बेल्जियमविरुद्ध एसियाली आशा
मस्को : जारी विश्वकपको सोमबार हुने प्रिक्वार्टरफाइनल खेलमा एसियाली टोली जापानले बलियो प्रतिद्वन्द्वी बेल्जियमको सामना गर्दैछ । जारी विश्वकपमा एसियाको प्रतिनिधित्व गरेका पाँच टोलीमध्ये जापान मात्र नकआउट चरणमा पुग्न सफल भयो । समूहगत चरणमा तीनवटै खेल जित्दै नकआउट चरणमा पुग्ने तीनवटा टोलीमध्ये, बेल्जियम पनि एक हो । बेल्जियमबाहेक उरुग्वे र क्रोएसियाले मात्र समूहगत चरणमा तीनवटै खेल जितेका थिए ।
समूह ‘जी’ बाट विजेताका रूपमा नकआउट चरणमा पुगेको बेल्जियमले आफ्नो पहिलो खेलमा पानामालाई ३-० गोलले हराएको थियो । दोस्रो खेलमा ट्युनिसियामाथि ५-२ गोलको जित हात पारेको बेल्जियमले तेस्रो खेलमा भने बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई १-० गोलले हराएको थियो । यसको विपरीत समूहगत चरणमा औसत प्रदर्शन गरेको जापान भने बल्लतल्ल नकआउट चरणमा पुगेको हो।
समूह ‘एच’ बाट चार अंकसहित उपविजेताका रूपमा प्रिक्वार्टरफाइनलमा स्थान बनाउन जापानले ठूलै कसरत गर्नु परेको थियो । समूहगत चरणको आफ्नो पहिलो खेलमा बलियो कोेलम्बियालाई २-१ गोलले हराएको जापान दोस्रो खेलमा भने सेनगलसँग २-२ को बराबरीमा रोकिएको थियो । तेस्रो खेलमा पोल्यान्डसँग १-० गोलले पराजित भएपछि जापान र सेनेगलको चार÷चार अंक भएको थियो।
समूहगत चरणको अन्तिम खेलपछि जापान र सेनेगलको अंकसँगै गोलअन्तरसमेत समान भएपछि ‘फेयर प्ले’ का आधार जापान अगाडि बढेको हो । जापानले चार र सेनेगलले ६ वटा कार्ड पाएका कारण मात्र जापानको नकआउट चरणको यात्रा सम्भव भएको थियो । त्यसैले विगतको प्रदर्शनसँगै जारी विश्वकपकै खेललाई समेत आधार मान्दा जापानका लागि बेल्जियम निकै बलियो प्रतिद्वन्द्वी हो ।
त्यसमाथि विश्वकपमा एसियाली टोलीहरूविरुद्घ बेल्जियमको प्रदर्शन पनि उत्कृष्ट रहँदै आएको छ । बेल्जियमले विश्वकपमा हालसम्म एसियाली टोलीहरूविरुद्घ खेलेका ६ मध्ये तीन खेलमा जित हात पारेको छ । एक खेल बराबरीमा सकिएको छ भने एक खेलमा मात्र एसियाली टोलीले जित हात पार्न सकेको छ । जापान यसअघि सन् २०१० को विश्वकपमा दोस्रो चरणमा पुगेको थियो । त्यतिबेला जापानलाई प्रिक्वार्टरफाइनलमा पाराग्वेले पेनाल्टी सुटआउटमा ५-३ गोलले हराएको थियो । सन् २०१४ को विश्वकपमा भने जापान समूहगत चरणबाटै बाहिरिएको थियो ।
बेल्जियम भने सन् २०१४ को विश्वकपमा पनि समूह विजेताकै रूपमा नकआउट चरणमा पुगेको थियो । उक्त विश्वकपमा बेल्जियमलाई क्वार्टरफाइनलमा अर्जेन्टिनाले १-० गोलले हराएको थियो । पछिल्लो पटक बेल्जियम र जापानबीच सात महिनाअघि विश्वकपकै अभ्यास खेलका क्रममा भिडन्त भएको थियो । उक्त खेलमा रामेलु लुकाकुको गोलमा बेल्जियम १-० ले विजयी भएको थियो । विश्वकपमा भने यसअघि बेल्जियम र जापानबीच एक पटक खेल भएको छ । उक्त खेल २-२ गोलको बराबरीमा सकिएको थियो ।