सुषुप्त लयमा गुन्डागर्दी

सुषुप्त लयमा गुन्डागर्दी

काठमाडौं : गुन्डा नाइके गणेश लामा हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि डिल्लीबजार कारागार छन्। लागुऔषध र हातहतियार घटनामै अर्का गुन्डा नाइके रमेश बाहुन पनि सोही कारागारमा छन्।

तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार निकट लामा फोरम पार्टी कांग्रेसमा प्रवेश गरेपछि उनी क्रमशः कमजोर बन्दै गएका छन्। काभ्रेका लामा काभ्रे र काठमाडौंलाई कर्मथलो बनाएर गुन्डागर्दी गर्ने गर्थे । लामाबाट प्रहरीले बरामद गरेको हतियार आफ्नो होइन भन्दाभन्दै पनि उनी पुर्पक्षमा जेल पुगे। कांग्रेस प्रवेशअघि प्रायः सधैं सरकारमा उपस्थिति जनाउने गच्छदारले लामालाई संरक्षण गर्दै आएका थिए पटकपटक। अहिले प्रतिपक्षका कमजोर नेता बनेका छन् गच्छेदार।

२७ करोड रुपैयाँ अवैध आर्जनमा सम्पत्ति शुद्धीकरणले विशेष अदालतमा लामाविरुद्ध मुद्दा दायर गरे पनि उनले सफाइ पाए गच्छेदारकै प्रभावमा। तर अहिले लामाका गुट छिन्नभिन्न भएका छन्। अहिले लामा सुषुप्त अवस्थामै रहेको जानकार प्रहरी अधिकारीहरू बताउँछन्। लामाले अहिले कानुनी छिद्रमार्फत काभ्रेमा क्रसर, बालुवा र जग्गामा हुने ठेक्कापट्टामा भाग खोज्ने काम छाडेका छैनन्।

डिल्लीबजार कारागारमा रहेका बाहुनले पनि अहिले जेलभित्रैबाट अपराध सञ्जाल फिँजाउँदै आएका छन्। जेलबाट उनले अहिले पनि दैनिक १० देखि १५ कल आफ्ना सहयोगीलाई गरिरहेका हुन्छन्। फोनबाट धम्क्याएर पैसा असुल्ने धन्दा बाहुनले अहिले पनि नछाडेको महानगरीय प्रहरी अपराध महाशाखाका एक प्रहरी अधिकृत बताउँछन्। पीडित नभएपछि प्रहरीले कारबाही अगाडि बढाउन सकेको छैन। ‘रमेश दाइको भाग खोई ? ’ भनेर बाहुनका सहयोगीले अहिले पनि व्यवसायीलाई धम्क्याउँदै आएका छन्। बाहुनका मुख्य सहयोगी शुक्र तामाङ हुन्।

महाराजगन्जलाई पडक बनाएर गुन्डागर्दी गर्दै आएका चक्रे मिलन पुरानो अवैध सम्पत्ति आर्जनसँगै रमाएर बसेका छन्। जानकार प्रहरी भन्छन्, ‘२० वर्षअघि असुली गरेको अवैध धन आर्जनको ब्याज खाएर बसेका छन् चक्रे।’ जग्गा प्लटिङ र हाइड्रोपावरमा आफ्नो हिस्सा खोजेर चक्रेले थुप्रै धन आर्जन गरेका छन्। महाराजगन्जस्थित अस्ट्रेलियन दूतावासपछि मात्रै चक्रेको सात रोपनी जग्गा रहेको प्रहरी रेकर्डमा छ। प्रायः एक्लै स्कुटीमा कुद्ने चक्रेको अधिकांश समय बालुवाटारस्थित सोमा क्याफेमा बित्छ। उनी त्यहाँ पुग्दा सहयोगी तयार भएर बसिसकेका हुन्छन्।

चक्रेले दैनिक ४० देखि ५० हजार रुपैयाँ खर्च गर्छन्। ‘प्रहरी रेकर्डमा अर्ब रुपैयाँभन्दा बढी सम्पत्ति रहेका चक्रेले आफ्ना नाममै सम्पत्ति राखेका छन्। केही आफ्ना सहयोगीका नाममा पनि राखेका छन्’, चक्रेलाई नजिकबाट नियालेका महाशाखाका एक प्रहरी अधिकृत भन्छन्, ‘उनले पैसा सिंगापुर र मलेसिया पुर्‍याएका छन्।’ अवैध धन आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले विशेषमा मुद्दा चलाए पनि चक्रेले सफाइ पाइसकेका छन्। महाराजगन्ज क्षेत्रमा हुने ठेक्कापट्टा गर्ने केही व्यवसायीले चक्रेलाई सीधै रकम बुझाउँछन्। ‘ ठेक्का एउटाले पाउँछ। त्यही पक्षले चक्रेलाई केही रकम बुझाएपछि प्रतिस्पर्धी ठेकेदारले ठेक्का आफ्नोमा पार्न हिम्मत गर्दैनन्’, एक प्रहरी अधिकृत भन्छन्, ‘पीडित कसलाई भन्ने ? उजुरी आउँदैन।’ प्रहरीले चक्रेलाई पटकपटक पक्राउ गर्छ। तर प्रमाण अभावमा सार्वजनिक मुद्दाबाहेक अन्य मुद्दा चलाउन सक्दैन।

