स्टेडियम बाहिरको विश्वकप

स्टेडियम बाहिरको विश्वकप

सारा विश्व नै अहिले फुटबलमय बनेको छ । विश्वकप फुटबल सुरु भएको ८८ वर्षपछि रुसमा आयोजना भइरहेको विश्वकपमा संसारको ध्यान आकृष्ट भएको छ । विश्वकप फुटबलको २१औं संस्करणमा ३२ राष्ट्रको घम्साघम्सी चलिरहेको छ । जुलाई १५ सम्म चल्ने विश्वकपमा कुल ६४ खेल हुँदैछ ।

विश्वकपमा युरोपबाट १४, एसियाबाट पाँच, अफ्रिकाबाट पाँच, उत्तर अमेरिकाबाट तीन तथा दक्षिण अमेरिकाबाट पाँच राष्ट्र सहभागी छन् । कुल सात सय ३६ खेलाडी सहभागी छन्, जसमध्ये युरोपियन क्लबबाट व्यावसायिक फुटबल खेल्ने खेलाडीको संख्या पाँच सय ४४ छ । यो कुल खेलाडी संख्याको ७४ प्रतिशत हो । त्यसमा पनि विश्वकप खेल्न रुस पुगेका ३२ राष्ट्रमध्ये इङ्ल्यान्ड मात्र त्यस्तो टोली हो, जसका सबै खेलाडीले आफ्नै देशको इङ्लिस प्रिमियर लिग खेल्छन् । यसैगरी रुसी टोलीमा रहेका २३ मध्ये २१ जनाले आफ्नै देशको घरेलु लिग खेल्छन् । यस्तै सेनेगल र स्विडेन मात्र त्यस्तो टोली हो, जसका राष्ट्रिय टोलीमा अटाएका खेलाडी कसैले पनि मुलुकमा व्यावसायिक फुटबल खेल्दैनन् ।

विश्वकपको २१औं संस्करणसम्म आइपुग्दा जम्मा आठवटा देशले मात्र उपाधि जितेका छन् । विश्वकपको उपाधि होडसँगै पुरस्कार राशिको चर्चासमेत उत्तिकै छ । कुल ४० करोड अमेरिकी डलर पुरस्कार राशि रहेको विश्वकप विजेताले तीन करोड ८० लाख डलर (करिब चार अर्ब नेपाली रुपैयाँ) पुरस्कार पाउनेछन् । यो पुरस्कार राशि चार वर्षअघि ब्राजिलमा भएको २०औं संस्करणभन्दा १२ प्रतिशतले बढी हो । विश्वकप उपविजेताले दुई करोड ८० लाख अमेरिकी डलर पुरस्कार हात पार्नेछन् ।

यससँगै मैदानभित्र खेलाडीको प्रदर्शन, गोल, कार्ड र ट्रफीको चर्चाले संसार तताइरहेको अवस्थामा स्टेडियम बाहिर पनि थुप्रै आश्चर्यजनक घटना भइरहेका हुन्छन् । विश्वकप फुटबलको २१औं संस्करणमा स्टेडियम बाहिर घटेका केही आश्चर्यजनक तथा रोचक प्रसँग ।

छोरी भेट्न निजी विमानमा घर

विश्वकपमा सहभागी डेनमार्कका एक खेलाडी निजी विमान चढेर आफ्नो घर पुगेका छन् । डेनमार्कका डिफेन्डर जोनास कनुडसेन भर्खरै जन्मिएकी आफ्नी छोरी भेट्न निजी विमानमा घर पुगेका हुन् ।

श्रीमतीले छोरी जन्माउँदा रुस पुगिसकेका जोनासले छोरी जन्मिएको खबर पाएपछि घर जाने अड्डी कसेका थिए । उनलाई पेरुविरुद्धको खेलमा जित हात पारेसँगै प्रशिक्षकले घर फर्कंन अनुमति दिएका थिए ।

‘हामीले मानवीय भावनाको पनि कदर गर्नुपर्छ,’ डेनमार्कका गोलरक्षक कास्पर स्मेइचेलले भने ‘हाम्रो टोलीमा धेरै बुबाहरू छन् । हामी फुटबलर र बुबा पनि हौं ।’ आफ्नो निजी विमानमा घर पुगेका जोनास छोरीलाई हेरेर एक दिनपछि रुस फर्किएका थिए ।

समर्थकको कथा-व्यथा

रुसमा विश्वकप फुटबल सुरु हुनअघि महिनौं दिन लगाएर साइकल र ट्याक्टर चढेर त्यहाँ पुगेका समर्थकको मार्मिक समाचार त आएकै थियो । त्यो चर्चा सेलाउन नपाउँदै विश्वकप हेर्न जागिर छाड्ने र आफ्नो सवारीसाधनसमेत बेच्नेहरूको चर्चा चुलिएको छ । पेरु र पानामाका समर्थक जागिर छाडेर, आफ्नो सवारीसाधन बेचेर र बैंकबाट ऋणसमेत लिएरसमेत रुस पुगेको समाचारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा पाइरहेका छन् ।

 रुसमा जारी विश्वकप हेर्न ८० वर्षीय मानुइलिट्टोसँग मिलेर एडगर १० घन्टा लामो रेलयात्रा र तीनवटा हवाईजहाज चढेर मस्को पुगेका थिए । पानामाका पेड्रो र पेरिटो पनि आफ्नो जागिर छाडेर दुई महिनामा मस्को पुगेका थिए । हवाईजहाज चढ्न पर्याप्त पैसा नभएपछि बाटोमा धेरै हन्डर खाँदै उनीहरू दुई महिनामा रुस पुगेका थिए ।

