अबुधाबीमा सुतेको सुत्यै अस्ताए गोरखाका टोपबहादुर
गोरखा (अन्नपूर्ण): वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्सको अबुधाबी गएका भीमसेन थापा गाउँपालिका ६ अश्राङ रीपका ३१ वर्षीय टोपबहादुर आले मगरको मृत्यु भएको छ । काम सकेर राति सुतेका आले बिहान मृत भेटिएको त्यहीँ काम गर्ने विनोद श्रेष्ठले जानकारी दिए ।
‘गत मंगलबार काम सकेर खाना खाएर सुतेका बिहान टोपबहादुर अबेरसम्म पनि नउठेपछि साथीहरूले उठाउन खोज्दा उनको मृत्यु भइसकेको रहेछ’, श्रेष्ठले भने, ‘मृत्युको कारण खुल्न सकेको छैन ।’ उनको शव पोस्टमार्टमका लागि अबुधाबीको खलिफा हस्पिटलमा राखिएको श्रेष्ठले बताए ।
आलेको शवलाई नेपाल पठाउन आइतबारदेखि प्रक्रिया अघि बढाइने युएईका लागि नेपाली कार्यवहाक राजदूत सागर फुयाललाई उद्धृत गर्दै श्रेष्ठले जानकारी दिए । आलेले ६ वर्ष अघिदेखि अबुधावीमा काम गर्दै आएका थिए । अबुधावीस्थित अल ड्राफा फुटबल क्लबमा रहेको जिम हलमा कोचको रूपमा काम गर्ने उनले बताए । टोपबहादुरको श्रीमती र १ छोरी छन् ।