नेमारको खेलमा छोरा अतिथि
मस्को : विश्वकपको सर्वाधिक सफल टोली ब्राजिलको चर्चा संसारभर छ । पाँचपटक विश्वकपको उपाधि विजेता राअहिले छैटौं उपाधि चुम्ने अभियानमा छ । समूह ‘ई’को विजेता बन्दै नकआउट चरणको यात्रा तय गरेको ब्राजिलले सोमबार मेक्सिकोविरुद्ध प्रतिस्पर्धा गर्दैछ । मेक्सिकोविरुद्धको खेलअघि ब्राजिल कठिन अभ्यासमा व्यस्त छ । शुक्रबार ब्राजिलले सोचीमा कडा अभ्यास गर्दा अतिथि बनाइए नेमारका ६ वर्षीय छोरा डेभिड लुका डा सिल्भा सान्तोस ।
डेभिडले बाबुको अभ्यास अवधिभर साथ दिइरहे । नेमारले आफ्ना बाबुले साथीहरूसँग खेलेको हेरिरहे । मैदानको छेउमा बसेर नेमारलाई अभ्यास अवधिभर हौस्याइरहे । नेमार पनि सानो छोराको उपस्थितिमा अभ्यास गर्दा झनै खुसी देखिन्थे । धैर्यपूर्वक बाबुको खेल नियालिरहेका डेभिडलाई भेट्न अभ्यास रोकिनासाथ नेमार पुगिहाल्थे । बाबुको प्रशिक्षण क्याम्पमा जाँदा डेभिड ब्राजिल टोलीको अवे खेलको नीलो जर्सीमा थिए ।
विश्वकपअघि चोटका कारण तीन महिना मैदानबाहिर रहेका नेमार विश्वकप सुरु हुनुभन्दा एक साताअघि मात्र खेलमा फर्किएका थिए । विश्वकपमा नेमारले अझै खुलेर खेल्न सकेका छैनन् । समूह चरणमा कोस्टारिकाविरुद्ध एक गोल गरेका नेमारले सर्वियाविरुद्धको अर्को खेलमा भने गोलका लागि सहयोग गरेका थिए । मेक्सिकोविरुद्धको नकआउट चरणमा सोमबार नेमारले उत्कृष्ट प्रदर्शन गर्ने तयारी गरेका छन् ।
रुस विश्वकपअन्तर्गत समूह चरणको पहिलो खेलमा स्विट्जरल्यान्डसँग १-१ को बराबरीमा रोकिएपछि ब्राजिलको पनि केही आलोचना भएको थियो । विस्तारै खेलमा सुधार गरेको ब्राजिल पछिल्ला दुई खेलमा आकर्षक जित हात पार्दै समूह विजेताका रूपमा नकआउट चरणमा पुगेको थियो । ब्राजिलका प्रशिक्षक टिटेले नकआउट चरणमा टोलीको प्रदर्शनमा कुनै कमी आउन नहुने भन्दै खेलाडीलाई अहिले कडा अभ्यास गराइरहेका छन् ।