एसईईमा एउटै विद्यार्थीका तीन नतिजा
भैरहवा : एसईई नतिजा प्रकाशनमा परिक्षा नियन्त्रण कार्यालयको त्रुटिले एउटै विद्यार्थीको तीन फरक नतिजा आएको छ। कार्यालयले ग्रेडसिट नतिजा प्रकाशन गरेदेखि फरक-फरक दिन फरक नतिजा वेवसाइटमा प्रकाशित हुदै आएको हो। भैरहवाको बुद्ध ज्योती माविमा अध्यनरत प्रतिक कुमार मल्लिकको सिम्बोल नम्बर ०४८१९१६ एफ को नतिजा तीन पटक फेरबदल हुदाँ उनी निराश भएका छन्।
असार १० गते हेरिएको ग्रेडसिटमा नतिजामा उनले ग्रेड बी र २ दशमलव ६० जीपीए प्राप्त गरे। त्यसपछि परिक्षा बोर्डले प्रकाशन भएको नतिजामा त्रुटी भएको भन्दै गल्ती स्विकारेर वेवासाइटमा अर्को नतिजा राखेको थियो। त्यसपछि असार ११ गते नतिजा जाँच गर्दा पहिलो दिन प्रकाशित भएको नतिजा भन्दा अनिवार्य अंग्रेजी र अनिवार्य स्वास्थ्यमा ग्रेड र ग्रेड प्वाइन्ट बढेर आयो र उनको जीपीए २ दशमलव ६५ पुग्यो।
नतिजा हेरेर उनी हर्षित भए। तर उनको खुशी २४ घण्टा सम्म पनि टिक्न सकेन। उनले पुन आफ्नो नतिजा जाँच गर्दा १२ गते वेवासाइटमा राखिएको नतिजा भन्दा फरक पाए। १२ गते वेवसाइटमा राखिएको नतिजामा अनिवार्य गणित विषयमा ग्रेड सि र ग्रेड प्वाइन्ट २ दशमलव सुन्य थियो। तर १३ गते नतिजा जाँच गर्दा अनिवार्य गणित विषयमा घटेर ग्रेड ई र ग्रेड प्वाइन्ट सुन्य दशमलव ८ देखायो तर उनको जीपीए पनि घट्नु पर्नेमा २ दशमलव ६५ नै रह्यो।
उनको ३ पटक प्रकाशित भएको तीन वटै नतिजामा विषयगत ग्रेड, ग्रेड प्वाइन्ट र जीपीएमा फेरबदल भएको छ। ‘३ वटा प्रकाशित भएको नतिजामध्ये कसलाई सही मान्ने ? विद्यार्थी मल्लिकले प्रश्न गरे। उनले असार १७ गते कलेजमा भर्नाका लागि इन्ट्रान्स परिक्षा रहेको र उक्त कलेजमा भर्नाका लागि कुन ग्रेडसिट लिएर जाने भन्ने विषयमा अन्यौलमा परेको बताए।