भारतीय गाडीबाट तीन किलो सुन बरामद : दुई पक्राउ
![भारतीय गाडीबाट तीन किलो सुन बरामद : दुई पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/gold_crime_20180630105351_DK9RoyBAbx.jpg)
काठमाडौं : भारतीय गाडीमा तस्करी हुन लागेको तीन किलो सुनसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। नागढुंगामा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा युके ०२-४६८४ नम्बरको भारतीय गाडीबाट तीन किलो सुन बरामद गरेको हो।
प्रहरीले सुन तस्करीमा संलग्न भारत चम्पराका दिपककुमार मोर्रे र महेन्द्रनगरका मनोज विकलाई नियन्त्रणमा लिएको छ। उनीहरुले गाडीको एयरफिल्टरमा सुन लुकाएर ल्याएका थिए।
महानगरिय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार मारुती गाडी शुक्रबार महेन्द्रनगर छिरेको थियो। अर्का एक व्यक्ति धनगढीसम्म गाडीमा आएर हवाईजहाजबाट काठमाडौं आएका थिए। तीनैजना काठमाडौं आएपछि एक रात होटलमा बसेका थिए। फरार व्यक्तिको खोजी र सुन कहाँबाट खरिद भएको हो भन्नेबारे अनुसन्धान भइरहेको जानकारी पोखरेलले दिए।
‘पहिला प्रहरीलाई उक्त गाडीमा हतियार छ भन्ने सूचना आएको थियो। गाडी रोकेर खानतलासी गर्दा सुन भेटियो,’ एसएसपी पोखरेलले भने,‘ सुरक्षास्थिति मजबुत हुँदा पनि तस्कर सक्रिय रहेको प्रति प्रहरी चनाखो बनेको छ।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)