एक गाग्री पानी भर्न दिनरात
दुनै : हिमाली जिल्ला डोल्पाको एक गाउँमा खानेपानीको हाहाकार भएको छ । धाराको दायाँबायाँ दर्जनौँ खाली भाँडा राखेर पानी पालो पर्खंदै गरेका दर्जनौँ सर्वसाधारण मध्यरातसम्म धारामै देखिन्छन् ।
त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत वडा नं ९ मा पर्ने चुँ गाउँमा खानेपानी समस्याले विकराल रूप लिएको हो । क्षेत्री, दलित समुदायको दुई सय हाराहारीमा घरधुरी रहेको चुँ बस्तीका लागि एउटा मात्रै धारो छ ।
मान्छेको चाप धेरै भएको बस्तीमा एउटा मात्रै खानेपानीको धारो भएकाले खानेपानी समस्या प्रतिदिन विकराल बन्दै गएको स्थानीय बताउँछन् ।
‘पुस्तौंदेखि यही एउटा धारो हो, देशमा व्यवस्था फेरियो तर चुँबासीको नियती फेरिएन, खानेपानी समस्याको पिरलो अहिलेसम्म छुटेको छैन’, स्थानीय योगेन्द्रबहादुर कार्कीले भने ।
चुँबासीलाई खानेपानी समस्याले सताइरहेको छ । धारामा मान्छेको चाप धेरै भएपछि एक ग्रागी पानी ल्याउन घण्टौं हिँडेर छिमेकी गाउँ लिकु, दापुलगायत बस्ती धाउनुपर्ने बाध्यता छ ।
खानेपानी समस्या विकराल बन्दै गएपछि स्थानीय त्रसित भएका छन् । खानेपानीको धारा नै सुक्न थालेपछि पुस्तांैदेखि बस्दै आएको घरजग्गा बस्ती नै उठ्ने खतरा बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
चुँबासीले स्थानीय सरकारलाई खानेपानी माग गरेका छन् । ‘देशमा संघीयता आएको छ, गाउँ–गाउँमा सिंहदरबार आएको भन्छन्, हामी भने थोपा गनेर पानी प्रयोग गर्नुपर्ने स्थिति छ’, स्थानीय रुपचन्द्र बुढाले भने ।
सरकारको एक घर धाराको नीति हाम्रा लागि रहेनछ, आजको युगमा पनि पानीले काकाकुल बन्दासमेत सरकारले केही हेरेको छैन’, बुढाले गुनासो गरे ।