रोनाल्डोविरुद्ध स्वारेज
मस्को : जारी विश्वकपको शनिबार हुने दोस्रो प्रिक्वार्टरफाइनल खेलमा पनि दक्षिण अमेरिकी र युरोपेली फुटबलबीच नै प्रतिस्पर्धा हुँदैछ । उक्त खेलमा युरोपेली टोली पोर्चुगल र दक्षिण अमेरिकी टोली उरुग्वे एकअर्काविरुद्ध ओर्लने छन् । यी दुई टोलीबीचको खेललाई बलियो आक्रमणबीचको प्रतिस्पर्धा मानिएको छ । पोर्चुगलसँग क्रिस्टियानो रोनाल्डो जस्ता स्ट्राइकर छन् । उरुग्वेसँग पनि लुइस स्वारेज र एडिन्सन काभानी जस्ता स्ट्राइकर छन् ।
स्पेनिस टोली रियल म्याड्रिडका लागि गोल मेसिनको रूपमा स्थापित रोनाल्डोले राष्ट्रिय टोलीका लागि पनि त्यही भूमिका निर्वाह गर्दै आएका छन् । पोर्चुगललाई दुई वर्षअघि युरोकपको उपाधि जिताउन र जारी विश्वकपको समूहगत चरणमा टोलीलाई अपराजित राख्न पनि रोनाल्डोले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विशेष गरी स्पेन जस्तो बलियो टोलीविरुद्ध ह्याट्रिक गोल गरेका रोनाल्डोले आफू अझै उच्च लयमा रहेको संकेत गरिसकेका छन् ।
रोनाल्डोले समूहगत चरणको तीन खेलमै चार गोल गरिसकेका छन् । उनी जारी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा समेत बेल्जियमका रोमेलु लुकाकुसँग संयुक्त रूपमा दोस्रो स्थानमा पुगेका छन् । उनीहरूभन्दा अघि इङ्ल्यान्डका हेरी केन मात्र छन् । जारी प्रतियोगितामा स्वारेज र काभानी भने गोल गर्ने प्रतिस्पर्धामा रोनाल्डोभन्दा केही पछि देखिएका छन् ।
स्वारेजले हालसम्म दुई गोल गरेका छन् भने काभानीले एक गोल गरेका छन् । छैनन् ।यी दुवै खेलाडी युरोपका दुई ठूला लिगका सर्वाधिक गोलकर्ता हुन् । स्वारेजले यसपटक बार्सिलोनालाई स्पेनिस ला लिगाको उपाधि दिलाउन र काभानीले पेरिस सेन्ट जर्मन (पीएसजी)लाई फ्रान्सेली लिगको उपाधि दिलाउन सर्वाधिक गोलकर्ताको सूचीमा आफूलाई अग्रपंक्तिमा उभ्याएका थिए ।
त्यसैले यी खेलाडीकै प्रदर्शनमा पोर्चुगल वा उरुग्वेमध्ये एक टोली जारी विश्वकपको क्वार्टरफाइनल पुग्ने निश्चित छ । युरोपको च्याम्पियन टोलीको हैसियतमा रुस आइपुगेको पोर्चुगलको टोलीमा अन्य राम्रा युवा खेलाडीको पनि बलियो उपस्थिति छ । पेपेको नेतृत्वमा पोर्चुगलको रक्षापंक्ति निकै बलियो देखिएको छ । मिडफिल्डले पनि अग्रपंक्तिमा रोनाल्डोलाई राम्रो साथ दिन सक्छन् ।
स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका मुख्य रक्षक डिएगो गोडिनको उपस्थितिले उरुग्वेको रक्षापंक्ति पनि निकै बलियो देखिएको छ । प्रतियोगिताको समूहगत चरणमा उरुग्वेले कुनै पनि गोल खाएको छैन । उरुग्वेको मिडफिल्ड पनि उत्तिकै बलियो देखिएको छ । यी दुई टोली विश्वकप फुटबलमा पहिलोपटक आमुन्नेसामुन्ने हुन लागेका हुन् । यद्यपि त्यसबाहेक अन्य प्रतियोगितामाको नतिजालाई हेर्ने हो भने पोर्चुगलले उरुग्वेसँग अहिलेसम्म हार भोगेको छैन । हालसम्म भएका दुईमध्ये एक खेलमा पोर्चुगल विजयी बनेको छ भने अर्काे खेल बराबरीमा सकिएको छ ।
विगतमा दुई टोली
कुल खेल : २
पोर्चुगल विजयी : १
उरुग्वे विजयी : ०
बराबरी : १
समूहगत चरणमा पोर्चुगल
स्पेनविरुद्ध : ३-३ गोलको बराबरी
मोरक्कोविरुद्ध : ०-१ गोलले विजयी
इरानविरुद्ध : १-१ गोलको बराबरी
समूहगत चरणमा उरुग्वे
इजिप्टविरुद्ध : ०-१ गोलले विजयी
साउदी अरेबिया : ०-१ गोलले विजयी
रुसविरुद्ध : ०-३ गोलले विजयी