सडक निर्माणका शिक्षा

सडक निर्माणका शिक्षा

आर्थिक वर्ष अन्त्य हुने सँघारमा पुगेर सरकारले काठमाडौंका सडक विस्तारका लागि तोकिएको हद म्याद लम्ब्याउने निर्णय गरेको छ । समयमा सडक विस्तार नसकिँदा दिनहुँ सास्ती खेपिरहेका आम जनताले सरकारको यो निर्णयपछि निरास र आक्रोशित हुन पुगेका छन् । देशको राजधानी सहरका सडक नै पानी पर्दा पोखरी, नपर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने भएपछि अन्य ठाउँको सडक सुविधा कस्तो होला ? विडम्बना, काठमाडौं उपत्यकामा चक्रपथ विस्तार र अन्य सडकमा थप निर्माणका कार्यक्रम सुरु भएदेखि नै आम नागरिक दिनहुँ हिलो र धुलोमा बाँच्न बाध्य छन् ।

 निर्माणाधीन सडकहरू सडक दुर्घटनाको थप कारण बनिरहेका छन् । यस्तो अवस्थामा सरकारले सडक निर्माणलाई द्रूत बनाउनुको साटो निर्माण अवधिको हदम्याद लम्याइदिनु सन्तोषजनक होइन ।

सरकारले काठमाडौं उपत्यका सडक विस्तार आयोजनाबाट काम भएका विभिन्न सडकका १० वटा प्याकेजको एक वर्ष समय थप गरेको हो । उक्त प्याकेजभित्र त्रिपुरेश्वर-कलंकी-नागढुंगा, चाबहिल-जोरपाटी-साँखु, लगनखेल-सातदोबाटोलगायतका सडक खण्ड छन् । यी सबै सडकखण्ड अत्यधिक चाप हुने सडकखण्ड हुन् । त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडकखण्ड त राजधानी भित्रिने प्रमुख नाका हो । यो सडकखण्ड निर्माण समयमा नसकिँदा अहिले काठमाडौं प्रवेश गर्ने र यहाँबाट निस्कने यात्रु घन्टौं जाममा फस्ने गरेका छन् । आम नागरिक घन्टौं सडकजाममा अल्झिँदा सरकारको कुनै भूमिका हुँदैन ?

सडक जामकै कारण अहिले प्राय: मानिस दुईपांग्रे सवारी साधनको भर पर्न थालेका छन् । सार्वजनिक यातायातभन्दा दुईपांग्रे सवारी साधन प्रयोग गर्नेको संख्या बढ्दै जाँदा सडकमा सवारी साधनको चाप पनि बढेको छ ।

सरकारी अधिकारीहरूले हदम्याद लम्ब्याउनुका केही कारण पनि उल्लेख गरेका छन्, जसलाई ध्यान दिँदा हाम्रो सिंगो सडक विस्तार नीति कति हेलचेक््रयाइँका साथ सुरु गरिएको रहेछ भन्ने देखिन्छ । समयमा सडक विस्तार हुन नसक्नुको प्रमुख कारणहरूमा चक्रपथ विस्तारका क्रममा देखापरेका विवाद, अदालतको आदेश र मुआब्जा पनि हुन् । यी विषय कुनै पनि सडक निर्माण र विस्तार कार्य थाल्नुपूर्व नै टुंग्याउनुपर्ने हो । तर चक्रपथ विस्तार योजनामा लागेको सरकारले त्यो योजना लागू गर्दा आइपर्ने समस्याको अन्दाज लगाउन सकेन ।

त्यसको मुख्य कारण थियो, स्थानीय सांस्कृतिक-सामाजिक मूल्यको ज्ञान नहुनु वा त्यसको ज्ञान भए पनि बेवास्ता गरिनु । जब सडक विस्तारका लागि डोजरहरू वर्षौं पुराना मठमन्दिर, चौपारी, सत्तल भत्काउन पुगे, तब स्थानीय वासिन्दा विरोधमा उत्रिए । अदालतमा मुद्दा पर्‍यो । अहिले आएर सरकारी अधिकारीहरू अदालतको आदेशलाई ढिलाइको कारण साबित गर्न खोज्दैछन् । वास्तवमा ती मानवीय पक्षलाई ध्यान नदिई योजना बनाउनेहरू नै यसको प्रमुख दोषी हुन् । मुआब्जाको अधिकार र सांस्कृतिक सम्पदा संरक्षणको अधिकार उठाउने आम नागरिकलाई दोषी करार गर्न मिल्दैन, पाइँदैन ।

त्यस्तै सरकारी अधिकारीहरूले डिजाइन र साइट क्लियर नहुनुलाई पनि ढिलाइको कारण बताएका छन् । के सडकको डिजाइन निर्माण कार्य थाल्नुअघि नै गरिनुपर्ने होइन र ? यी सबै परिदृश्यले सरकारले हचुवा ढंगमा, विना पूर्वतयारी उपत्यकामा सडक विस्तार थालेको साबित हुन्छ, जसको दुष्परिणाम आम नगरवासी दिनहुँ भोग्न विवश छन् । सडक निर्माण केवल बाटो निर्माण मात्र होइन, यो सभ्यता र संस्कृतिसँग पनि जोडिन्छ । काठमाडौंको सडक निर्माणको समस्याबाट सरकारले शिक्षा लिन जरुरी छ । साथसाथै सबै निर्माण कार्य छिटो टुंग्याउन र विवाद समाधान गर्न जवाफदेही ढंगले सरकार जिम्मेवार हुनुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.