रूस विश्वकपमा आत्मघाती गोलको कीर्तिमान
मस्को : हरेक विश्वकपमा केही पुराना कीर्तिमान तोडिन्छन् र केही नयाँ कीर्तिमान बन्छन्। यो स्वाभाविक प्रक्रियाले हाल रुसमा जारी २१औं विश्वकपमा पनि निरन्तरता पाएको छ। जारी विश्वकपमा समूहगत चरणको खेल सकिनुअघि नै एउटा निराशाजनक कीर्तिमान बनिसकेको छ। समूह ‘एच’ मा रहेका टोलीले आफ्नो एक÷एक खेल खेल्न बाँकी रहँदा जारी विश्वकपमा आत्मघाती गोलको नयाँ कीर्तिमान बनेको छ।
जारी विश्वकपमा हालसम्म आठवटा आत्मघाती गोल भइसकेका छन्। यो एउटै विश्वकपमा भएको सबैभन्दा बढी आत्मघाती गोल हो। यसअघि सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा ६ वटा आत्मघाती गोलको कीर्तिमान बनेको थियो। जारी विश्वकपमा बुधबार एकै दिन दुईवटा आत्मघाती गोल भयो। बुधबार मेक्सिको र स्विडेनबीच भएको खेलको ७४औं मिनेटमा मेक्सिकोका एडसन अल्भारेजबाट आत्मघाती गोल भएको थियो। जारी विश्वकपमा भएको यो सातौं आत्मघाती गोल थियो। अल्भारेजको यही आत्मघाती गोलले सन् १९९८ को कीर्तिमान ताडेको हो। उक्त खेलमा स्विडेन ३-० गोलले विजयी भएको थियो।
यसैगरी बुधबार राति नै भएको स्विट्जरल्यान्ड र कोस्टा रिकाबीचको खेलमा पनि आत्मघाती गोल हुन पुग्यो। उक्त खेलको इन्जुरी समयको तेस्रो मिनेटमा स्विट्जरल्यान्डका यान सोमरबाट आत्मघाती गोल भएको थियो। जारी विश्वकपमा भएको यो आठौं आत्मघाती गोल थियो। सो खेल २-२ गोलको बराबरीमा सकिएको थियो।
विश्वकप फुटबलमा हालसम्म कूल ४८ वटा आत्मघाती गोल भएको छ, जसमध्ये ३८ वटा गोल समूहगत चरणमै भएको छ। जारी विश्वकपमा भने पहिलो आत्मघाती गोल मोरक्कोका आजिज बुहादोउजबाट भएको थियो। प्रतियोगिताको दोस्रो दिन असार १ गते खेलिएको समूह ‘बी’ अन्तर्गतको उक्त खेलमा मोरक्कोबाट आत्मघाती गाल भएपछि इरान १-० ले विजयी भएको थियो।
यसैगरी असार २ गते समूह ‘सी’ अन्तर्गत अस्ट्रेलिया र फ्रान्सबीच खेलिएको खेलमा पनि अस्ट्रेलियाका अजिज बेहिचबाट आत्मघाती गोल भएको थियो। सोही आत्मघाती गोलका कारण उक्त खेलमा फ्रान्स २-१ ले विजयी बनेको थियो। नाइजेरिया र क्रोएसियाबीच असार २ गते नै खेलिएको समूह ‘डी’ अन्तर्गतको खेलमा नाइजेरियाका इटेबोबाट आत्मघाती गोल भएको थियो। उक्त खेलमा क्रोएसिया २-० गोलले विजयी भएको थियो।
यसैगरी समूह ‘एच’ अन्तर्गत पोल्यान्ड र सेनेगलबीच खेलिएको खेलमा चौथो आत्मघाती गोल भयो। असार ५ गते खेलिएको उक्त खेलमा पोल्यान्डका थिआगो सियोनेकबाट आत्मघाती गोल भएपछि सेनेगलले २-१ को जित हासिल गरेको थियो। समूह ‘ए’ अन्तर्गत असार ५ गते नै खेलिएको आयोजक रुस र इजिप्टबीचको खेलमा इजिप्टका अहमद फाथीबाट जारी विश्वकपमा पाँचौं आत्मघाती गोल भएको थियो। उक्त खेलमा रुस ३-१ गोलले विजयी भएको थियो।
समूह ‘ए’ अन्तर्गत नै असार ११ गते रुस र उरुग्वेबीच भएको खेलमा पनि रुसी खेलाडी डेनिस चेरिसेभबाट आत्मघाती गोल हुन पुग्यो। जारी विश्वकपमा भएको यो छैटौं आत्मघाती गोल थियो। उक्त खेलमा उरुग्वेले आयोजक रुसलाई ३-० गोलले हराएकोे थियो। सोे समूहबाट उरुग्वे विजेता र रुस उपविजेताका रुसमा नकआउट चरणमा पुगेका छन्।