प्रशिक्षक : जो रूस विश्वकपमा चर्चामा रहे

प्रशिक्षक : जो रूस विश्वकपमा चर्चामा रहे

जोचिम लोय (जर्मनी)

चार वर्षअघि जर्मनीलाई विश्वकप जिताउँदा प्रशिक्षक जोचिम लोय चर्चाको शिखरमा थिए। यसपटक पनि ५८ वर्षीय लोय चर्चामै रहे। फरक यत्ति हो, यसपटक साविक विजेता लोयको जर्मनी समूहगत चरणबाटै बाहिरिएपछि उनको नकारात्मक चर्चा बढी भयो। विश्वकपअघि जर्मनीले उपाधि नै जित्ने अनुमानसहित नायक बनाइएका लोय उनको टोली पहिलो चरणबाटै बाहिरिएपछि एकाएक खराब रूपमा चित्रित हुन पुगे।

खेलाडी छनोट र मैदानमा खेलाउने रणनीतिमा उनी चुकेको गुनासो अहिले घरभित्र र बाहिर पनि व्यापक छ। लोय आफैंले पनि साविक विजेताको हैसियतमा विश्वकपमा जर्मनीको जुन उपस्थिति हुनुपर्ने थियो, त्यो फिटिक्कै नभएको स्वीकार गरेका छन्। ‘विश्वकप सुरु हुनुअघि टोलीमा देखिएको जोश मैदानमा पुगेपछि एकाएक सेलायो। मैदानमा हामीले आफ्नो लय पूरै गुमायौं। त्यसैले हामी विश्वकपको समूहगत चरणबाटै बाहिरियौं। वास्तवमै हामी समूहगत चरणबाटै बाहिरिन लायक थियौं पनि’, उनले भनेका छन्।

लोयले विश्वकपको उपाधि रक्षा गर्ने लक्ष्यका साथ रुस आएको जर्मनीले समूहगत चरणको अन्तिम खेलमा समेत निराशाजनक प्रदर्शन गर्नु दुःखद भएको बताए। ‘दक्षिण कोरियालाई हेपेर खेल्दा नसोचेको नजिता भोग्नु पर्‍यो। इन्जुरी समयमा दुई गोल खाएप्छि बोल्ने ठाउँ केही बाँकी रहेन। भीएआरमा समेत देखिएको पहिलो अफसाइड गोललाई रेफ्रीले सदर गर्नु र गोलरक्षक पोस्ट छाडेर अगाडि बढ्नु हाम्रा लागि दुर्भाग्य बन्यो’, उनले भने।

‘विश्वकप यात्रा सकिएपछि म झनै तनावमा छु। मेरो मनभित्र कति पीडा छ भन्ने कुरा मलाई मात्र थाहा छ’, उनले भनेका छन्। लोयलाई जर्मनीले सन् २०२२ सम्मका लागि प्रशिक्षकमा नियुक्त गरेको छ। विश्वकपपछि जर्मनीमा आफ्नो भविष्य के हुने भन्ने विषयमा भने उनी मौन छन्।

जर्ज साम्पाओली (अर्जेन्टिना)

छनोट चरणदेखि नै अप्ठ्यारो स्थितिमा अप्रत्याशित नतिजा निकाल्दै अर्जेन्टिनाले रुस विश्वकपमा प्रवेश पाएको थियो। जारी विश्वकपमा पनि अर्जेन्टिनाको प्रदर्शन अनौठो र नतिजा अप्रत्याशित देखिएको छ। जारी विश्वकपमा सुरुदेखि नै निराशाजनक प्रदर्शन गरे पनि अर्जेन्टिना अन्य टोलीको प्रदर्शनमा समेत भर पर्दै बल्लतल्ल नकआउट चरणमा पुगेको छ।

अर्जेन्टिनाको निराशाजनक प्रदर्शनका कारण यति बेला स्टार खेलाडी लियोनल मेसीसँगै प्रशिक्षक जर्ज साम्पाओली पनि चर्चाको पात्र बनेका छन्। समूह ‘डी’को पहिलो खेलमा अर्जेन्टिनाले खराब नतिजा निकालेपछि सबैभन्दा पहिले ५८ वर्षीय साम्पाओली नै आलोचनाको पात्र बने। पहिलो खेलमा कमजोर आइसल्यान्डसँग १-१ को बराबरी र दोस्रो खेलमा क्रोएसियासँग ३-० गोलले हारेपछि साम्पाओलीलाई अर्जेन्टिनाले बर्खास्त गर्नसक्ने समाचारसमेत बाहिर आए।

उनले सुरुदेखि नै टोलीमा प्रभावशाली खेलाडीलाई नराखेको आरोप थियो। मैदानमा अर्जेन्टिनाको खराब खेलपछि साम्पाओलीमाथि खेलाडीसमेत खनिए। महान् खेलाडी डिएगो म्याराडोनाले पनि साम्पाओलीले खेलाडीलाई गतिलो प्रशिक्षण नै नगराएको आरोपसमेत लगाए। म्याराडोनाले नाइजेरियाविरुद्धको खेलअघि आफूले खेलाडीसँग मिटिङ गर्न पाउनुपर्ने मागसम्म राखे।

यसैगरी समूहगत चरणको अन्तिम खेलमा खेलाडी छनोट र खेलाडी परिवर्तनको जिम्मासमेत कप्तान मेसीलाई दिइएको समाचार पनि आए। त्यसपछि साम्पाओलीको तनाव झनै चुलियो। म्याराडोनाले त यस्तै निराशाजनक प्रदर्शन रहने हो भने साम्पाओलीले अर्जेन्टिना फर्कने वातावरणसमेत बन्न नसक्ने धम्की पनि दिन भ्याए। रुस विश्वकपलाई लक्षित गरी एक वर्षअघि अर्जेन्टिनाका प्रशिक्षक बनाइएका साम्पाओलीको विश्वककप पछिको भविष्य भने अन्योल देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.