एक पत्रकारको स्वप्निल संसार
दर्जा – रिपोर्टर
तलब – एक सय रुपैयाँ
सुविधा – नयाँ साइकल
उल्लिखित विवरण ९० वर्षमा हिँड्दै गरेका सक्रिय पत्रकार भैरव रिसालले २०१३ सालमा हालखबर दैनिकमा काम सुरु गर्दाको हो। ‘त्यस बेला नयाँ साइकल आफ्नै मातहतमा हुनु भनेको अहिले स्कारपियो भएजस्तै हो।’ अहिले पनि एक साप्ताहिक पत्रिकामा नियमित स्तम्भ ‘भोगेको, देखेको, सुनेको’ र रेडियोमा ‘कुरोकन्थो’ साप्ताहिक कार्यक्रमसमेत सञ्चालन गरिरहेका रिसाल आफ्नो विगत सम्झन्छन्।
वरिष्ठ पत्रकार रिसालले पढाइ पूरा गरुन्जेलसम्म पनि पत्रकार बन्छु र यसैमा जीवन समर्पण गर्छु भन्ने सोचेका पनि थिएनन्। आफ्ना बाबुको पाको उमेर, बाक्ला भाइबहिनी र घरको दयनीय आर्थिक अवस्थाका कारण उनी धुइँधुइँती काम खोजिरहेका थिए। ‘त्यस बेला म खसी काट्ने काम नै पाएको भए पनि गर्थें। जेमा भए पनि जागिर खानुबाहेक मेरा लागि अर्को विकल्प थिएन।’
उनी संस्कृतका विद्यार्थी। संस्कृत पढेकाले लोकसेवा आयोगको परीक्षामा सामेल हुनसक्ने प्रावधान थिएन। संस्कृत अन्य विषयसरह समानान्तर भइसकेको थिएन। त्यही बेला संस्कृत छात्र संघले आन्दोलन गर्यो। त्यही आन्दोलनकै बलले २०११ सालमा मध्यमालाई प्रवीणता प्रमाणपत्र, शास्त्रीलाई स्नातक र आचार्यलाई स्नातकोत्तरसरह मान्यता दिन थालियो। त्यति बेलासम्म संस्कृत पढेकाहरू पण्डित मात्र हुन्थे। सरकारी सेवाको कल्पनासम्म पनि थिएन।
त्यही बेला लोकसेवा आयोगले पोस्ट ग्य्राजुएट र ग्य्राजुएट अफिसर पदका लागि दरखास्त आह्वान गर्यो। भैरव रिसाल शास्त्रीको प्रमाणपत्र हातमा बोकेर भौंतारिइरहेका रहेछन्। उनी पनि परीक्षामा सामेल भए। पोस्ट ग्य्राजुएटमा विश्वनाथ उपाध्याय, बबरप्रसाद सिंह, मंगलकृृृष्ण श्रेष्ठ, गोविन्दप्रसाद लोहनी, अनन्तनाथ पौडेललगायत पास भए। ग्य्राजुएट अफिसरमा भैरव रिसाल, दाताराम शर्मा लगायतले पास गरे। एउटा निम्न वित्तीय परिवारको सदस्य अफिसर हुनु रिसालका लागि मात्र होइन, सिंगो परिवारका लागि महत्वपूूर्ण कुरा थियो।
तर, भैरव रिसाललाई राज्यले नियुक्ति दिएन। ‘म कम्युनिस्ट पार्टीको सदस्य भइसकेको थिएँ। कम्युनिस्टलाई जागिर दिएर पाल्ने राज्यको नीति अनुकूल भएन।’ त्यसपछि त झन् उनलाई जागिरको यति आवश्यकता भयो कि जसलाई भेटे पनि जागिरकै कुरा मात्र गर्न थाले।
अनि पत्रकार
एक दिन पूूर्णप्रसाद उपाध्यायले हालखबर दैनिकमा कामको लागि भनिदिएछन्। त्यसपछि उनी पत्रिकाको रिपोर्टर भए। उनलाई पत्रकारिताबारे केही पनि थाहा थिएन। काम खोज्दाखोज्दै संयोगले पत्रकार भए उनी। ‘परिस्थितिले घोक्य्राएर मलाई पत्रकार बनायो’, उनी भन्छन्।
