विपद् व्यवस्थापनमा खटाइयो सेना र प्रहरी
काठमाडौं : बाढीपहिरोको प्रकोपले मानवीय तथा भौतिक क्षति हुने क्रम बढेपछि सरकारले विपद्मा परेकाको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको संयन्त्र खटाउन थालेको छ । बाढीबाट पुलमा क्षति पुगी राजमार्ग नै ठप्प हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी अमेरिकाबाट ल्याइएका चारवटा एक्रोब्रिज पनि तयारी अवस्थामा राखिएको छ ।
सुरक्षाका सबै अंग बाढीप्रभावित र सम्भावित क्षेत्रमा खटाइएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जानकारी दिएको छ । विपद्बाट हुने जोखिम न्यूनीकरण र विपद्पछिको व्यवस्थापनमा सुरक्षाका सबै अंग परिचालन गरिएको केन्द्रका प्रमुख उपसचिव शंकर हरि आचार्यले बताए ।
असारमा दुई साताको अवधिमा मात्रै देशभरमा विपद्का घटनामा परी ६८ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । नेपाली सेनाका लागि अमेरिकाबाट ल्याइएको चार सेट एक्रोब्रिज वीरगन्ज–काठमाडौं मुख्य सप्लाई रुटलाई निरन्तर राख्ने अभिप्रायःले जितपुर चितवन, बैरेनी र थानकोटका साथै रिभरराइन बोट नं २ फिल्ड मस्र्याङ्दी गुल्म र दियालो बंगलामा तैनाथ अवस्थामा राखिएको गृह मन्त्रालयको भनाइ छ । यसैगरी मनसुनलाई दृष्टिगत गरी पूर्वमा इटहरी र पश्चिममा सुर्खेतमा उद्धारका लागि हेलिकप्टर राखिएको छ । सेनाले सातै प्रदेशमा उद्धारका लागि रेस्क्यू बोटको व्यवस्था पनि गरेको छ ।
नेपाल प्रहरीमा रहेका विपद् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त ४ सय ८० सुरक्षाकर्मीमध्ये केन्द्रमा २ सय ३० जना तैनाथ अवस्थामा राखिएको गृहको भनाइ छ । प्रदेश १ मा ४४, प्रदेश ३ मा ५६, प्रदेश ४ मा ५१, प्रदेश ६ मा ५० र प्रदेश ७ मा ४८ जना प्रहरी खटाइएको छ । यसैगरी प्रहरीका प्रत्येक क्षेत्रीय तालिम केन्द्रमा ५०, क्षेत्रीय प्रहरी सशस्त्र गणमा ५०, क्षेत्रीय प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा २५–२५ जनाका दरले छुट्टै उद्धार टोलीसमेत तैनाथ अवस्थामा राखिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
सशस्त्र प्रहरीले पनि विपद् प्रभावित स्थानमा ३ सय ५० जना विपद् व्यवस्थापन टिम परिचालन गरेको छ । सशस्त्र प्रहरीले उद्धारका लागि विभिन्न हेभी इक्विपमेन्ट पनि तयारी अवस्थामा राखेको आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख आचार्यले बताए । यसअनुसार सशस्त्र प्रहरीका उद्धार सामग्री कोल्याप्स स्टक्चर सर्च एन्ड रेस्क्यू ५६ सेट, फायर फाइटिङ इक्विपमेन्ट २४ वटा, ¥यापलिङ क्लाइम्बिङ इक्विपमेन्ट १६ वटा, डिप डाइभिङ इक्विपमेन्ट २५ वटा, आउट बोट मोटर ९ वटा, रेक्स्यू राफ्ट २२ वटा, ड्रोन एउटा, लाइफ डिटेक्टिङ इक्विपमेन्ट ४ र एउटा सोनर तयारी अवस्थामा राखिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।