नानीबाबुसँग अनुपराज शर्माका मनका कुरा

नानीबाबुसँग अनुपराज शर्माका मनका कुरा

असल संगतले संकुचित भावना हटाउँछ

मेरो जन्म काठमाडौंको असनमा भए पनि बाल्यकाल भारतको उडिसामा बित्यो। हाम्रो बाबा त्यहाँ एउटा सिनेमा हलको व्यवस्थापक हुनुहुन्थ्यो। हाम्रो क्वाटर पनि फिल्म हलनजिकै थियो। यसले गर्दा सानैदेखि हिन्दी फिल्म हेर्ने मौका पाइयो र यसमा रस बस्दै गयो। यो २००७ सालअघिको कुरा हो।

उडिसा जाँदा रक्सौलको बाटो भएर जान्थ्यौं। थानकोट, चन्द्रागिरि, चित्लाङ, कुलेखानी भएर अमलेखगन्ज पैदल पुग्दा खुब मनमोहक दृश्य देखिन्थे। त्यसबेला गंगा नदीमा जहाज चढ्नु पथ्र्यो। एउटा किनाराबाट अर्को किनारा पुगेर रेल चढ्दाको मज्जा शब्दमा व्यक्त गर्न कहाँ सकिन्छ र ? त्यसपछि हामी कलकत्तामा दुई, तीन दिन बिताएर मात्रै उडिसा पुग्थ्यौं।

अनुपराज शर्मा

पहिलो पटक हवाईजहाज चढ्दाको अनुभव सम्झनामा ताजै छ। त्यतिबेला डकोटा जहाज चल्थे। उड्दाउड्दै ह्वात्तै तल झर्थे। जहाज उफ्रिएझैं लाग्थ्यो। जहाजको ब्यालेन्स नमिलेर कहिलेकाहीँ सामान पनि तल झर्थे। सुविधासम्पन्न होटेलमा बसेर नयाँ सहर घुम्न पाउँदा खुब रमाइलो लाग्थ्यो। नयाँ अनुभवले विचार फराकिलो बनाउँदो रहेछ। धेरै कुरा सिकाउँदो रहेछ।

उडिसामा रहँदा हामी अंग्रेजी र उडिया भाषामा पढ्थ्यौं। त्यहाँ मेरो विभिन्न ठाउँका साथीसँग संगत भयो। असल संगतले मानिसलाई संकुचित हुनबाट रोक्छ। दुनियाँ चल्ने भनेकै आम मान्छे र तिनीहरूको व्यवहारले हो।

मैले काठमाडौंमा यस्ता पनि मान्छे भेटेको छु जो बेलायत पुगेका छन् भक्तपुर गएका छैनन्। देशभित्रै घुम्ने ठाउँ प्रशस्तै छन्। राजधानी छोडेर पाँचखाल पुग्दा मधेस पुगे जस्तो लाग्छ। यहीँबाट हिमाल पनि देखिन्छ। मेरो अनुभवमा घुम्ने र हिँडडुल गर्ने बानीले धेरै कुरा सिकिन्छ। मान्छे चिन्न पाइन्छ अनि समाज देख्न पाइन्छ। परिवारसँग घुम्न पाउँदा अझ रमाइलो हुन्छ। विविध पक्षको ज्ञान हासिल गर्न सजिलो हुन्छ। जुम्ला जाँदा म पैदल पनि हिँडे। त्यहाँका मानिससँग प्रत्यक्ष संवाद गर्न पाउँदा आनन्द आयो।

हाम्रो बुवा घुम्नको सौखिन हुनुहुन्थ्यो। त्यो बेला भारतमा सुविधासम्पन्न रेल आइसकेको थियो। रेलको बाथरुम, ट्वाइलेट अत्यन्तै आकर्षक थिए। हवाईजहाजको यात्राभन्दा रेलको यात्रा मनमोहक हुन्छ। अनेकन दृश्यको स्वाद लिन पाइन्छ। म स्विट्जरल्यान्ड गएका बेला जनेभाबाट अन्य सहरमा रेलबाटै यात्रा गर्छु। रेल पहाडमा चढ्दा, टनेलमा छिर्दा, हिउँमा हिँड्दा खुब मज्जा आउँछ।