उनको अंग्रेजी भाषामा पटक्कै पहुँच थिएन। पत्रकारिता पढेका, बुझेका पनि थिएनन्। गोरखापत्रमा काम गर्ने पत्रकार पनि पत्रकारिताका विद्यार्थी होइनन् भन्नेचाहिँ उनलाई राम्ररी थाहा थियो। यसले उनमा केही गर्न सक्छु भन्ने आँट पलाएको थियो। ‘तीनधारा पाकशालामा बस्दा वनारसबाट निस्कने हिन्दी दैनिक ‘आज’ नियमित पढ्न पाइन्थ्यो। गोरखापत्र हप्तामा दुईतीन दिन निस्किन्थ्यो।’ रिसालले उत्साहित हुँदै भने, ‘म जानीनजानी साथीहरूसँग पत्रिकामा छापिएका विषयमा छलफल गर्न थालेछु। उनीहरूलाई पत्रकारिता पढाउँदो रहेछु। यिनै दुईवटा पत्रिका मेरो पत्रकारिताका सुरुआती गुरु नै भए।’
त्यही पढाउने बानीले नै लोकसेवा आयोगको परीक्षा पास गर्न सजिलो भएको हो भन्ने लाग्छ उनलाई। अन्तर्वार्तामा पूर्वी जर्मनी र पश्चिम जर्मनीका बारेमा सोधिएको रहेछ। यसबारे उनले ‘आज’ पत्रिकामा मजाले पढेका रहेछन्। पश्चिम जर्मनीका बारेमा मात्र जानेसम्म जवाफ दिएको सुनाउँदै रिसाल भन्छन्, ‘पूर्वी जर्मनी कम्युनिस्ट भएकाले पढेको छैन भनेर जवाफ दिइनँ। तर मेरो चलाख्याइँ काम लागेन। मलाई जागिर खानबाट वञ्चित गरियो।’
उनले काम सुरु गर्दा औंलामा गन्न सकिने संख्यामा मात्र पत्रकार थिए। पत्रिकाका नाउँमा त्यति बेला हालखबर र समाज दैनिक मात्र थिए। ‘नेपाली कांग्रेसले रूप फेरिफेरि ‘कल्पना’, ‘उज्यालो’, ‘दियालो’ नाममा पत्रिका निकाल्थ्यो।’ रिसाल सम्झन्छन्, ‘पछि ‘नयाँ समाज’ नाममा पत्रिका सुरु भयो।’ नयाँ समाज राजा महेन्द्रको रुचिअनुसार निस्किएको, उनैले नाउँ जुराएको, सुरुआती खर्चबर्च उनैले बेहोरेको कुरा रिसाललाई दरबारसँग नजिकको सम्बन्ध भएका लक्ष्मणराज पाण्डेले बताएका रहेछन्।
‘त्यस बेला दुईदेखि चार पृष्ठ सम्मका पत्रिका साँझमा निस्कन्थे। त्यस बेलाका पाठक शिक्षक, कर्मचारी र विद्यार्थी मात्रै थिए। दुईदेखि चार पैसा मूूल्य पथ्र्यो। साक्षरता प्रतिशत पाँच प्रतिशत पनि पुगेको थिएन। हुलाक व्यवस्था भरपर्दो थियो। त्यही वामे सर्दै गरेको पत्रकारिताको उत्पादन हुँ म।’ रिसाल विगत सम्झन्छन्।
सुरुमा के प्रश्न गर्ने कार्यक्रममा कसरी बस्ने भन्ने बारेमा पनि कुनै ज्ञान थिएन। क्रमशः बानी पर्दै गयो। उनको बुझाइमा बीपी कोइराला र गणेशमान सिंहले पत्रकारिताको मर्म बुझेका थिए। उनीहरू पत्रकारले टिप्न सक्ने गतिमा बोल्थे। बुझे नबुझेको बारम्बार सोध्थे। डा. डिल्लीरमण रेग्मी, टंकप्रसाद आचार्यमा पनि यही गुण रहेको उनी बताउँछन्। ‘सरकारी अधिकारीमा यस्तो गुण पटक्कै थिएन। उनीहरू के सूचना दिँदैछन् भन्ने कुरा बुझ्न कठिन थियो’, रिसाल सम्झन्छन्।
