कथासंग्रह ‘आहा फूल’सार्वजनिक
![कथासंग्रह ‘आहा फूल’सार्वजनिक](https://annapurnapost.prixacdn.net/media/albums/book_lunch_20180630140240_hooT0UM8GB.jpg)
काठमाडौं : साहित्यकार कौशिला रिसालको किशोर कथा संग्रह ‘आहा फूल’ सार्वजनिक भएको छ। काठमाडौंको नयाँ बजारस्थित आधारशिला कलेजमा आयोजित कार्यक्रममा कथा कृति सार्वजनिक भएको हो।
साहित्यकार माया ठकुरी, चार वेदका अनुवादक तिलक लुइटेल, प्राध्यापक डा. भगवानचन्द्र ज्ञवालीलगायतले कथा कृतिको विमोचन संयुक्त रुपमा गरेका हुन्।
कार्यक्रमकी प्रमुख अतिथी कथाकार ठकुरीले पछिल्लो पुस्तामा नयाँ छाप छोड्न आहा फूल सफल हुने विश्वास व्यक्त गरिन्। कथामार्फत् किशोर, किशोरीलाई नैतिक शिक्षा दिन खोजिएको ठकुरीको भनाइ थियो।
किशोर कथा संग्रह आहा फूलको समीक्षा गर्दै लुइटेलले किशोरका लागि लक्षित गर्दै कथा लेख्ने चलन त्यति नभएको समयमा रिसालले नयाँ सुरुवात गरेको बताए।
प्राध्यापक डा. भगवानचन्द्र ज्ञवालीले साहित्यकार रिसालका कथा मिठा, सरल र बुझ्न सकिने खालका रहेको बताए।
कथाकार रिसालले आफूले शिक्षण पेशामा देखेका, भोगेका र सुनेका विषयलाई कथामा रुपान्तरण गरेको बताइन्। कार्यक्रममा साहित्यकार दुर्गा तिवारी, रविन्द्र आशिष शैली, सुनिल पुरी, भुवन सिवाकोटी, निर्मल पराजुली, देवकी तिमल्सिनालगायतको उपस्थिति रहेको थियो।
साहित्यका रिसालको यो दोस्रो कृति हो। यसअघि उनको बालकथासंग्रह नयाँ बर्षको उपहार प्रकाशित भइसकेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)