सरकारको मूल्यांकन गर्नेबेला भएको छैनः थापा
वीरेन्द्रनगरः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको कामकारबाहीको विषयमा अहिले नै ठोस मूल्यांकन गर्नेबेला नभएको बताएका छन् । पार्टीको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको कर्णाली प्रदेश भेलालाई सम्बोधन गर्न सुर्खेत पुगेका अध्यक्ष थापाले यस्तो बताएका हुन् ।
सुर्खेतका सञ्चारकर्मीहरुसँगको कुराकानीमा पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेका थापाले सरकार गठन भएको पाँच महिना मात्रै भएकाले अहिले नै मूलयांकन गर्ने समय पुगिनसकेको बताए । ‘धेरै समयपछि स्थायी सरकार आएको छ, केही गतिविधिहरु र अभिव्यक्तिलाई दृष्टीगत गर्दा केही आशा पलाएको छ,’ उनले भने, ‘तर सत्तारुढ दलका नेता र मन्त्रीहरुको दम्भपूर्ण अभिव्यक्ति हेर्दा भने एकदलीय व्यवस्था लाद्न खोजिएको जस्तो आभास पनि हुन्छ ।’
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा भएका सन्धी सम्झौताहरु स्वागतयोग्य भएको उनको भनाइ थियो । दुईवर्षअघि आफू सरकारमै हुँदा भएका सन्धी सम्झौताहरु दुईवर्षपछि पुनःकार्यान्वयनमा आउने प्रतिबद्धता व्यक्त हुनु राम्रो भएको उनले बताए । उनले भने, ‘तर पछिल्लो समय सरकारले विरोध गर्ने र प्रतिपक्षको जबरजस्ती मुख थुन्ने कार्य गरेको देखिनुले लोकतन्त्रको आडमा एकदलीय शासन व्यवस्था लागु गर्न खोजेको अनुभुति हुन्छ ।’
असोज मशान्तभित्र सबै स्थानीय तहका वडाहरुमा पार्टीका संगठन विस्तार गरी एजेण्डा प्रचारप्रसार गर्ने र माघ मशान्तभित्र मेची–महाकाली हिन्दुराष्ट्र घोषणा अभियानलाई तीव्रताका साथ सम्पन्न गर्ने कार्ययोजना भएको राप्रपाले जनाएको छ । अगामी फागुन सात गतेदेखि देशैभरबाट दुईलाख जनतालाई धर्मनिरपेक्षता खारेजी र हिन्दु राज्य पुनःस्थापनाका लागि सडक संघर्षमा उतार्ने राप्रपाको तयारी छ ।