पत्रकारिता परि श्रम र मेहनेतले खारिने विषय हो। उति बेला पत्रकारिताको मान्यता धेरै थियो। निष्ठा र इमानदारिता पनि उत्तिकै थियो। पत्रकार भेट्न पाउँदा सबै खुसी हुन्थे। ‘म बिहान उठेर साइकलमा नेताका घरघरमा पुग्थेँ। बीपी कोइराला, डिल्लीरमण रेग्मी र वेदानन्द झाकहाँ सहज पहुँच थियो।’ रिसाल भन्छन्, ‘भेटमा नेताहरूको खाने समयअनुसार चियासम्म खान पाइन्थ्यो।
गाउँका समाचार
नेताहरूकहाँ जाँदा गाउँबाट आएका नेता कार्यकर्तासँग रिसालले हिमचिम बढाउन थालेछन्। उनीहरूसँग प्राकृतिक प्रकोप चोरी आदिका समाचार लिन थालेछन्। गाउँका सामाजिक सरोकारका समाचार पत्रिकामा छापिन थालेपछि रिसाल एकाएक चर्चामा आएछन्। गाउँका मान्छे त्यसपछि समाचारका स्रोत भएछन्। सञ्चारको नाममा आवा मात्रै भएको बेलामा गाउँका समाचार आएपछि राज्यले पनि राम्रोसँग सम्बोधन गर्न थालेछ। ‘त्यस बेला पत्रकारिताको माने थियो। पत्रकारको मान्यता थियो’, उनी भन्छन्।
एकपटक नारायणीमा बाइपास बनाउने निर्णय भएछ। वीरगन्जबाट राजाकहाँ बिन्तीपत्र लिएर टोली काठमाडौं आएछ। त्यस बेला नरबहादुर शाह अञ्चलाधीश रहेछन्। उनले नै भैरव रिसाललाई पनि भेट्नु, नत्र हल्ला हँदैन भनेर अह्राएका रहेछन्। समाचार छापिदिएपछि उनको झन् धेरै चर्चा भएछ।
भैरव रिसालले लोकसेवा पास गरे । कम्युुुुनिस्टलाई जागिर दिएर पाल्ने राज्यको नीति अनुुुुकूल भएन, उनले नियुुक्ति पाएनन्। त्यस बेला खसी काट्ने काम नै पाएको भए पनि गर्ने मनसुुवा बनाएका उनी पत्रकारितामा छिरे। ९० वर्षको उमेरमा पनि यही कर्म गरिरहेका छन्।
पत्रकारिताका मूूलभूूत एवं पारिभाषिक शब्दसमेत नबुझेर रिसालले धेरै समस्या झेलेछन्। इम्बार्गो, अफ द रेकर्ड, बक्स न्युजलगायत शब्दको अर्थ बुझेका रहेनछन्। बीपी कोइराला प्रधानमन्त्रीका रूपमा चीन भ्रमणबाट फर्किएपछि त्रिपुरेश्वरमा प्रेस सम्मेलन गरेछन्। बीपीले ‘अफ द रेकर्ड’ भनेर ‘चीनले आधा सगरमाथा दाबी गर्यो’ भनेर सूचना दिएछन्। रिसाललाई यसबारे केही थाहा भएन। कार्यक्रम सकिएपछि उनी चियाचमेनातिर लागेछन्। उता भारतीय पत्रकारहरू सीधै टेलिग्राम अफिसतिर लागेछन्। भोलिपल्ट भारतीय सञ्चारमाध्यममा उक्त समाचारले महत्वपूूर्ण स्थान पाएछ। यता उनले सामान्य रूपमा छापेछन्। ‘यसरी नै सिक्दै पत्रकारिता गरियो’, रिसाल विगत सम्झन्छन्।
नेपाली कांगे्रसको प्रेस सम्मेलनमा उनी प्रायः पछाडि बस्दा रहेछन्। ‘मलाई अगाडि बस्न सिकसिको लाग्थ्यो। तर, बीपीले अत्यधिक प्यार गर्नुहुन्थ्यो। हाम्रो पत्रिका कांग्रेस पक्षधर पनि थिएन’, उनी विगत सम्झन्छन्, ‘बीपी, गणेशमानजीहरू सुन्दरीजल जेलबाट छुटेपछि बागेश्वरीमा भएको पे्रस सम्मेलनमा गणेशमानले मेरो नामै तोकेरै कुरा बुझे नबुझेको सोध्नुभयो।’