म सामान्य खाले विद्यार्थी हुँ। म टपर पनि होइन र कमजोर पनि थिइनँ। कक्षामा शिक्षकले सोधेको विषयमा सधैं तयार हुन्थेँ, सजिलै जवाफ दिन्थेँ। मलाई बाहिरका कुराले बढ्ता आकर्षण गथ्र्यो। अन्य किताब पढ्दापढ्दै म कोर्सका किताब पढ्ने समय निकाल्न सक्दिनथेँ। ती किताबले मलाई जीवनमा संघर्ष गर्न सिकाइरहेका छन्। मेरा ज्ञानका चक्षु खुलाएका छन्।

अन्य किताब पढ्दापढ्दै म कोर्सका किताब पढ्ने समय निकाल्न सक्दिनथेँ। ती किताबले मलाई जीवनमा संघर्ष गर्न सिकाइरहेका छन्। मेरा ज्ञानका चक्षु खुलाएका छन्।

हामीले पढ्दा र विषयको छनोट गर्दा आफ्नो रुचि र रहरअनुसार गर्नुपर्छ। राम्रो डिभिजन ल्याउँदैमा साइन्स पढ्नुपर्छ भन्ने होइन। अरू विषयमा पनि विविध सम्भावना हुन्छन्। अभिभावकका यस्ता करकापबाट पनि चनाखो बन्नुपर्छ। हामीले पढेको विषय चरित्र निर्माणमा सहयोग गर्ने खालको हुनुपर्छ। मानिस भएर मानिसको चरित्र निर्माण गर्न सकिएन, समाजका लागि केही योगदान दिन सकिएन भने जीवन निरर्थक हुन्छ।

म सानामा पौडी खेल्न औधी रुचि राख्थेँ। हाम्रा वरपर साना ठूला पोखरी प्रशस्तै थिए। एकपटक पौडी खेल्ने क्रममा दाजु डुब्नु भयो। उहाँलाई पौडी खेल्न नजान्ने मान्छेले दुःखले निकाले। उहाँ निकै कष्टसाथ बाँच्नुभयो। त्यसपछि आमाले हामीलाई पानीको छेउ पर्नै दिनुभएन। पछि मेरो साइलो मामा पनि पानीमा डुबेर गोकर्ण नजिकै बित्नुभयो। पौडी खेल्न नजानेकोमा मलाई अहिले पनि ज्यादै दुःख लाग्छ।

भारत र नेपालको समाजमा धेरै विविधता पाइन्छ। नेपालमा काम गर्ने मान्छेलाई पहिले जात सोधिन्छ। यहाँ होटेलमा मात्र होइन डेरा खोज्दा पनि जात सोधिन्छ। भारतका सहरमा नेपालमा जस्तो जातपातको यस्तो विभेद देखिँदैन।

एकपटक जुम्लाको गुठीचौर पुग्दा एक कानुन व्यवसायी पनि सँगै थिए। त्यहाँ ठेकीमा मोही बोकेर मानिसहरू हिँडिरहेका देखिए। मैले साथीलाई मोही किनेर खान आग्रह गरेँ। उनले मोही बोक्नेलाई जात सोधे। उनीहरू दलित रहेछन्। यो थाहा पाएपछि उनी हच्किए। मैले थाहा पाइहालेँ। तिमी त क्रान्तिकारी, प्रगतिशील मान्छे भनेर मैले प्रश्न गर्दा म ठकुरीको छोरा यहाँको समाजमा दलितले छोएको कहाँ खान मिल्छ त ? भन्ने जवाफ दिए। म तीन छक्क परेँ।