अर्का गुन्डा नाइके राजु गोर्खाली अहिले राजधानीमा हुने ठूला पार्किङमा लगानी गर्दै आएका छन्। प्रहरीका रेकर्डमा हाइराइज बिल्डिङको पार्किङ हत्याउन र ठूला जग्गा विवादमा दलाली गर्ने काम गोर्खालीले छाडेका छैनन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एउटा पार्किङ गोर्खालीले सञ्चालन गर्दै आएको प्रहरी दाबी छ। न्युरोडमा सेनाको हस्पिटलअघिको पार्किङ ठेक्का आफ्नो नाममा पार्न अहिले गोर्खाली लागिपरेको प्रहरी अधिकृतको भनाइ छ। गोर्खालीले आफ्नो नाममा पार्किङ ठेक्का पाएपछि बढी मूल्यमा बिक्री गर्ने धन्दासमेत चलाइरहेका छन्।

सामाखुसीका साजन महर्जन अहिले झोरमा बालुवाको ठेक्का गर्छन्। प्लटिङको साना ठेक्कासमेत हात हाल्दै आएका महर्जनले अदृश्य ढंगबाट गुन्डागर्दी सञ्चालन गर्दै आएको प्रहरी बताउँछ। ठेक्कामा ‘च्याँखे दाउ’ थाप्न महर्जनले सेटिङ मिलाउने गरेको प्रहरी रेकर्ड छ।

ललितपुरका कांग्रेस नेता मीनकृष्ण महर्जनको ढुंगाखानीमा राम्रै दबदबा रहेको जानकार प्रहरी अधिकृत बताउँछन्। ढुंगाखानीमा महर्जनलाई ‘गुरुबा’ उपनामले चिनिन्छ। ललितपुरमा हुने ठूला ठेक्कापट्टा र प्लटिङमा महर्जनको हिस्सा रहने प्रहरी रेकर्डमा छ। जानकार प्रहरी भन्छन्, ‘सरकारी निकायकै सहयोगमा गुन्डाहरूले कानुनसम्मत ढंगले ठेकेदारलाई मिलाउँदै आएका छन्, जसका पीडित कोही भेटिँदैनन्।’ भक्तपुरका दाजुभाइ साने सगुन र ठूलो सगुनको दबदबा पनि कम छैन। ठेक्कापट्टा, पार्किङ र तस्करीमा उनीहरू संलग्न रहेको प्रहरी रेकर्ड छ। प्रमाण अभावमा उनीहरू पक्राउ पर्न भने सकेका छैनन्।

महाशाखाका ती प्रहरी अधिकृत भन्छन्, ‘गुन्डागर्दीको स्वरूप परिवर्तन भएको छ। पहिला ठेकेदारकहाँ गुन्डा पुग्थे। अहिले ठेकेदार नै गुन्डा भएका स्थानमा पुगेर हिस्सा बुझाउँछन्।’ दोस्रो तहका गुन्डा नाइके राधे भण्डारी मिनी क्यासिनोमा जुवा खेलाउन मिटर ब्याजमा पैसा लगानी गर्छन्। ठमेल र नयाँ बजार क्षेत्रमा पडक राख्ने भण्डारीले साना ठेक्कापट्टामा समेत हिस्सा खोज्ने गरेको प्रहरी रेकर्डमा उल्लेख छ।

बौद्धलाई आधार क्षेत्र बनाएर गुन्डागर्दी गर्दै आएका दाबा लामा, विष्णु लामा, सत्यमान लामा र प्रदीप बोगटीले अहिले ‘मोबाइल जुवा’ खेलाउँदै आएका छन्। जुवाडेलाई आफ्नै साधनमा राखी गोप्य ढंगबाट जुवा खेलाउँदै आएका यिनीहरूले भक्तपुर र काभ्रेमा समेत जुवाका अड्डा सञ्चालन गरेको रेकर्ड प्रहरीमा छ। जुवाडेहरूलाई मिटर ब्याजमा पैसा लगानी गर्ने उनीहरूको धन्दा नै हो।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचन हत्याका आरोपी लोप्साङ लामा अहिले भारतमा बसेर नेपाली व्यवसायीलाई फिरौती माग्दै आएको प्रहरी बताउँछ। लामाले अहिले पनि दैनिकजसो व्यवसायीलाई धम्याउँदै आएको महाशाखाका एक अधिकृतको भनाइ छ। प्रहरीका मोस्ट वान्टेड सूचीमा रहेका लोप्साङले विभिन्न माध्यमबाट ठेकेदार र व्यवसायीलाई फिरौती माग्ने धन्दा चलाइरहेका छन्। गुन्डा नाइकेद्वय दिनेश अधिकारी ‘चरी’ र कुमार घैंटे प्रहरी इनकाउन्टरमा मारिएपछि भने गुन्डाको मनोबल घटेको जानकार प्रहरी अधिकारी बताउँछन्।