गणेशमानजी टुँडिखेलमा दैनिक तीन फन्को लगाउँदा रहेछन्। भैरव रिसाल पनि दिनहँ उनका अघिपछि गर्दा रहेछन्। ‘गणेशमानजीसँग अघिपछि गर्दा सूचना संकलनमा बहुत फाइदा भयो।’ त्यस बेला कल्पनाका पत्रकारले बीपीलाई किन भैरवलाई मात्र सूचना दिएको भनेर सोधेछन्। ‘ऊ मकहाँ आइरहन्छ, तिमीहरू आउँदैनौ’ भनेर बीपीले जवाफ दिएछन्। उनका अग्रजले सूचनाको स्रोत गोप्य राख्न सुझाएका रहेछन्। ‘यही कारण म गोप्य सूचना भेट्थेँ। यसले मेरो क्षेत्र फराकिलो हुँदै गयो। मैले जिन्दगीभर स्रोतको सदुपयोग गरेँ। इमानदारिता कायम राखेँ।’
राससमा हुँदाखेरि सिंहदरबार परिसरभित्र रिसाललाई एकजना राजनीतिकजस्ता लाग्ने व्यक्तिले ‘महेन्द्र राजालाई बम हान्ने यज्ञबहादुर थापा र भीमनारायण बस्नेतलाई आजै फाँसी दिइन्छ’ भन्ने सूूचना दिएछन्। दिउँसो अञ्चलाधीश सूूर्यप्रसाद श्रेष्ठले उनलाई लिन गाडी नै पठाएछन्। ‘आज अलि ठूूलो समाचार छ, अबेर हुन्छ। तपाईंलाई घर पुर्याऊँला’ भनेछन्। ‘आज फाँसीको समाचार हुन सक्छ है’ भनेर रिसालले सोधेछन्। अञ्चलाधीशले कसरी थाहा पाउनुभयो भनेर सोध्दा अकस्मात् भन्न आएछ भनेर उनी पन्छिएछन्। यसले उनको स्तर धेरै माथि उचालिएछ। भन्छन्, ‘मैले पैताला नखियाएको भए, मेहनत नगरेको भए त्यो समाचार पाउने थिइनँ, मेरो स्तर माथि उठ्ने थिएन।’
२०३६ सालको जनमतसंग्रहमा राज्यले केही मन्त्रालयमार्फत साहूहरूबाट आर्थिक स्रोत जम्मा पारेछ। पछि पनि सोही काम दोहोर्याउन सक्ने शंका भएपछि राजा वीरन्द्रले ती अधिकारीलाई जागिरबाट झिक्न प्रधानमन्त्री सूर्यबहादुर थापालाई अह्राएछन्। पछि जागिरबाट झिक्दा पोल खुल्नसक्ने भयले ती अधिकारीलाई राष्ट्रिय योजना आयोगको सह–सदस्यका रूपमा सरुवा गर्ने निर्णय भएछ।
यो घटना थाहा पाएर पत्रकार भैरव रिसाल मुख्य सचिव भोगेन्द्र रिमालकहाँ पुगेछन्। उनी आएको थाहा पाएर प्रधानमन्त्री थापा अत्तालिएछन्। ‘भैरवले कसरी थाहा पाउँछ’ भन्दै सबै सूचना दिन भनेछन्।
बीपी कोइरालाको स्वास्थ्य उपचारमा तीनजना डाक्टर मृगेन्द्रराज पाण्डे, लक्ष्मीनारायण प्रसाद र दिनेश गंगोल खटिएका रहेछन्। स्वास्थ्य बिग्रिँदै जाँदा पनि राजालाई भेट्न बीपीले अस्वीकार गरेछन्। मृगेन्द्रराजले मुख्य सचिव हंशमानमार्फत बिन्तीपत्र दिएछन्। मृगेन्द्रले राजासँगको भेटमा ‘सक्रिय अवस्थामा बाहिरै मरेको बीपीले भन्दा जेलभित्र मरेको बीपीले राजतन्त्रलाई बढी दुःख दिन्छ’ भनेर आफ्नो कुरा राखेछन्। यो कुराले राजा निकै गम्भीर भएछन्। यसपछि बीपीलाई देशबाहिर उपचारका लागि पठाउने कुरामा राजा सकारात्मक भएछन्।
राजाले प्रधानमन्त्री तुलसी गिरीसँग सल्लाह गरेछन्। त्यसपछि गिरीले मृगेन्द्रलाई बोलाएर तपाईंले भनेको रोग अमेरिकामा प्रमाणित भएन भने के हुन्छ, थाहा छ भनेर सोधेछन्। मृगेन्द्रले मसँग भएको स्रोतसाधनका आधारमा भनेको हुँ भनेर जवाफ दिएछन्।