हामी उडिसाबाट नेपाल आउँदा घरमा साहित्यिक जमघट भइरहन्थे। भवानी भिक्षु, नारायणप्रसाद बाँस्कोटा बाक्लै आइरहनुहुन्थ्यो। बाँस्कोटा त्यतिबेला प्रगतिका सम्पादक हुनुहुन्थ्यो। त्यसबेला भारतमा बालक र चन्दा नामका बालपत्रिका छापिँदा रहेछन्। ती पत्रिका ल्याएर भिक्षुले दिनुहुन्थ्यो। त्यो पत्रिका पढ्दा अलौकिक आनन्द प्राप्त हुन्थ्यो। यसले पनि मेरो पढ्ने बानीको विकास भयो।

म सानो छँदा पुतलीसडक आजको जस्तो थिएन। २००२ सालमै बनेको भए पनि थापाथलीदेखि कमलादी मोडसम्मको बाटो ज्यादै चौडा थियो। एक साइडमा घरहरू जोडेर बनाइएका थिए भने अर्को साइडमा बगैंचासमेतका घरहरू थिए। त्यतिबेला कमलादीको बाटो र प्रदर्शनी मार्ग थिएनन्। अहिले प्रज्ञा प्रतिष्ठान भएको ठाउँमा सब्जी खेती गरिन्थ्यो। पुतलीसडकबाट टुँडिखेल जाँदा खेतको आली भएर जानुपथ्र्यो। भोटाहिटीसम्म सहर जस्तो लाग्थ्यो।

बागबजारमा पनि एक लाइन मात्र घर थिए। कालिकास्थान र बागबजारमा दिउँसो एक्लै हिँड्न सहज थिएन। गतिलो सामान किन्न असन पुग्नुपथ्र्यो। आजकल असनका मानिसहरू पुतलीसडक किनमेलका लागि आउन थालेका छन्। गोदावरी कता हो कता टाढा लाग्थ्यो। त्यहाँ पुग्दा पूर्व एक नम्बर पुगेझैं लाग्थ्यो। मैतीदेवी, डिल्लीबजार, बानेश्वरका मानिसहरू नगरपालिकाभित्रै बसेर पनि आफूलाई सहरभन्दा पृथक् रहेको ठान्थे।

भाइबहिनीले निश्चय पनि पढाइमा ध्यान दिनैपर्छ। तर कोर्सबुकको मात्र ज्ञान अधुरो हुन्छ। कहिलेकाहीँ म आफैंलाई पनि हेर्छु। मैलै एसएलसी पद्मोदय हाइस्कुलबाट दोस्रो श्रेणीमा पास गरेँ। त्यसपछि बिएस्सी पढेँ अनि कानुनमा स्नातक गरेँ। कोर्स बुकको पढाइले निश्चय नै राम्रो नम्बर ल्याउन मद्दत गर्छ। तर त्यो मात्र सबथोक होइन। पढेर ज्ञान कति प्राप्त भयो भन्ने कुरा महत्वपूर्ण हुन्छ।

जीवनी पढ्ने सानैदेखिको मेरो बानी हटेको छैन। भूगोल, इतिहास पढ्दा म उत्तिकै आनन्द प्राप्त गर्छु। नेपालको विषयमा लेखिएका किताब पाएसम्म पढ्ने गरेको छु। कानुनको विद्यार्थी भएर चार दशकभन्दा बढी सोही क्षेत्रमा अभ्यास गरेको मलाई साहित्यक कार्यक्रममा पनि निम्ता आइरहन्छ। विख्यात साहित्यकार केशवराज पिँडालीको छोरो भएर मात्र मैले यो मौका पाएको होइन, म साहित्य पनि उत्तिकै पढ्छु। एउटा मात्र विषयवस्तुमा केन्द्रित हुने मान्छे एकांगी हुन सक्ने सम्भावना हुन्छ। त्यसकारण भिन्न विषयको ज्ञान आवश्यक हुने रहेछ।

(राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष शर्मासँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित।)
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.