३६ वर्षपछि विश्वकपमा छनोट भएको पेरुलाई रंगशालामै पुगेर समर्थन गर्न पेरुका कतिपय परिवार नै रुस पुगेका छन् । पहिलो खेलमै टोलीले हार बेहोर्दा दर्शक भएर रुस पुगेका क्रिस्टियन कुएभा निकै चिन्तित थिए । एडगर पनि विश्वकप हेर्न ८० वर्षीय मानुइलिट्टोसँग १० घन्टा लामो रेलयात्रा र तीनवटा हवाईजहाज चढेर मस्को पुगेका थिए । यसैगरी पानामाका पेड्रो र पेरिटो पनि आफ्नो जागिर छाडेर दुई महिनामा मस्को पुगेका थिए । हवाईजहाजमा जान पर्याप्त पैसा नभएपछि बाटोमा धेरै हन्डर खाँदै उनीहरू रुस पुगेका थिए । उनीहरूले स्वदेश फर्कंदा पनि आफूहरूलाई दुई महिना भन्दा बढी समय लाग्ने बताएका छन् ।

पेरिटोका अर्का साथी एलेक्सिस र इटालीका सारान्स साइकल चढेरै मस्को पुगेका थिए । पेरिटो र एडगरले स्टेडियममा बस्दा केही समर्थकले कार बेचेर, कोही घर धितोमा राखेर र कोही जागिर नै छाडेर विश्वकप हेर्न आएको दर्शकका अनुभव सुनाएका थिए ।

समर्थकको आत्महत्या

भारतमा सबैभन्दा लोकप्रिय खेलमा रूपमा मानिन्छ, क्रिकेट । भारतमा विश्वकप फुटबलको लगाव कम छ । तर, विश्वकपकै दौरानमा अर्जेन्टिनाको खराब प्रदर्शनबाट आहात एक भारतीय समर्थकले आत्महत्या गरेका छन् । केरलाका ३० वर्षीय दिनु एलेक्सले स्थानीय मिनाचिल नदीमा हाम फालेर आत्महत्या गरेका । एलेक्सका परिवारका अनुसार, उनी अर्जेन्टिनी कप्तान लियोनल मेसीका फ्यान थिए । अर्जेन्टिना क्रोएसियासँग ३-० गोलले पराजित भएपछि एलेक्सले आत्महत्या गरेका हुन् । खेल हुनुअघि उनले आफ्ना साथीसँग अर्जेन्टिनाले जित्ने ठोकुवा गरेका थिए । तर, जब अर्जेन्टिना पराजित भयो, त्यसपछि एलेक्सले सुसाइड नोट लेख्दै हारले आफू विक्षिप्त भएको र संसार छाड्न चाहेको उल्लेख गरेका थिए ।

बहना विश्वकप

अनेक देशका मानिस फुटबलको मजा उठाउन रुस पुगेका छन् । रुस पुगेकामध्ये अधिकांशको चाहना विश्वकप फुटबल हेर्नमा मात्र सीमित छैन । रुसी महिलासँग मस्ती गर्न पनि उनीहरू रुस पुगेका छन् । धेरैका लागि विश्वकप एउटा बहना मात्र बनेको छ । अर्जेन्टिनाबाट आएका अगुस्टिन ओलेलोले अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग कुराकानी गर्दै भने, ‘म मस्कोमा आफ्नो टोलीको खराव प्रदर्शनको समीक्षा गर्नुभन्दा रुसी महिलासँग सम्बन्ध बढाउनु नै हितकर ठान्छु ।’ २६ वर्षीय यी इन्जिनियरले रुस पुगेको तीन दिनमै चार जना रुसी महिलासँग सम्बन्ध स्थापित गरिसकेको बताए । अर्जेन्टिनाबाट उनीसँगै रुस पुगेका उनका साथीको ध्याउन्न पनि अगुस्टिनको भन्दा फरक छैन । उनीहरूले कसले धेरै रुसी युवतीलाई फकाउन सकिन्छ भनेर बाजी नै राखेका छन् ।

घाटामा बियर उद्योग

विश्वकपमा संसारभरिबाटै रुसमा जम्मा भएका मानिसले खेलको लागि मात्र होइन मोज, मस्ती र मनोरञ्जनमा पनि प्रशस्तै पैसा खर्च गर्छन् भन्ने धेरैको सोच थियो । अन्यझैं बियरको बिक्री पनि राम्रै हुने अनुमान थियो । विश्वकपको ज्वरो बढ्दै जाँदा बार, रेस्टुरेन्ट, बियर गार्डेन र बियर पब्समा मानिसको जमघट निकै बढ्दै गएको छ । तर, रुसको बियर उद्योगमा खासै बढोत्तरी भने भएको छैन । रूसमा पछिल्ला केही वर्षदेखि बियरको खपतमा निरन्तर गिरावट आइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, ‘अल्कोहल’ खपतको मामिलामा रुस १४औं स्थानमा छ । विश्वकप अवधिभर अल्कोहलको खपतमा केही बढोत्तरी भए पनि वार्षिक खपतको वृद्धिदरमा भने कुनै बदलाव नहुने रुसीले बताएका छन् ।

जापानको बियर उत्पादन कम्पनी किरिनले सन् २०१६ मा गरेको सर्वेक्षणमा रुस बियरको खपतका हिसाबले ३२औं स्थानमा छ । रुसमा भोड्का बढी लोकप्रिय रहेका कारण बियरको खपतमा कमी आएको सर्वेक्षणले बताएको थियो । बिक्री तथा विज्ञापनमा गरिएको कडाइका कारण सन् २००० को तुलनामा रुसी नागरिकले कमै मात्र बियर पिउने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.