको अस्पतालले जनाएको छ।गम्भीर घाइतेमध्ये पाँचजना खतरामा रहेको अस्पतालले जानकारी दिएको छ।
जीपमा चालकसहित सातजना सवार थिए। घाइतेलाई उपचारका लागि बयालपाटा अस्पताल, अछाम लगिएको थियो। घटनाको जानकारी लिन प्रहरी नायब उपरीक्षक सागर बोहरासहितको टोली पुगी दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको बताइएको छ।
दुर्घटनामा मृत्यु भएका वडाध्यक्ष खम्म नेपाली र लालसरा बूढाको शव परीक्षणका लागि सदरमुकाम मार्तडीमा ल्याइने प्रहरी नायब उपरीक्षक बोहराले बताए।
चिप्लो र उकालो सडक भएकाले जीप पछाडि चिप्लिएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।रासस