फेरियो विद्यालय संरचना, फेरिएन शिक्षकको तह
काठमाडौं : दुई वर्षअघि संशोधित शिक्षा ऐनअनुसार विद्यालय तहको संरचना परिवर्तन गरिए पनि शिक्षकका तहगत संरचना भने परिवर्तन हुन सकेको छैन। शिक्षकको तहगत संरचना परिवर्तन गर्ने कि पुरानै तह अनुसार कार्य सम्पादन गराउने भन्नेमा आधिकारिक निर्णय पनि अहिलेसम्म भएको छैन। ऐनको आठौं संशोधन अघि विद्यालयलाई कक्षा एकदेखि पाँचसम्म प्राथमिक, ६ देखि आठसम्म निम्न माध्यमिक, नौ र दश माध्यमिक तथा कक्षा एघार र बाह्रलाई उच्च माध्यमिक तह मानिएको थियो।
ऐनको आठौं संशोधनले यो संरचनालाई परिवर्तन गरी कक्षा एकदेखि आठसम्मलाई आधारभूत र नौदेखि बाह्रसम्मलाई माध्यमिक तहमा परिभाषित गरेको छ। तर शिक्षकको तहगत संरचना भने अहिले पनि प्राथमिक, निम्न माध्यमिक, माध्यमिक र उच्च माध्यमिक नै कायम गरिएको छ। शिक्षक सेवा आयोगले दुई साताअघि आह्वान गरेको खुल्ला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति सम्बन्धी विज्ञापनमा पनि पुरानै तह अनुसार सूचना प्रकाशित गरिएको छ।
आन्तरिक प्रतिस्पर्धाबाट नियुक्ति गरिने शिक्षकका लागि पनि तीन तहमा नै सूचना जारी गरिएको छ। अहिलेसम्म आयोगले पुरानो संरचना अनुसार कक्षा दशसम्म पढाउने शिक्षकको मात्र पूर्ति गर्दै आएको छ। आयोगका प्रशासकिय अधिकृत डा.तुलसीप्रसाद थपलियाले भने, ‘कानुनी रुपमा शिक्षकको तहगत संरचना परिवर्तन भएको छैन। ऐन तथा कानुनमा पनि यस बारेमा कँही कतै ब्याख्या गरिएको छैन।’
विद्यालयको तहगत संरचना दुईवटा मात्र भएपनि पाठ्यक्रम विकास केन्द्रले बनाइरहेको विद्यालयको पाठ्यक्रम भने फरक फरक तहका लागि फरक फरक भएका कारण शिक्षक नियुक्ति पनि पुरानै शैलीअनुसार गर्दा समस्या नहुने प्रशासकीय अधिकृत थपलियाले बताए।
‘प्राथमिक तह भनेको विद्यार्थीको भावना बुझेर पढाउने तह हो। निम्न माध्यमिक र माध्यमिक तह भनेको विषय अनुसार ज्ञान दिएर पढाउने तह हो’, थपलियाले भने, ‘विदेशतिर पनि विद्यालय संरचना थोरै भएपनि शिक्षकका तह भने फरक फरक हुन्छन्। नेपालमा पनि त्यस्तै मोडल लागू गर्न सकिन्छ।’
अहिले विद्यालय तहमा एक लाख सात हजार शिक्षक दरबन्दी छ। तीमध्ये ८० हजार स्थायी र २७ हजार अस्थायी छन्। राहत कोटाका ३९ हजार तथा बाल विकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ता तीस हजारको हाराहारी छन्।
कक्षा एघार र बाह्रमा पढाउने शिक्षकको दरबन्दी चार हजार छ। अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्माले एक वर्षको अवधिमा दुई पटक शिक्षा ऐन संशोधन भएपनि शिक्षकका तहको विषयमा भने केही व्यवस्था नभएको बताए।
‘आठौं पटक ऐन संशोधन हुँदा विद्यालयको तह फेरियो तर शिक्षकको बारेमा केही बोलेन। फेरि नवौं पटक संशोधन भयो तै पनि केही व्यवस्था गरिएन’, शर्माले भने।
विद्यालय तहका शिक्षकको दरबन्दी मिलान गर्न अहिले कायम शिक्षकको प्रथम, द्वितीय र तृतीय श्रेणीमा विशिष्ट पनि थपेर चार श्रेणी बनाउनुपर्ने प्रस्ताव शिक्षकको छ। ‘यसो गर्दा अहिलेको प्राथमिक र निम्न माध्यमिक तहकालाई समायोजन गरी एक समूह र माध्यमिक र उच्च माध्यमिक तहकालाई समायोजन गरी अर्को समूह बनाउन सकिने आधार हामीले दिएका छौं’, शर्माले भने, ‘तर शिक्षा मन्त्रालयका कर्मचारीले मानेका छैनन।’