यसैबीच गृहमन्त्री रामबहादुर थापाले गुन्डा र तस्करको दिनगन्ती सुरु भएको प्रतिक्रिया दिएका छन्। चन्द्रागिरि नगरपालिका- २ बाडभन्ज्याङलाई वाइफाई फ्रि घोषणा गर्ने क्रममा थापाले देशमा अराजकता, दण्डहीनता, भ्रष्टाचार, लागुऔषध तस्करी र गुन्डागर्दी समाजका लागि विष भएको भन्दै त्यस्ता काममा संलग्न हुनेहरूको दिनगन्ती सुरु भएको उल्लेख गरेका थिए।


कसैले महत्व नदिएपछि गुन्डा सुस्ताएका छन

-राजेन्द्रसिंह भण्डारी, पूर्वएआईजी

गुन्डा त्यस्तो पक्ष हो, जसलाई राजनीतिक पक्षले कानुनविरुद्ध जान तयार गर्छ। अहिले विशेषगरी सरकारले ठेकेदार, गुन्डागर्दी, तस्करी र आपराधिक गिरोहलाई कारबाही गर्ने नीति अवलम्बन गरेको छ। त्यो काम सुरु भइसकेको पनि छ। राजनीतिक दल वा व्यक्ति र व्यापारीले हुर्काएका गुन्डा अहिले सरकारले सिन्डिकेटविरुद्ध कारबाही थालेपछि सुषुप्त बनेका छन्। गुन्डा आफैं महत्व घटेको बुझेर पनि ‘साइलेन्स’ भएका हुन्। निर्वाचन, पार्टीका महाधिवेशन र ठूला राजनीतिक कार्यक्रम अहिले नभएकाले पनि गुन्डा बाहिर देखिएका छैनन्। अहिले राजनीतिक नेतृत्वले उनीहरूको आवश्यकता ठानेको छैन। राजनीतिक तहबाट संरक्षण नहुने देखिएपछि गुन्डा आफैं बाहिर नआएका हुन्। भविष्यमा राजनीतिक गतिविधि एवं पार्टीका महाधिवेशन आदिमा पुनः उनीहरू संरक्षित हुन सक्छन् र सार्वजनिक पनि।

गुन्डा नियन्त्रणका लागि गुन्डागर्दीविरुद्धको ऐन ल्याउनुपर्छ भनेर धेरै बहस भयो। राज्यले आवश्यक नठानेर हो वा गुन्डा आवश्यक ठानेर हो त्यो अझसम्म आएको छैन। अब गुन्डाको वर्गीकरण हुनु जरुरी छ। गुन्डालाई संगठित अपराधको दायराभित्र ल्याएर परिभाषित गरी उनीहरूलाई कारबाही गर्नु जरुरी छ।


 


प्रहरी नेतृत्वको डरबाट त्रस्त छन्
-शैलेश थापा क्षेत्री, एसएसपी एवं प्रवक्ता, केन्द्रीय प्रहरी

गुन्डागर्दी सुषुप्त अवस्थामा रहनुमा पहिलो कारण नयाँ प्रहरी नेतृत्वको छविले हुन सक्छ। अर्काे सबै प्रहरी युनिटलाई गुन्डागर्दीलगायतका शान्तिसुरक्षामा अवरोध पुर्‍याउने जुनसुकै तत्वमाथि कठोर भएर कारबाही गर्ने स्पष्ट निर्देशन छ।

पहिला निर्देशन हुन्थ्यो, ‘एक्सन’को अवस्था कमजोर हुन्थ्यो। तर अहिले प्रहरी मुख्यालयले बेलाबेलामा सुपरिवेक्षण गरेर पनि कारबाहीको अवस्थाबारे प्रहरी कार्यालय प्रमुखको रायसमेत बुझ्दै आएको छ। प्रत्येक प्रहरी कार्यालयले आफ्नो क्षेत्रमा रहेका गुन्डाको लिस्ट तयार पार्ने र उनीहरूका गतिविधिलाई निगरानी गर्दै आएका छन्। हामीले कोही पनि व्यापारी वा जुनसुकै तहका व्यक्ति गुन्डाबाट प्रताडित भएको अवस्थामा सूचना दिन अह्वान गरेका छौं।

सूचना दिने व्यक्तिको नाम गोप्य राखिन्छ। सूचना दिएर पनि कारबाही नगर्ने वा कारबाही गर्न पछि हट्ने प्रहरी अधिकारीको सूचना दिए हामी विभागीय कारबाही गर्छौं। प्रहरीलाई गुन्डागर्दीसँगै अन्य आपराधिक सूचना दिन हटलाइनहरू १११३ र १०० खुला छन्। गुन्डागर्दीविरुद्धको ऐन आउँदा व्यवस्थित हुन्थ्यो। तर ऐन अभाव भएकै कारण कारबाही भने रोकिएको छैन। प्रमाण अभावमा पनि गुन्डाविरुद्ध कारबाही गर्न अप्ठ्यारो परेको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.