बीपी अमेरिका जाने पक्कापक्की भएपछि पत्रकार भैरव रिसाललाई भेट्न मन लागेछ। उनले अञ्चलाधीश सूर्यप्रसादलाई बीपीको अन्तर्वार्ता लिन चाहन्छु भनेछन्। सूर्यप्रसाद अन्कनाएछन्। ‘उपचार गर्न पठाएकोमा श्री ५ प्रति आभारी छु भनेर बीपीले प्रतिक्रिया दिए भने के हुन्छ ? भनेर मैले प्रश्न गर्दा अञ्चलाधीश गम्भीर बने’, रिसाल सम्झन्छन्।
तत्कालै भित्र पसेर बाहिर निस्किएका सूर्यप्रसादले भोलि बिहान साढे ८ बजे प्रहरी तालिम केन्द्र जानुहोला। सह–अञ्चलाधीश विष्णुप्रताप शाह त्यहाँ हुन्छन् भनेर जवाफ दिएछन्। अर्को दिन निर्धारित समयमा रिसाल जयशमशेर राणाका साथमा तालिम केन्द्र पुगेछन्। ‘गणेशमानजीले बिदा गरेपछि अभिवादन गर्दै मैले राजाले उपचारका लागि अमेरिका पठाएको प्रति के भन्नुहुन्छ भनेर सोधेँ। प्रत्युत्तरमा बीपीले ‘म थुनुवा हुँ’ भनेर जवाफ दिए’, रिसाल सम्झन्छन्।
त्यसपछि रिसालले आफूले खोजेको उत्तर आउँदैन भन्ने पत्तो पाइहाले। उनले आमचासोका व्यावहारिक प्रश्न सोधेछन्। त्यहाँबाट बीपी सीधै एअरपोर्ट पुगेछन्। अन्य पत्रकारले उनलाई भेट्नै पाएनछन्। दिल्ली पुगेपछि बीपीले राजालाई धन्यवाद पनि दिएछन्। दिल्लीका पत्रकारले यताको र उताको मिसाएर समाचार लेखेछन्। ‘त्यसपछि त म भाले भइहालेँ नि’, उत्साहित हुँदै रिसालले भने।
पत्रकारको स्तर
पत्रकारिता व्यवसायमुखी हुँदै गएकोप्रति रिसाल चिन्तित छन्। भन्छन्, ‘अहिलेको पत्रकारिता नाफा नोक्सानमा केन्द्रित छ। पत्रकारमा पटक्कै निष्ठा छैन।’ राससमा हुँदा कहिलेकाहीँ चित्त नबुझेका कुरा पनि दिनु परेकोमा उनी ठेस लागेको अनुभव गर्छन्। अहिलेका पत्रकारले अध्ययन अनुसन्धानमा ध्यान नदिएकोप्रति उनको गुनासो छ। यसैले पत्रकारको स्तर माथि उठ्न नसकेको उनको तर्क छ। ‘विश्वसनीयता पत्रकारिताको प्राण हो भन्ने कुरा पत्रकारले बुझेकै छैनन्।’
युग अनुकूल नयाँनयाँ प्रविधिमा दक्ष हुन उनी नयाँ पुस्तालाई सुझाउँछन्। पत्रकारले आफूलाई परिस्कृत बनाउँदै लगे मात्र भविष्य सुनिश्चित हुने उनी बताउँछन्। समाचार मूल्यवान् हुनुपर्ने, ठट्टा र व्यंग्यमिश्रित समाचारले समाज विकास र समृद्धिमा अनि खुसीमा योगदान दिन नसक्ने बताउँदै उनी भन्छन्, ‘हामीकहाँ खुसी र सुखी छुट्याउने चलन छैन। सबै सुखी खुसी हुँदैनन् र सबै खुसी सुखी हुँदैनन्।’
‘पत्रकारिता विगतमा जस्तो औपचारिक ज्ञानबिना अभ्यासले मात्र नहुने भइसक्यो। यससँगै प्रविधिबिना पत्रकारिता असम्भव प्रायः भइसकेको छ’, भन्छन्, ‘पत्रकारितामा इमानदारिता आवश्यक छ। यसो भएन भने मुलुक बिग्रिन सक्छ, समाज भड्किन सक्छ।