विश्वकप : आजका खेलमा प्रभाव पार्न सक्ने खेलाडी

विश्वकप : आजका खेलमा प्रभाव पार्न सक्ने खेलाडी

माया योसिदा (जापान)

जारी विश्वकपमा एसियाली टोलीको साख जगाएको जापानले नकआउट चरणमा बलियो प्रतिद्वन्द्वी बेल्जियमको सामना गर्दा जापानको रक्षापंक्तिको मुख्य जिम्मेवारी माया योसिदाको काँधमा आएको छ । योसिदा टोलीमा मुख्य रक्षक हुन् । योसिदाले जापानको पछिल्लो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । जारी विश्वकपमा जापानलाई अघिल्लो चरणमा पुर्‍याउन पनि योसिदाको बलियो रक्षपंक्ति मुख्य हतियार बन्यो ।

समूह ‘एच’ को पहिलो खेलमा जापानले कोलम्बियालाई २-१ ले हराउँदा रक्षापंक्तिको योसिदा अडिग देखिए । विपक्षी खेलाडीलाई आफ्नो क्षेत्रमा रोक्नमात्रै हैन, आफ्नो क्षेत्रबाट बल अघि बढाउँदै गोलका लागि स्ट्राइकरलाई अवसर सिर्जना गर्न र आफैं गोल गर्नसमेत उनी सक्षम छन् । तुलनात्मक रूपमा बलियो देखिएको बेल्जियमलाई रोक्न पनि प्रशिक्षक अकिरा निसिनोको पहिलो रोजाइमा यिनै २९ वर्षीय योसिदा परेका छन् ।

सन् २०१२ को लन्डन ओलम्पिकमा जापानको राष्ट्रिय टोलीको कप्तानी गरेका योसिदाले टोलीलाई रुस विश्वकपमा छनोट गराउन पनि महत्वपूर्ण योगदान पुर्‍याएका थिए । इङ्लिस क्लब साउथह्याम्पटनबाट व्यावसायिक फुटबल खेलिरहेका योसिदाको क्लब फुटबलमा पनि उत्कृष्ट प्रदर्शन गर्दैै आएका छन् । विशेषगरी जापानले रुस विश्वकपमा रक्षात्मक रणनीति तय गरिरहेको अवस्थामा टोलीलाई पराजयबाट जोगाउन र जिततर्फ अग्रसर गराउन उनकै भूमिका मुख्य र निर्णायक हुने पक्का छ ।

सन् २००८ देखि जापानको यू-२३ टोलीबाट खेल्दै आएका उनी सन् २०१० देखि सिनियर राष्ट्रिय टोलीको मुख्य खेलाडी हुन् । उनले जापानका लागि खेलेका ८३ खेलमा १० गोलसमेत गरिसकेका छन् । जस्तोसुकै चतुर स्ट्राइकरलाई रोक्ने क्षमता भएका यासिदालाई छल्न बेल्जियमलाई कठिन हुनेछ अनुमान गर्न सकिन्छ ।

हिर्भिङ लोजानो (मेक्सिको)

विश्वकपको सर्वाधिक सफल टोली ब्राजिलबिरुद्ध नकआउट चरणमा खेल्दा मेक्सिकोका मुख्य हतियार हुन्, हिर्भिङ लोजानो । पहिलो पटक विश्वकप फुटबलको अनुभव बटुलिरहेका लोजानोले समूहगत चरणको पहिलो खेलमै साबिक विजेता जर्मनीविरुद्ध निर्णायक गोल गर्दै आफूलाई स्थापित गरेका छन् । विङ्गरको भूमिकामा टोलीमा रहेका लोजानो बल पाउना साथ पोस्ट्मा लैजान र गोल गर्न माहिर छन् ।

विपक्षीलाई छलाउन, बल खोस्न र छोटो पास खेल्न पनि उनी खप्पिस छन् । आवश्यक पर्दा अरूलाई पास दिन कन्जुस्याइँ नगर्ने लोजानो निकै मेहनती स्वभावका खेलाडी हुन् । मैदानमा उनी शतप्रतिशत डटेर खेल्छन् । लङ सट र फ्रिकिक हान्न पनि पनि लोजानो टोलीको रोजाइमा पर्छन् । ब्राजिलको बलियो रक्षापंक्तिलाई टक्कर दिँदै टोलीलाई अघिल्लो चरणमा पुर्‍याउन लोजानोको मुख्य भूमिका रहनेछ ।

पहिलो खेलमै जर्मनीविरुद्घ गोल गरेपछि एकाएक चर्चामा आएका लोजानो अहिले घरेलु क्लब पीएसभीबाट व्यावसायिक फुटबल खेल्छन् । मेक्सिकोकै पाच्युका फुटबल एकेडेमीबाट फुटबल कला सिकेका लोजानोले सन् २०१४ देखि सन् २०१७ सम्म पाच्युकाबाटै खेले । सन् २०१५ मा मेक्सिकोको यू-२० युवा टोलीमा डेब्यु गरेका लोजानो सन् २०१६ देनि भने सिनियर राष्ट्रिय टोलीमा छन् ।

यू-२० र यू-२२ स्तरका प्रतियोगिताको अनुभव सँगाल्दै ओलम्पिकमा समेत टोलीका लागि नियमित गोल गरेका लोजानोलाई डीबक्स नजिक रोक्न जस्तोसुकै बलियो रक्षकलाई पनि हम्मेहम्मे पर्छ । सन् २०१६ मा सिनियर टोलीमा डेब्यु गरेमा लोजानोले राष्ट्रिय टोलीका लागि खेलेका ३१ खेलमा आठ गोल गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.