बेलायती महारानी नेपाल आउँदा चढेका हौदा अलपत्र

बेलायती महारानी नेपाल आउँदा चढेका हौदा अलपत्र

मकवानपुर(भीमफेदी) : राणाकालमा चितवनमा बेलायती राजा रानीलगायत विदेशी पाहुना हात्तीमा बसेर सिकार खेल्ने गरेको इतिहासमा उल्लेख पाइन्छ। विदेशी राजा महाराजालगायत पाहुनाहरू बसेर सिकार खेलेका हात्तीका हौदाको अहिले संरक्षण नहुँदा त्यसै मिल्किएका छन्। मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीस्थित हौदा संग्रहालयमा रहेका हौदालगायत विभिन्न ऐतिहासिक सामग्री संरक्षणको पर्खाइमा छन्।

संग्रहालयमा सन् १९५२ मा बेलायती महारानी एलिजाबेथ र जंगबहादुर राणाले सिकार खेल्न प्रयोग गरेका हौदाहरू छन्। राजा महेन्द्रको निमन्त्रणामा नेपाल आएकी महारानी एलिजाबेथ द्वितियले अहिले संग्रहालयमा रहेका सिकारी हौदा कसिएका हात्ती चढेर चितवन राष्ट्रिय निकुञ्जमा बाघ र गैंडाको सिकार गरेका थिए। ‘संग्रहालयमा महारानी एलिजाबेथले प्रयोग गरेका ४ वटा सिकारी हौदा र जंगबहादुरले प्रयोग गरेका पिँजडा हौदा छन्’, संग्रहालयका हेरालु भरतसिं लामाले भने।

ती हौदाबाहेक संग्रहालयमा अरु ३७ वटा हौदा, विशिष्ट व्यक्ति हात्तीमा बस्ने २२ वटा छालाका काठी, हात्ती चढ्न हौदामुनि राखिने १५ वटा खरगदा रहेको जानकारी उनले दिए।

२०४५ सालसम्म राजपरिवारले सिकार खेल्न यहाँबाट हौदालगायत सामग्रीहरू लैजाने गरेको भीमफेदी गाउँपालिका–६ का वडाध्यक्ष सिताराम थापाले जानकारी दिए। ‘बहुदल आएपछि भने राजपरिवारले यहाँका हौदालगायत सामग्रीहरू प्रयोग गर्न छाड्यो’, उनले भने, ‘पूर्वराजा तथा राजपरिवारका सदस्यहरू चितवन, कोसी, शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुन्जमा यहाँबाट हौदा लिएर सिकार खेल्न जान्थे।’ संग्रहालयमा रहेका ऐतिहासिक सामग्री संरक्षण गरी पर्यटकीय स्थलमा विकास गर्न पहल भइरहेको उनले बताए।

३२ रोपनी जग्गामा फैलिएको संग्रहालय चितवन राष्ट्रिय निकुञ्जमातहत छ। तर राजपरिवारले हौदालगायत सामग्री प्रयोग गर्न छाडेपछि निकुञ्जले संग्रहालय बेवारिसे छाडेको हो। ‘मैले ३१ वर्ष गेम स्काउटका रूपमा निकुञ्जमा काम गरेँ, २०६५ सालदेखि म हेरालुका रूपमा यहाँ बसिरहेको छु’, हेरालु लामाले भने, ‘तर अहिलेसम्म कुनै तलबभत्ता लगायत कुनै सुविधा पाएको छैन। निकुन्जले चासो नै दिँदैन।’

पर्यटकीय स्थलमा विकास गर्न आगामी आर्थिक वर्षदेखि गुरुयोजना बनाएर काम गर्ने भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए। ‘यसको संरक्षण र प्रचार हुन नसक्दा हामीसँग रहेको अमूल्य सम्पत्ति उपयोग गर्न सकेका छैनौं’, उनले भने, ‘अब हामी यसलाई भीमफेदीको प्रमुख पर्यटकीय स्थलमा विकास गर्न लागिपरेका छौं।’ लामो समय तराईलाई राजधानी काठमाडौंसँग जोड्ने मुख्य नाका भीमफेदी मकवानपुरको सदरमुकाम हुँदासम्म छुट्टै चहलपहल थियो 

‘अब पुरानो महत्व र चहलपहल फर्काउन नसके पनि यसलाई पर्यटकीय हबमा विकास गर्न सकिन्छ’, गाउँपालिका उपाध्यक्ष पार्वती रानाले भनिन्, ‘त्यसका लागि हौदा संग्रहालयको संरक्षण र प्रचार हाम्रो पहिलो प्राथमिकतामा छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.