म इङ्ल्यान्डको फ्यान
अनित व्यञ्जनकार
म सुरुदेखि नै इङ्ल्यान्डको फ्यान हुँ । इङ्लिस प्रिमियर लिग लामो समयदेखि हेर्दै आएको छु । यो लिगमा चेल्सी क्लब निकै राम्रो लाग्छ । इङ्लिस प्रिमियर लिग धेरै हेर्ने गर्छु । यस लिगमा नाम चलेका खेलाडीहरू थुप्रै छन् । त्यसैले पनि इङ्ल्यान्ड मन परेको हो । २००२ को विश्वकपमा इङ्ल्यान्ड, स्विडेन, अर्जेन्टिना र नाइजेरिया एउटा समूहमा थिए । इङ्ल्यान्डले अर्जेन्टिनालाई १-० गोलले जितेको थियो । गोल गरेका थिए, डेभिड बेकमले । त्यो दिनदेखि म बेकम र इङ्ल्यान्डको ठूलो फ्यान भएँ । त्यो विश्वकममा इङ्ल्यान्ड क्वार्टरफाइनलसम्म पुगेको थियो । पछि ब्राजिलसँगको खेलमा हार्यो र घर फर्कियो ।
२००६ को वल्र्डकप क्वार्टरफाइनलमा इङ्ल्यान्डलाई पोर्चुगलले पेनाल्टी सुट आउटमा हरायो । त्यो म्याचमा इङ्ल्यान्डका खेलाडी रुनीले रेड कार्ड पाए । त्यति बेला म निकै दुःखी भएँ । १९८६ को वल्र्डकपमा म्यारोडोनाको हातले गोल गरेको कुरा धेरैको स्मरणमा हुनुपर्छ । यही कारण म्यारोडोना ‘ह्यान्ड अफ गड गोल’ भनेर चिनिन पुगे । त्यो गोल इङ्ल्यान्डविरुद्धको थियो । त्यसो त इङ्ल्यान्डलाई अनलक्की टिम भनिन्छ तर म मान्दिनँ । किनकि इङ्ल्यान्डले अन्डर १७ र २० वल्र्डकप जितेको छ । अन्डर १९ मा भने २०१७ मा यूईएफए युरोपियन गेमको च्याम्पियन नै बन्न पुग्यो ।
२०१८ को विश्वकप जित्ने इङ्ल्यान्डको सम्भावना पनि धेरै छ । किनकि अहिलेको टिममा जति पनि युवा खेलाडी छन्, उनीहरूले अन्डर १७ र २० को वल्र्डकप २०१७ मा जितेर आएकाहरू छन् । मलाई अझै याद छ २०१० मा इङ्ल्यान्ड र जर्मनीको खेलमा फ्रेंक लाम्पार्टले हानेको गोल रेफ्रीले गोल नमाने पछि वल्र्डकपमा गोल लाइन टेक्नोलोजीको विकास हुन पुग्यो । त्यतिखेर फ्रेंक लाम्पार्टले एकदमै राम्रो प्रहार गरेका थिए तर त्यो बल गोलपोस्टमा ठोक्किएर भित्र पसी फेरि बाहिर निस्कन पुग्यो । त्यसलाई गोल मानिएन । १९६६ मा इंल्यान्डले वल्र्डकप जितेको थियो । २००२ देखि इङ्ल्यान्डको गेम पच्छ्याउँदै आएको म इङ्ल्यान्डका डेभिड बेकम, फ्रेंक लामपार्ट, स्टिभन जेरार्ड, जोन टेरीलाई एकदम मन पराउछु ।
डेभिड बेकमले गर्ने प्रत्येक गोलमा म उत्साहित हुन्थेँ । उनी मैदानमा उत्रिँदा खेल हेर्नुको मज्जा नै बेग्लै हुन्थ्यो । उनको फ्रि किक गज्जब हुन्थ्यो । यसपालिको विश्वकपमा ट्युनिसियालाई २-१ गोलले पराजित गरेर इङ्ल्यान्डले राम्रो सुरुवात गर्यो । पानामासँगको खेलमा पनि गोलको वर्षा नै गर्यो । ६-१ ले पानामालाई पराजित गरेको इङ्ल्यान्डका अबका खेलहरू झनै रोचक बन्ने देखिन्छ । ग्रुप स्टेज राउन्डमा इङ्ल्यान्डले देखाएको प्रर्फमेन्स निकै राम्रो छ । यही गतिमा अगाडि बढे इङ्ल्यान्डले यसपालि विश्वकप जित्छ ।