काभानीको कमाल
मस्को : आफ्ना दुई अनुभवी खेलाडी एडिन्सन काभानी र लुइस स्वारेज चम्किएपछि उरुग्वे जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । उरुग्वेले आइतबार राति खेलिएको प्रतिस्पर्धात्मक खेलमा क्रिस्टियानो रोनाल्डो प्रेरित पोर्चुगललाई २–१ गोलले हरायो । रोचक खेलमा उरुग्वेमा लागि दुवै गोल काभानीले गरे ।
पोर्चुगलका लागि एक गोल पेपेले गरेका थिए । उरुग्वेले क्वार्टरफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । दुई पटकको विश्वकप विजेता उरुग्वेले सन् १९३० पछि विश्वकपमा लगातार चार खेल जितेको यो पहिलो पटक हो ।
खेलमा औसत ६५ प्रतिशत बल नियन्त्रणमा लिएको पोर्चुगलमाथि काभानी र स्वारेजको जोडी हाबी भयो । काभानीले सातौं मिनेटमा गोल गर्दै टोलीको उत्साह बढाए । स्वारेजले डीबक्स बाहिरबाट दिएको क्रसमा काभानीले हेड गोल गरेका थिए ।
पहिलो हाफमा १–० ले पछि परेको पोर्चुगलले दोस्रो हाफको सुरुमा बराबरी गोल फर्कायो । पोर्चुगलका लागि पेपेले ५५औं मिनेटमा जवाफी गोल गरे । राफेल ग्वेरेरोको पासमा पेपेले पोस्ट नजिकबाट हेड गोल गरेका थिए । ३५ वर्ष एक सय २४ दिन पुगेका पेपे विश्वकप र युरोपियन च्याम्पियनसिपमा गोल गर्ने पोर्चुगल वा सबैभन्दा बढी उमेरका खेलाडी पनि बनेका छन् ।
निर्धारित समयको ६२औं मिनेटमा काभानीले डीबक्स बाहिरबाट गरेको सशक्त प्रहारले सोझै जाली चुमेपछि उरुग्वेको जित पक्का भयो । काभानीले रोड्रिगो बेन्टाकुरको पासमा दोस्रो गोल गरेका हुन् । दोस्रो हाफमा मात्र पोर्चुगलले चारवटा अवसर गुमाएको थियो ।
क्लब फुटबलका सबैखाले सफलता हात परेका रोनाल्डोका लागि सम्भवतः अन्तिम विश्वकप यात्रा अन्तिम १६ मै रोकिन पुग्यो । खेल सकिनुभन्दा १६ मिनेटअघि ३१ वर्षीय काभानी घाइते भएर मैदानबाट बाहिरिएका थिए । काभानीले उरुग्वेका लागि गरेको गोल संख्या ४५ पुगेको छ ।
समूहगत चरणको पहिलो खेलमा स्पेनविरुद्ध ह्याट्रिक गरेका ३३ वर्षीय रोनाल्डोले मोरक्कोविरुद्धको दोस्रो खेलमा पनि निर्णायक गोल गरेका थिए । हारपछि रोनाल्डोले तत्काल आफू सन्न्यास लिने योजनामा नरहेको प्रतिक्रिया दिएका छन् ।
‘पोर्चुगल मेहनती र महŒवाकांक्षी खेलाडीले भरिएको टोली हो । उरुग्वेविरुद्ध हामीले धेरै राम्रो खेलेका थियौं तर, खेल उरुग्वेले जित्यो । कुनै दिन हामीले विश्वकप जितेर छाड्ने छौं,’ रोनाल्डोले भने । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा रोनाल्डो ३७ वर्ष पुग्नेछन् ।