क्याफेमा फुटबल
विश्वकप फुटबल हेर्न घरबाहिर निस्कने र ठूला पर्दामा आनन्द लिनेको संख्या सहरमा बढ्दो छ । कोही परिवारका साथमा जान्छन् त कोही साथीसँग । ठूला पर्दामा विश्वकप देखाउने होटेल, रेस्टुरेन्टमा पुगेर त्यहाँ स्वादिस्ट खानामा रमाउने पनि उत्तिकै पाइन्छन् । यसै सन्दर्भमा केही लोकेसनमा अन्नपूर्ण पोस्ट्का सहकर्मी पुगेका थिए :
याङ्तारु सेकुवा कर्नर
चाबहिलस्थित गोपीकृष्ण हलको बाटो भएर याङतारु पुग्दा सेकुवाका पारखीको उपस्थिति बाक्लो थियो । जिउँदो माछा समातेर पकाउन दिन पाइने सुविधासमेत भएकाले ग्राहक आफैं पानीमा हात हालेर माछा खोज्दै थिए । माछा जोखेर आ-आफ्ना स्वादअनुसारको अर्डर गरी खान पाइने भएकाले ग्राहक प्रसन्न देखिन्थे । त्यहाँ १० फिट अग्लो पर्दामा विश्वकप हेर्न आउनेको संख्या विस्तारै बढ्दै थियो ।
‘ठूलो पर्दामा विश्वकप हेर्न चाहने नयाँ ग्राहकलाई आकर्षण गर्नेभन्दा पनि हाम्रा आफ्नै ग्राहकलाई कसरी सेवा दिन सकिन्छ भन्नेमा हामी सधैं चिन्तित छौं । खासै नयाँ ग्राहक बढेका छैनन् ।’ सञ्चालक धीरेन थाम्सुहाङले भने । ‘हामीले रातिसम्मका खेल हेर्ने व्यवस्था मिलाएका छौं । विश्वकपको फाइनलसम्म यो क्रम जारी रहन्छ ।’
एउटा कुनाको टेबलमा बाजुराका खेम कार्की, झलक कार्की बसिरहेका थिए । एकैछिनमा सुनील बानियाँ र श्यामसिंह मोक्तानको टोली त्यहाँ थपियो । उनीहरू बेल्जियम र ट्युनिसिया बीचको खेल हेरिरहेका थिए । सँगै उनीहरू सेकुवा, चिसो पेय र लस्सीको आनन्द पनि लिइरहेका थिए । उनीहरू सबै बेल्जियमलाई सपोर्ट गरिरहेका थिए ।
किङ्स लाउज, दरबार मार्ग
आइतबार साँझ इङ्ल्यान्ड र पनामाबीच खेल चलिरहेको थियो । किङ्स लाउज, दरबार मार्गमा १९ फिट अग्लो टीभीमा खेल हेर्दै आ-आफ्ना समर्थक हुटिङमा मस्त थिए । कोही चिच्याउँथे त कोही ताली बजाउँथे । कोही खानाका नयाँ परिकारमा झुम्मिएका थिए । खेल सुरु भएको २१औं मिनेटमा इङ्ल्यान्डले पेनाल्टी किक हान्ने अवसर पायो । कप्तान ह्यारी क्यानले पेनाल्टी किक हानेर सानदार गोल गरे । अभिभावकसँग बसेर खेल हेरिरहेका दीक्षान्त भट्ट जुरुक्कै उठेर चिच्याए ।
ठूला पर्दामा विश्वकप देखाउने होटेल, रेस्टुरेन्टमा विभिन्न स्किम दिएर सञ्चालकहरूले दर्शक लोभ्याइरहेका छन् ।
एक दिनअघि मात्र एसईई पास गरेका भट्ट आफैं फुटबल खेलाडी रहेछन् । युवा खेलाडीको समूह भएकाले र योग्य कोचका कारण यसपालिको विश्वकपमा इङ्ल्यान्डले बाजी मार्ने उनले बताए । फुटबल फेस्टिबलको अवसर पारेर जुनियर फुटबल एकेडेमीको तर्फबाट बैंकक गएर फुटबल खेलेका भट्टले त्यहाँको एआईटीका विरुद्ध थप समयमा विनिङ गोल गरेका रहेछन् । ‘थ्रीस्टार र एनआरटीको तर्फबाट १८ वर्षमुनिको समूहमा ट्रायल दिएको छु ।’ भट्टले सुनाए, ‘आगामी महिना चीनमा ५१ राष्ट्रका बीच हुने गोथिया कप खेल्नका लागि जाने तयारी छ ।’
