इरानबाट तेल आयात कम गर्दै भारत
नयाँदिल्ली : भारतीय तेल मन्त्रालयले इरानबाट आयात गरिने पेट्रोलियम पदार्थ आयात कम गर्ने भएको छ। आगामी नोभेम्बर महिनादेखि इरानी पेट्रोलियम पदार्थको आयात घटाउन पेट्रोलियम प्रशोधन कम्पनीहरूलाई निर्देशन दिएको छ।
यसलाई अमेरिकाद्वारा इरानमाथि लगाइएको प्रतिबन्धको असर भएको अनुमान गरिएको छ। भारत सरकारले भने अमेरिकाद्वारा लगाइएको नाकाबन्दी आफूले पालन नगर्ने स्पष्ट पारेको छ। संयुक्त राष्ट्रसंघको नाकाबन्दी मात्र पालना गरिने उसको भनाइ छ। अमेरिकाले इरानबाट तेल आयात नगर्न सबैलाई आह्वान गर्दै आएको छ।
इरानबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात गर्ने मुलुक चीन हो र दोस्रोमा भारत पर्छ। भारतीय तेल मन्त्रालयले बिहीबार तेल प्रशोधक कम्पनीहरूसँग छलफल पनि गरेको थियो। छलफलका क्रममा इरानबाट आयात गरिने तेलको विकल्प खोज्न पनि सरकारले आदेश दिएको छ। यो आदेशबाट तेल प्रशोधक कम्पनीले कम्पनी बन्द गर्नुको विकल्प नभएको बताएका छन्। यसअघि भारतले इरानबाट कहिले पनि तेल आयात बन्द गरेको थिएन।
अमेरिकी विदेश मन्त्रालयले इरानबाट तेल आयात गर्ने मुलुकको उत्पादन नकिन्ने चेतावनी दिएको छ। यसैगरी संयुक्त राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि निक्की हेलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इरानमाथिको तेलको निर्भरता कम गर्न आग्रह गरेकी छन्। हेली हाल भारत भ्रमणमा छन्। मोदीसँग आग्रह गर्नुपूर्व उनले अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसँग कुराकानी गरेकी थिइन्।