इन्फ्लुएन्जालाई बेवास्ता नगर
ज्वरो आएपछि अस्पताल पुगेका पत्रकार यादव थपलियाले दुई दिनपछि ज्यान गुमाए। उनीजस्तै सुरुमा साधारण रुघाखोकी अथवा ज्वरोको लक्षण देखिने भाइरल इन्फ्लुएन्जाका कारण आकस्मिक रूपमा ज्यान गुमाउनेको संख्या ठूलो छ। नेपालमा यो रोगको प्रकोप जाडो र वर्षा दुवै मौसममा बढ्ने गर्छ। गत पुसमा मात्र जाजरकोटमा यसैका कारण कैयौंले ज्यान गुमाए। खासगरी नेपालमा इन्फ्लुएन्जा ए र बीको संक्रमण हुने गरेको चिकित्सक बताउँछन्। यद्यपि हाम्रो देशमा यस रोगका कारण ज्यान गुमाउनेहरूबारे कुनै आधिकारिक तथ्यांक छैन। चिकित्सकले नेपालमा भाइरल इन्फ्लुएन्जाको मौसम सुरु भइसकेको चेतावनी पनि दिएका छन्। तर त्यसको रोकथाम र औषधोपचारबारे पर्याप्त तयारी हुने गरेको छैन। जसका कारण बर्सेनि कैयौं ज्यान गुमाउन अभिशप्त छन्।
नेपालमा मात्रै होइन, वार्षिक महामारीका रूपमा विश्वभर भाइरल इन्फ्लुएन्जा फैलिने गरेको छ। यो रोगको चपेटामा खासगरी बालबालिका र वृद्धहरू पर्ने गर्छन्। अन्य रोग लागेका मानिस अझ जोखिममा हुन्छन्। लक्षणबाट मात्र साधारण रुघाखोकी र भाइरल इन्फ्लुएन्जाको फरक थाहा पाउन मुस्किल हुन्छ। यसमा रुघाखोकी र निमोनियाका संयुक्त लक्षण देखा पर्ने चिकित्सकको भनाइ छ। कतिपयले यसलाई साधारण रोग ठानेर बेवास्ता र हेलचक्र्याइँ गर्ने गर्छन्, जसले बिरामीलाई मृत्युको मुखमा पुर्याउँछ। त्यस्तै थुप्रै स्थानमा चिकित्सककहाँ जानुभन्दा धामीझाँक्रीको भर पर्ने चलन पनि देखिन्छ। त्यसबाहेक सरकारी लापरबाही, चिकित्सकको अभाव, औषधिको अभावजस्ता कारण पनि असमयमै मानिसको ज्यान लिनका लागि जिम्मेवार छन्। अशुद्ध पिउने पानी, खानेकुरामा अखाद्य पदार्थको मिसावट, प्रदूषणजस्ता कारणले पनि प्रकोपलाई मलजल गर्छ। यसतर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी छ।
इन्फ्लुएन्जाको प्रकोप हुन नदिन यसबारे आवश्यक सचेतना हुन जरुरी छ। चिकित्सकहरू भाइरल रोक्न बारम्बार हात धुने सल्लाह दिन्छन्। सर्जिकल मास्क लगाउँदा पनि सुरक्षा हुन्छ। भाइरल इन्फ्लुएन्जाको जोखिम कम गर्न विश्व स्वास्थ्य संगठनले नै वार्षिकरूपमा खोप लगाउन सल्लाह दिएको छ। यस्तो सन्देश प्रभावकारीरूपमा आम मानिससम्म पुर्याउन आवश्यक छ। त्यस्तै खोपको उपलब्धतालाई पनि ध्यान दिन जरुरी छ। इन्फ्लुएन्जाको जोखिममा रहेका तर आर्थिक अवस्थाले त्यस्तो खोप धान्न नसक्ने समुदायलाई सरकारी तवरबाट निःशुल्क खोप उपलब्ध गराउन सकिन्छ भने त्यसको पनि व्यवस्था गर्नुपर्छ।
प्रकोपको समयमा थुप्रै स्थानमा चिकित्सक र औषधि अभाव हुने गरेको दृष्टान्त बर्सेनि देखिने गरेको छ। यस्तो हुन नदिन सुरुमै सचेतना अपनाउनुपर्छ। वर्षायाममा बाढीपहिरोजस्ता समस्याबाट औषधि आपूर्तिमा अवरोध हुनसक्छ। त्यसैले बेलैमा स्वास्थ्य संस्थाहरूमा आवश्यक औषधि आपूर्ति गर्नका लागि जनस्वास्थ्य कार्यालयले पहल गर्नुपर्छ। महामारीको रूप लिइसकेपछि मात्रै काठमाडौंबाट हेलिकप्टरमार्फत केही पोका औषधि र केही चिकित्सक पठाउने क्रम तोडिनुपर्छ। सरकारी लापरबाही र बेवास्ताका कारण मान्छेको ज्यान जोखिममा पर्नु आजको युगमा लज्जाको विषय हो भन्ने मनन गर्न आवश्यक छ।
भरपर्दो सडक नजोडिएका स्थान वा टाढाका स्थानमा सामान्य रोगको उपचार हुन नसक्दा महँगो मूल्य तिरेर हेलिकोप्टर चार्टर गराउनुपर्ने बाध्यतामा पनि जनता छन्। यसको अन्त्य गर्ने योजना र तयारी सरकारसँग हुन आवश्यक छ। गत पुसमा जाजरकोटमा महामारी फैलिँदा इन्फ्लुएन्जा हो कि होइन भन्ने पत्ता लगाउनसमेत रगतको नमुना काठमाडौं ल्याइएको थियो। यस्तो अवस्थाको अन्त्य गर्न कमसेकम हरेक जिल्लामा पूर्वाधार र जनशक्तियुक्त अस्पताल हुन आवश्यक छ। त्यसबाहेक इन्फ्लुएन्जाबाट बिरामी भएकाहरूलाई हेरचाहको सही तरिका पनि सिकाउन आवश्यक छ। जलवियोजन हुन नदिन पर्याप्त झोल पदार्थ सेवन गर्ने, दीर्घरोगी र गर्भवतीको विशेष ध्यान दिन तथा भाइरस फैलिन नदिन आवश्यक प्रबन्ध गर्ने उपायबारे पनि आम मानिसलाई जानकारी दिन जरुरी छ।