‘हामीले खेलकुद, संगीत र खानालाई प्राथमिकता दिएका छौं । यहाँको ‘पाङको फाइ चिकेन’, पोर्क तावा र गार्लिक प्राउन धेरै ग्राहकले मन पराएका छन् । यसको स्वादसँगै खेलको मज्जा लिनेको संख्या बढ्दो छ । यहाँ रातिका खेल हेर्ने पनि टनाटन हुन्छन् ।’ होटेलका सञ्चालक कुमार गुरुङले भने, ‘हाम्रो हलमा पाँच-छ सय जना बसेर हेर्न मिल्छ ।’
होटेल याक एन्ड यती
ग्राउन्ड फ्लोअरको एक बारमा रहेको ९० इन्चको पर्दामा केही दर्शक विश्वकप फुटबल हेरिरहेका थिए । केही भारतीय मूलका थिए त केही नेपाली । सँगैका टेबलमा बसेर विभिन्न ब्रान्डका रक्सीको आनन्द लिइरहेका अमेरिकनहरू आफ्नै धुनमा थिए । विश्वकप चलिरहेको सायद उनीहरूलाई थाहा छ । नजिकै गएर कुराकानी गर्न खोज्दा मिडियामा आउने गरी फुटबलका बारे कुरा नगर्ने बताए ।
‘यतिबेला हाम्रोमा ‘स्क्य्राच एन्ड विन’ अफर छ । बियर किन्ने ग्राहकले कुपन प्राप्त गर्छन् । त्यसमा क्याप, जुत्ता, टीसर्टमध्ये केही पर्छ । नभए १० देखि २० प्रतिशतसम्म छुट प्राप्त हुन्छ ।’ फुन्ड एन्ड बेभरेज एक्ज्युकेटिभ मेनेजर बुद्ध पाख्रिनले भने, ‘हाम्रोमा खानाको स्पेसल आइटम छैन । तर हरेक खेलकुदको समयमा केही अफर राखेका छौं । त्यो स्न्याक्स र पेयमा हुन सक्छ ।’
हरेक खेलकुदमा दर्शकको सुविधाका लागि सेवामा रहेको उनले सुनाए । तुलनात्मक रूपमा महँगो हुनाले नेपाली दर्शक कम हुने उनको भनाइ छ । यद्यपि बिहीबार र शुक्रबार नेपाली पनि आउने उनले बताए ।
इम्पेरियल रेस्टुरेन्ट स्पोर्ट्स एन्ड लन्ज
बेल्जियम र ट्युनिसियाको खेल चलिरहेका बेला इम्पेरियल रेस्टुरेन्ट स्पोर्ट्स एन्ड लन्ज, बत्तीसपुतलीमा दर्शकको उपस्थिति पातलो थियो । ६५ इन्चका ६ वटा टीभीमा खेल देखाइने गरिएकाले वातावरण निकै रमाइलो थियो । साँझ परेसँगै दर्शकको उपस्थिति बाक्लिँदै थियो । रातिका म्याच हेर्न दर्शक अझै बाक्लिने सञ्चालक जीवन चन्दले बताए । ‘हामीले सबै खाले राष्ट्रिय, अन्तर्राष्ट्रिय खेललाई प्राथमिकतामा राखेर सुरु गरेका हौं । ग्राहकको सन्तुष्टिले हामी निकै आशावादी छौं ।
झापा दमकका यम आचार्य विश्वकप हेर्न यहाँ प्रायः आउँदा रहेछन् । पारिवारिक वातावरण रहेको र यहाँको खाना, बिरयानी, नान, साँधेको भटमास धेरै स्वादिष्ट रहेको उनको भनाइ छ । यहाँको खाना र खेल हेर्ने वातावरणले आकर्षित गरेको उनले बताए ।
दर्शकमा खेलकुद क्रेज बढेसँगै सुरक्षाको प्रश्नलाई लिएर जिल्ला प्रशासन कार्यालयले रातिसम्म खेल देखाउने होटेल, रेस्टुरेन्टहरूले अनिवार्य स्वीकृति लिनुपर्ने र सर्तहरू पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए । ‘अनुमति लिन आउनेहरू बढिरहेका छन् । अनुमति लिए सर्त पूरा गरे नगरेकाबारे पनि अनुगमन गरिरहेका छौं ।’ उनले भने ।